साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नौलो जनवादभन्दा पनि नौलो जनताको बहुदलीय जनवाद

(हुनान प्रान्तको माओको पुर्ख्यौली घर । माओ सोचमग्न अवस्थामा देखिन्छन् । घरै अगाडिको माछा पोखरीभन्दा केही पर उनलाई भेट्न आउनेहरूको ठुलो भीडलाई लालसेनाले रोकिराखेकोले म सरासर उनीसम्म पुग्न सकेको थिइनँ । भीडमा फरक नश्लको मानिस देखेर होला मलाई छोडिदिन उनले लालसेनालाई आदेश दिए । भेट्नासाथ मैले मुठ्ठी उठाएर लालसलाम गरेँ र गर्विलो हस्तमिलन पनि । ढिलो नगरी नेपालको बारेमा अन्तरवार्ता सुरु भयो ।)

प्रश्न : नेपालको कम्युनिष्ट आन्दोलनको विकासक्रसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

माओ : कमी कमजोरी त नभएका होइनन् तर असन्तुष्ट हुनुपर्ने कारण त खास छैन । म सम्झन्छु–नेपालमा कम्युनिष्ट पार्टी गठन हुँदा त्यसमा अक्टोबर क्रान्तिको प्रभाव बढी थियो । नेकपाको पहिलो घोषणा पत्रले सोभियत क्रान्तिको पक्षमा आफूलाई उभ्याउँदै बलियो कम्युनिष्ट पार्टीमार्फत जनताको (लोक) जनवादी राज्य सत्ता कायम गर्ने लक्ष राखेको थियो । म सम्झन्छु–केही समय पनि नबित्दै विभाजित भएको नेपालको कम्युनिष्ट पार्टीले मेरो नेतृत्वमा चीनमा भएको नौलो जनवादी क्रान्तिको प्रेरणाबाट सत्तरीको दशकमा फेरि बौरियो । मेरो फोटो अङ्कित राता किताब बोकेर नेपाली कम्युनिष्टहरुले देशभरि सङ्गठन निर्माण गर्न थाले । कसैले मेरो वा नौलो जनवादी क्रान्तिको आलोचना गर्‍यो भने ऊ दक्षिणपन्थी संशोधनवादी कहलिन्थ्यो । झापाली विद्रोही समूहले त कति समयसम्म मलाई अध्यक्ष माओ भनेर सम्बोधन गरिरह्यो । त्यो समूह नेकपा(माले) हुँदै नेकपा –एमाले)ले करिब दुई दशक पछि मलाई सही थान्कामा राख्यो । त्यसपछि एमालेजनहरु माओ, नौलो जनवादभन्दा बढी आफ्नो देश र क्रान्तिबारे बढी चिन्तन मनन गर्न थाले । कमरेड मदन भण्डारीले जनताको बहुदलीय जनवादी कार्यक्रम अगाडि सारेपछि यो कार्यक्रम नेपालमा निकै लोकप्रिय बन्यो । यो कार्यक्रम लोकप्रिय हुनुमा यसको सार र रूपको राम्रो संयोजन हुन सक्नु पनि प्रमुख कारण थियो । यो कार्यक्रमका नवीन विशेषता त थिए नै, यसको रूपको संयोजन पनि उत्कृष्ट थियो । “जनता” शब्दले वर्गीयता समेटेको थियो भने “बहुदलीय” शब्दले नेपाली समाजको बहुलवादी चरित्रलाई मात्र ईङ्गित गरेको थिएन, नेपाली कम्युनिष्टहरु एकदलीय तानाशाही तरिकाले शासन सत्ता सञ्चालन गर्ने छैनन् भन्ने इमानदार घोषणा थियो । “जनवाद” शब्दले समाजको समग्र लोकतान्त्रिकरणको मर्मलाई बोकेको प्रस्टै बुझ्न सकिन्छ । त्यसकारण यो नेपालको मात्र होइन, विश्व कम्युनिष्ट आन्दोलनमै नौलो अभ्यास थियो ।  नौलो जनवादभन्दा नौलो भएर जनताको बहुदलीय जनवाद अगाडि आयो ।

