देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मार्क्सका सीमाबाट सुरू हुने मदन-विचार

छ वर्षअघि मार्क्सको दुई सयौं जन्म दिन पारेर उनको सोह्र फिट अग्लो पित्तलको सालिक उनकै जन्मस्थान जर्मनीको ट्रिएर सहरमा स्थापित गर्दा संयोगले म त्यहाँ पुगेको थिएँ । धेरैले भन्ने जस्तो त्यो सहरको नाम ‘ट्रिर’ नभएर ‘ट्रिएर’ नै हो ।  निजी भ्रमणमा रहनुको स्वातन्त्र्य उपभोग गर्दै केहि कार्यक्रममा सहभागी हुन पाउनुले नौलो अनुभव दिने नै भयो । यति भनिहालौं कि आजको जर्मन लोकतन्त्र मार्क्सवादी होइन, तर उसले मार्क्सको प्राज्ञिक विरासतलाई त्यसरी नै सम्मान गर्छ, जसरी त्यहाँका  जनसाधारणले मार्क्सलाई गर्छन् । स्क्याण्डेनिभिया र पश्चिमी युरोपमा मार्क्सको नाम लिएर छलफलमा सामेल हुँदा प्राज्ञिकहरू प्रतिरक्षात्मक हुनुपर्दैन । मार्क्समाथि हुने विमर्शमा सामेल हुन पनि मार्क्सवादी वा मार्क्सविरोधी भैरहनु पर्दैन । मार्क्सका सीमा बुझ्न, विश्व राजनीतिलाई हेर्ने उनको दृष्टिकोण पर्गेल्न तथा समाजको विकासक्रमलाई व्याख्या गर्ने उनका सैद्धान्तिक प्रस्थापनाका सफलता अनि विफलता केलाउन त्यसले बडो सहज परिवेश निर्माण गर्दछ । एक जिज्ञासुका रूपमा त्यसबेला जर्मनी र आसपासका केहि कार्यक्रममा सामेल हुन पाएपछि नेपालमा जननेता मदन भण्डारीले मार्क्सवादको समीचीन भाष्य सन् १९९० ताका नै किन खोज्नुभएछ भन्ने मेरो बुझाई धेरै फराकिलो बन्न पुग्यो । यस आलेखमा केहि गैरमार्क्सेली दार्शनिकका दृष्टिमा मार्क्सका विचार र तिनको कसीमा मदनका विचारको सान्दर्भिकता खोज्ने प्रयास हुनेछ ।   

कुनै पनि दार्शनिक आफ्नो समय र समाजको उत्पादन हुन्छ । मार्क्सको सम्पूर्ण जीवन उन्नाईसौं शताब्दीको युरोपेली समाज, त्यहिंको राजनीतिक अर्थशास्त्र र तीब्र औद्योगीकरणले परिवर्तन गरिरहेको उत्पादन सम्बन्धको अध्ययन गर्दै त्यसबेला देखिएका ठूला प्रश्नहरूको समाधान खोज्नमा वित्यो । एसिया, उत्तर अमेरिका, अफ्रिका र ल्याटिन अमेरिकी समाजमा उदाएका चिन्तन परम्परालाई हेर्ने फुर्सद र आवश्यकता मार्क्सलाई भएन ।  त्यसो नगर्नु मार्क्सको सीमा थियो, तर त्यसले मार्क्सको सार्वकालिक प्रभावलाई निस्तेज गरेन । यस प्रसंगमा ट्रिएरको टाउन हलभित्र करिब सात सय स्रोताबीच मार्क्स स्मारक कार्यक्रमलाई सम्बोधन गर्दै युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड-यंकरले सुनाएको मार्क्स-समीक्षा यहाँ उल्लेख गर्नु उपयुक्त हुन्छ- “आज मार्क्सलाई त्यस्ता विषयमा जिम्मेवार ठहर्याइएको छ, जसमा उनको कुनै भूमिका थिएन, जसको उनी कारक थिएनन् , किनभने उनले जे लेखेर छाडेका थिए, तिनको लगभग विपरीत अर्थ लाग्नेगरी पुनर्लेखन गरियो । ”​​​​​​​

मेरो डायरीमा यंकरका भनाई मैले जस्ताको त्यस्तै टिपोट गरेको थिएँ । गजबको संयोग के भने जननेता मदन भण्डारीले जनताको बहुदलीय जनवाद प्रस्ताव गर्दा मार्क्समाथि गर्नुभएको निर्मम समीक्षासँग यो भनाइ दुरुस्तै मेल खान्छ ।  

