साफ यू–१७ च्याम्पियनसिप आजदेखि

इरानी राष्ट्रपतीय निर्वाचनमा पेजेस्कियानलाई ४२.४ र जलिलीलाई ३८.६ प्रतिशत मत प्राप्त

तेहरान । इरानमा सम्पन्न पहिलो चरणको राष्ट्रपतीय चुनावमा एक मात्र सुधारवादी उम्मेदवार मसूद पेजेस्कियानले कट्टरपन्थी सइद जलिलीको भन्दा करिब चार प्रतिशत बढी ल्याउन सफल हुनुभएको छ ।

 पहिलो चरणको निर्वाचन यही जुन २८ गते सम्पन्न भएको थियो ।

निर्वाचन अधिकारीका अनुसार पेजेस्कियानले ४२.४ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने पूर्व आणविक वार्ताकार जलिलीले ३८.६ प्रतिशत मत प्राप्त गर्नुभएको छ । यो राष्ट्रपतिको निर्काचनका लागि चाहिने आवश्यक बहुमतभन्दा कम हो ।  

त्यसैगरी, सभामुखबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिनुभएका मोहम्मद बघेर गालिबाफले १३.८ प्रतिशत मत प्राप्त गर्नुभएको छ भने अर्का उम्मेदवार मुस्तफा पौरमोहम्मदीले एक प्रतिशतभन्दा कम मत प्राप्त गर्नुभएको छ । 

इरानी संविधान अनुसार राष्ट्रपतिका लागि कुनै पनि उम्मेदवारले बहुमत (५० प्रतिशत वा योभन्दा बढी) मत प्राप्त नगरेपछि दोस्रो चरणको निर्वाचनहुने भएको छ ।

शनिबार पहिलो चरणको निर्वाचन परिणाम घोषणा गर्दै निर्वाचन आयोगका प्रवक्ता मोहसेन इस्लामीले भन्नुभयो, “पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले पूर्ण बहुमत प्राप्त गर्न नगरेको र दोस्रो चरणको निर्वाचनपूर्व निर्धारित कार्यक्रम अनुसार जुलाई ५ मा हुनेछ ।” 

चुनावपछिको आफ्नो पहिलो टिप्पणीमा पेजेस्कियानले आफ्ना समर्थकलाई धन्यवाद दिँदै आगामी शुक्रबार फेरि मतदान गरी देशलाई गरिबी, झूट, भेदभाव र अन्यायबाट बचाउन आग्रह गर्नुभएको छ । 

सुधारवादी समूह निकट मानिने पत्रिका इटेमादको वेबसाइटमा प्रशारित एक भिडियोमा उहाँले भन्नुभयो, “तपाईंको उपस्थितिले मनोवृत्ति, व्यवहार, वार्तालाप र स्रोतहरूको वितरण र बाँडफाँडमा परिवर्तनको लागि नयाँ आवाजको आधार बन्नेछ भन्ने मलाई पूर्ण आशा छ ।”

इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले शुक्रबार हुने मतदानमा उच्च सहभागिताका लागि आह्वान गर्नुभएको छ ।

निर्बाचनमा छ करोड १० लाख मतदातामध्ये ४० प्रतिशतभन्दा केही बढीले मात्र भाग लिएका थिए । इस्लामिक गणतन्त्र इरानका लागि यो इतिहासमा नै सबैभन्दा कम मतदान प्रतिशत थियो । मतदानमा १० लाखभन्दा बढी मत बदर भएका छन् ।

यो निर्वाचन सन् २०२५ मा हुने तय भएको थियो तर गत महिना हेलिकप्टर दुर्घटनामा राष्ट्रपति इब्राहिम राइसीको निधन भएपछि यो निर्वाचन अघि सारिएको थियो । 
 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ३ : २५ बजे