सुनको मूल्यमा नयाँ कीर्तिमान

जेठ मसान्तसम्म २० अर्बको धान–चामल आयात 

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार चालु वर्षको जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० किलो धान आयात भएको छ । यसका लागि ११ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको छ । यही अवधिमा ८ करोड २७ लाख ६९ हजार ८९ किलो चामल आयातमा ८ अर्ब ६९ करोड रुपैयाँ बाहिरिएको छ । मन्त्रालयका अनुसार ८८ करोड ६५ लाख २१ हजार रुपैयाँबराबरको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको छ । यी सबै गरी २० अर्ब भन्दा बढी हुन आउँछ ।  

नेपाललाई कृषि प्रधान देश भने पनि मुख्य उत्पादनको रूपमा रहेको धान चामलमा मात्रै ११ महिनामा २० अर्ब रुपैयाँ बाहिरिनुले खाद्यान्नमा परनिर्भरता बढ्दो क्रममा रहेको देखाएको छ । आगामी वर्ष पनि धान चामल आयात अझ बढ्ने देखिएको छ । कृषि विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षमा धान रोपाइँ हुने जग्गाको क्षेत्रफल ४० हजार हेक्टरले घट्ने भएको छ । विभागका महानिर्देशक नरहरि घिमिरेले विभिन्न कारणले धान खेती हुने जग्गाको क्षेत्रफल घटेको जानकारी दिएका छन् । पछिल्लो समय जग्गा खण्डीकरण तीव्र गतिमा हुनु, खेतीयोग्य जमिनमा पूर्वाधार निर्माण हुनु जस्ता कारणले धान रोपाइँ हुने क्षेत्रफल घट्ने भएको हो । धान रोपाइँ कम हुनुमा सिँचाइ सुविधा नहुनु  प्रमुख कारणको रुपमा रहेको छ । हालसम्म खेतीयोग्य कुल जमिनको ४७ प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको छ ।

सिँचाइ अभावमा अधिकांश पहाडी जिल्लामा धान रोपाइँका लागि किसानले आकाशे पानीको भर पर्नु पर्ने अवस्था छ । जलवायु परिवर्तनले समयमा मनसुन सक्रिय नभई पछि सर्न थालेको छ । यसले गर्दा रोपाइँ पनि ढिला सुरु हुन थालेको छ ।
अहिले राष्ट्रिय रुपमा धानको उत्पादकत्व प्रतिहेक्टर ३.८ टन छ । यसअनुसार यो वर्ष धान रोपाइँ ४० हजार हेक्टर क्षेत्रफलले घटेमा उत्पादन पनि एक लाख ५२ हजार टन घट्नेछ । विभागको तथ्यांकअनुसार असार १५ सम्ममा देशभर करिब १ लाख ४०  हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । यसमध्ये सबैभन्दा धेरै सुदूरपश्चिममा भएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा भएको छ । मधेश प्रदेशमा २.९ प्रतिशतमा मात्र रोपाइँ भएको छ । 

कर्णाली प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफलको २५ प्रतिशतमा रोपाइँ भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका सूचना अधिकारी बलराम रिजालका अनुसार कर्णाली प्रदेशमा यो वर्ष धान रोपाइँ हुने क्षेत्रफल घटेको छ । यसअघि ४५ हजार ३८७ हेक्टरमा रोपाइँ हुनेमा यो वर्ष ४१ हजार ९ सय ४ हेक्टरमा मात्र रोपाइँ हुने अनुमान छ । कर्णाली प्रदेशसँग तथ्यांक माग्दा रोपाइँ हुने क्षेत्रफल घटेर आएको हो । 

यसैगरी लुम्बिनी प्रदेशमा करिव १० प्रतिशत रोपाइँ सकिएको छ । गण्डकीमा ९ प्रतिशत रोपाइँ भएको छ । बागमतीमा करिब २० प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यही अवधिमा ५ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा १ लाख १३ हजार ५२३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुन्छ । यस्तै, कोशी प्रदेशमा ६ प्रतिशत रोपाइँ भएको छ । गत वर्षको यही अवधिमा ६.५ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर छ, जसमध्ये १५ हजार ३६० हेक्टरमा रोपाइँ भएको छ । 
 

प्रकाशित मिति : १६ असार २०८१, आइतबार  ११ : १० बजे