​​​​​​​मदनले करिब चालीस वर्षअघि नै निकालेको निष्कर्ष आजको युरोपेली राजनीति र प्राज्ञिकहरुको चासोमा रहेको पनि यसले देखाउँछ । नेपाली भाषाको सीमा, अनि अंग्रेजीमा मदनबारे गहकिला ग्रन्थको अभावका कारण उनीहरुले मदनलाई अझै राम्ररी पढ्न पाएका छैनन् । तापनि मार्क्सका सन्दर्भमा मदनको विचारसँग आजका धेरै युरोपेली विचारकहरूको निकटता देखिनुको संयोगले मदनको चिन्तनप्रवाहमा समयलाई मापन गर्ने दूरदृष्टि उपस्थित भएको रूपमा मैले त्यसबेला लिएँ ।

​​​​​​​मार्क्समा मेरो थोरबहुत चासो देखेर जर्मनीको लाइप्चिस विश्वविद्यालयमा राजनीतिक अर्थशास्त्र पढ्दै गरेको मेरो साथी एड्रियन (जोसँग मैले उतिबेला ट्रिएर र पेरिस यात्रा गरें)ले एक महिनापछि यंकरको माथि उल्लिखित मार्क्स-दृष्टिलाई आलोचना गर्दै स्विडेनका पूर्व प्रधानमन्त्री कार्ल बिल्टद्वारा लेखिएको लामो लेख पठायो, जसमा मार्क्स र मार्क्सवादको विरोध गरिएको छ, अनि मार्क्सप्रति नरम दृष्टि राखेकोमा युरोपेली आयोगका अध्यक्षलाई पनि आलोचित गरिएको छ । 

शायद अलिक अघिको युरोपेली प्राज्ञिक सौन्दर्य यहि होला कि आफ्ना दृष्टिकोणप्रति जिम्मेवार रहँदै हरेक व्यक्तिले आफ्नो पक्ष राख्न सक्छ । त्यसवापत उसले बहिष्कृत हुनुपर्दैन, सजायको भागिदार हुनुपर्दैन, राजनीतिक पराया बन्नुपर्दैन । छ बर्षअघिको तुलनामा आजको युरोप धेरै दक्षिणपन्थी भएको छ । यसैबीच यंकरले युरोपली आयोगको अध्यक्षबाट स्वाभाविक निवृत्ति पाएको पनि केहि वर्ष वितिसकेको छ । उदार युरोपमा संकीर्ण राष्ट्रवाद क्रमशः विस्तारित हुँदै गइइरहेको छ । यसै महिना सम्पन्न युरोपेली संसदको  निर्वाचनले आज युरोपेली मध्यपन्थ पराजित हुने त्रासदीको संघारमा पुगेको प्रतीत भएको छ । दोस्रो विश्वयुद्धपछि बलियो गरी उभिएको मध्यपन्थले नै युरोपको उदारवादी चरित्र जोगाएको हो ।  दक्षिणपन्थ हावी हुँदा युरोपले मार्क्स मात्र होइन, अन्य प्रभावशाली दार्शनिकका विचारमाथि हुने विमर्शलाई साँघुरो बनाउने छ र तिनका आलोकमा एसियाली वा वैश्विक दक्षिण (ग्लोबल साउथ) मा यदाकदा उदय हुने मदन भण्डारी वा राममनोहर लोहिया वा आचार्य शंकर वा नागार्जुन जस्ता नयाँ पुराना चिन्तकहरूका विचारको प्रखरता सम्पुष्टि गर्न आधार बनाइने मानक समेत कमजोर हुन पुग्ने खतरा छँदैछ । 

यंकर र युरोपको राजनीतिलाई यहिं छाडौं । मार्क्समाथि जननेता मदन भण्डारीले गर्नुभएको समीक्षा कति अद्यावधिक छ भन्ने खोज्दै जाँदा थप दुई आधुनिक दार्शनिकको नाम लिनुपर्छ ।  तीमध्येका एकजना अस्ट्रियाली-बेलायती विद्वान कार्ल पोपरलाई मार्क्सको सबैभन्दा कटु आलोचकमध्ये एक मान्न सकिन्छ । पोपरको दृष्टिमा आनुभाविक सामाजिक सिद्धान्तहरूको व्यावहारिक पुनर्पुष्टि हुन वा गर्न सकिंदैन, किनभने समाजशास्त्रीय सिद्धान्तहरू जीव विज्ञान, रसायनशास्त्र वा भौतिकशास्त्र जस्तो कुनै प्रयोगशालामा परीक्षण हुँदैनन् । सामाजिक सिद्धान्तको जन्म हरेक समाजको विशिष्ट परिवेशमा हुन पुग्दछ ।  हरेक समाजका त्यस्ता वैशिष्ट्य पृथक हुन्छन् । जसरी संसारका कुनै पनि मानिसको अनुहार हुबहु मिल्दैन, त्यसैगरी सामाजिक परिवेश पनि मिल्दैन । त्यसैले समाजशास्त्रीय चिन्तन वा सिद्धान्तलाई व्याख्या गर्दा समाजका ‘भेरिएबल’ हरू फरक हुने तथ्यलाई बिर्सनु हुँदैन । एउटा समाजको परिवेशबाट जन्मेको चिन्तनधारालाई अर्को परिवेशमा जस्ताको त्यस्तै लागू गर्न सकिंदैन । तसर्थ, कुनैपनि सिद्धान्तलाई त्यसका आधारभूत प्रस्थापनाको हदबाट माथि उठेर शुद्धतावादी दृष्टिले मात्र हेरियो भने जडसूत्रवाद बन्न पुग्छ । ठिक यही विन्दुमा जननेता मदन भण्डारीले नेपाली विशिष्टताको क्रान्ति वा परिवर्तनलाई जनताको बहुदलीय जनवाद मार्फत् समात्नु भएको देखिन्छ । चीनले चिनियाँ विशेषताको समाजवाद भन्नु, भारतको सत्तारूढ भारतीय जनता पार्टीले आन्तरिक विरोधका बावजूद भारतलाई हिन्दूबहुल सांस्कृतिक राष्ट्रका रूपमा चिनाउन खोज्नु, उत्तर युरोपका नर्वे, स्वीडेन, डेनमार्क आदि मुलुकले आफूलाई सामाजिक लोकतन्त्र (सोसल डेमोक्रेसी)का रूपमा परिभाषित गर्नुको अन्तर्य तत्तत् मुलुकका विशिष्टताको अभिव्यक्ति हो । मदन भण्डारीले व्याख्या गर्नुभएको नेपाली क्रान्तिको परिवेश हाम्रो आफ्नै विशिष्ट राजनीतिक धरातलमा बहुदलीय व्यवस्थाको स्थापना र मानवाधिकार बहालीका लागि तत्कालीन नेकपा मालेले गरेको अनवरत संघर्ष तथा बदलिँदो विश्व परिवेश समेतको समीचीन मूल्यांकनमा आधारित छ । भन्नुको अर्थ, नेपालमा यदि मार्क्सका विचारको कुनै मूल्य खोजिँदा लोकतन्त्र, विधिको शासन, मानव अधिकार तथा संवैधानिक प्रणालीको दायराबाहिर खोज्न सकिन्न । किनकि नेपालका मार्क्सवादीहरूले त्यसैको प्राप्तिका लागि आफूलाई संघर्षमा न्यौछावर गरे । यी मान्यतालाई अधिकतम जनताको हितसँग जोड्नु नै नेपालका वामपन्थीहरूको प्रमुख कार्यभारका रूपमा मदनले अर्थ्याउनुभएको छ ।  

मार्क्सका विचारलाई गहिरोसँग अध्ययन गरी तिनको सत्यासत्य खुट्याउने अर्का गैरमार्क्सेली दार्शनिकको नाम हो- इयान शपिरो । अमेरिकाको प्रसिद्ध येल विश्वविद्यालयमा राजनीति शास्त्रका प्राध्यापक समेत रहेका शपिरोको ‘मोरल फाउन्डेसन अफ पोलिटिक्स’ भन्ने पुस्तकमा मार्क्सका सार्वकालिक तथा कमजोर दुवै पक्षमाथि उद्भट विवेचना गरिएको छ ।  मार्क्सवादी नभएपनि मार्क्सबारे गरिएको सबैभन्दा यथार्थवादी समीक्षा शपिरोकै हो भन्ने मलाई लाग्छ । यद्यपि सबैलाई त्यस्तै लाग्नुपर्छ भन्ने छैन । उनै शपिरोको चारहप्ते कक्षालाई सन् २०२३ को नोभेम्बरमा भारतको प्रख्यात एलायन्स विश्वविद्यालयले दर्शनशास्त्र र लिबरल आर्टसको विद्यावारिधिमा अनिवार्य गरेको थियो । उक्त कक्षाहरूमा मैले शपिरोलाई नजिकबाट बुझ्ने मौका पाएँ । विश्वमा मार्क्सका दुई मुख्य योगदानको चर्चा गर्दा शपिरोको भनाई थियो- पहिलो, जुनसुकै सत्ताविरुद्ध जनतामा विद्रोहको चेतना भरिदिनु, जसले शक्तिको क्षणभंगुरताबारे हिमवत्खण्डका प्राचीन दर्शनको मान्यतासमेत पुनर्पुष्टि हुन्छ । दोस्रो, राजनीतिले अर्थव्यवस्थालाई जनताको हितमा परिवर्तन गर्न सकेन भने कुनै पनि राजनीति सफल हुँदैन भन्ने मान्यता स्थापित गर्नु, जसले उपरी संरचना र आधारबीचको अन्तरक्रियात्मक सम्बन्ध व्याख्या गर्दछ । 

जनताको बहुदलीय जनवादको विचारमा मदनले यी दुवै सत्यलाई धेरै अघि नै ग्रहण गर्नुभएको देखिन्छ भने मार्क्सको सीमालाई समेत परिभाषित गरिदिनुभएको छ । मार्क्सले आफ्नो भाष्यमा विश्वव्यापी बजारको चर्चा गरेको पाइन्छ । ‘ग्लोबलाइजेसन’को पूर्वानुमान मार्क्सलाई थियो तर मदनले ‘ग्लोबलाइजेसन’को प्रत्यक्ष अनुभव गर्दै नेपाल जस्ता मुलुकहरूमा त्यसको प्रभाव कसरी पर्न सक्छ भन्ने आँकलन गर्नुभयो । वास्तवमा यहाँनेर मदनले मार्क्सलाई एक कदम अगाडि बढेर व्याख्या गरिदिनुभएको छ । 

मार्क्सको विचारलाई लागू गर्न एकदलीय शासन व्यवस्थाको अवधारणा निर्माण गरी कम्युनिस्टहरूले गल्ती गरेको शपिरोको दावी मदनले सन् १९९० ताका नै खुट्याएर त्यसबाट अगाडि बढ्ने मार्ग पहिल्याउनु भएको छ । शपिरोको विचारमा पुँजीवादको चरम विकास भएका मुलुकबाट समाजवादी क्रान्ति सुरु हुने मार्क्सको प्रक्षेपण गलत निस्क्यो । श्रमको मूल्य सिद्धान्तमा प्रविधि र पुँजीका नयाँ आयाम थपिएपछि ‘कर्पोरेट’को अवधारणा मार्क्सले भनेको बाटोमा हिंड्ने अवस्था रहेन । प्राविधिक विश्वव्यापीकरणका कारणले आज काम गर्ने श्रमिकलाई आफू कुन उद्योगमा र कसका लागि काम गर्दैछु भन्ने जानकारी हुन छाडेको छ । वर्ग निर्माण र विभाजनका आधारभूत रेखाहरू पूरै बदलिएका मात्र छैनन्, क्रमश: अदृश्य समेत हुँदै गएका छन् । शपिरो कहाँसम्म भन्छन् भने समाजमा मानिसहरूसँग हुने पुँजी कम वा बेसी त भइरहला तर, मार्क्सले परिकल्पना गरेको अत्यधिक समनातायुक्त समाज पुँजीवाद भित्रैबाट विकास हुनसक्ने सम्भावना देखियो ।  वास्तवमा मार्क्सले पुँजीको चरम विकास भएपछि मात्रै समाजवादी क्रान्तिले सफलता पाउने तथ्यलाई बारम्बार उल्लेख गरेका छन् । 
शपिरो र उनीजस्ता धेरै विचारकलाई पढे-गुनेपछि प्रष्टसँग भन्न सकिन्छ- मार्क्सका सीमा र सम्भावनाका बीचबाट जनताको बहुदलीय जनवादसम्बन्धी अवधारणा निर्माण भएको हो ।  यसको गहिरो अध्ययन, व्याख्या र पुनर्व्याख्या गर्दै जाँदा हामीसँग वैचारिक मान्यताका नयाँ सूत्रहरु फेला पर्दै जानेछन् भन्ने मेरो विश्वास यस अवधिमा झनै बलियो भएको छ ।  हामीले नेपाली क्रान्तिको कार्यक्रमलाई लागू गर्न मार्क्स वा एंगेल्सका सूत्र होइन, जननेता मदन भण्डारीका विचारमा आफूलाई हिंडाउन सक्नुपर्दछ । मदनका वैचारिक सूत्रहरूको सान्दर्भिकता नेपालका लागि ठीक त्यहि विन्दुबाट शुरु हुन्छ, जहाँ मार्क्सेली चिन्तनका वाक्यहरूमा पूर्णविराम लाग्छ । मार्क्सले कोरेको विचारका धर्साहरूको अन्तिम विन्दुबाट जबजका नयां धर्सा कोरिएका छन् । त्यसकारण जनताको बहुदलीय जनवाद मान्नेहरूले मदन र मनमोहनका तस्वीरलाई अंगालेर मार्क्स वा एंगेल्सका तस्वीरहरू क्रमशः विस्थापित गर्दै लैजानुपर्दछ । आजको विश्वमा मार्क्सको मूल्य हाम्रा लागि प्राज्ञिक ज्यादा हो भने त्यसैमा आधारित मदनको विचार समीचीन क्रान्तिचेतनाको नेपाली प्रवाह हो ।  

 

​​​​​​​​​​​​​​​​​​​​​

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  ४ : ०५ बजे