म सम्झन्छु–तेस्रो सहश्राब्दीको सुरु हुनै लाग्दा नेपाली कम्युनिष्ट आन्दोलनको अर्को धारले कमरेड प्रचण्डको नेतृत्वमा मार्क्सवाद–लेनिनवाद–माओवादलाई मार्गनिर्देशक सिद्धान्त बनाएर मेरो नेतृत्वमा चीनमा सञ्चालन भएझैँ दीर्घकालीन जनयुद्ध मार्फत सत्ता कब्जा गर्ने र नेपालमा नौलो जनवाद लागू गर्ने बाटो तय गर्‍यो । नेपालमा दश वर्षसम्म सञ्चालित सशस्त्र विद्रोहले नेपालको सामन्तवादको जरा हल्लायो, सन २००६ मा ऐतिहासिक जनआन्दोलनको सफलतामा यसको पनि प्रमुख भूमिका रह्यो । तर जब कम्युनिष्टहरुले सत्ता सञ्चालन गर्ने अवसर आयो, जबजकै विशेषताको अवलम्बन गर्नुपर्‍यो । सायद यही कारण हो, कुनै बेला सैद्धान्तिक रूपले विल्कुल भिन्न र कतिपय अवस्थामा शत्रुवत् सम्बन्धमा रहेका  एमाले र माओवादी पार्टीबीच एकता तत्कालीन अवस्थामा सम्भव भएको हो । तर दुर्भाग्यवश त्यो एकता टिकेन । कमरेडहरूको जुँगाको लडाइँ र पदाशक्ति यसको प्रमुख कारण थियो।

प्रश्न :कमरेड माओ, तपाईँले जनताको बहुदलीय जनवादलाई ‘नौलो जनवादभन्दा नौलो’ संज्ञा दिनुभयो,चिनिया पूँजीवादी –जनवादी (नयाँ जनवादी) क्रान्ति र नेपाली पूँजीवादी–जनवादी क्रान्तिबीच कुनै समानता देख्नुहुन्छ ?

माओ : (मुसुक्क हाँसेर) तपाईँले यो निकै महत्त्वपूर्ण प्रश्न गर्नुभयो । चिनिया क्रान्ति र नेपाली क्रान्ति विल्कुल भिन्न समय, विश्व परिवेशमा भएका क्रान्ति हुन् । सामन्तवादको उच्छेद गर्ने र जनताको सत्ता कायम गर्ने विषयमा केही समानता रहे पनि सत्ता प्राप्ति र सञ्चालन दुवैमा धेरै भिन्नता छन् । यसमा चिनिया समाज र नेपाली समाजमा रहेका सांस्कृतिक र चेतनाजन्य भिन्नतालाई नजरअन्दाज गर्न मिल्दैन । नेपालका प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी जनताबाट निर्वाचित भएर सत्तामा पुग्नु, सत्ता कब्जा गर्ने ध्येयका साथ जनयुद्ध सञ्चालन गर्ने कमरेड प्रचण्ड पनि संसदीय निर्वाचनबाट मात्र सत्तामा पुग्न सक्नु नेपाली कम्युनिष्ट आन्दोलनका अनुपम विशेषता हुन् । राजनीति, नेता र सत्ताबारे नेपाली जनताको र चिनिया जनताको बुझाई पनि आनका तान फरक छ । तपाईँले नेहरु लिखित इतिहास पढ्नु भएकै होला । चीनको बारे उनले गरेको टिप्पणी यहाँ स्मरणीय छ , उनी भन्थे–चीनमा धेरै शासकले ५०० वर्ष शासन गरेका थिए । वर्तमान कम्युनिष्ट सत्ता पनि चीनमा ५००  वर्ष टिक्न सक्छ । ( हाँसेर) तर नेपाली जनतालाई चाँडो चाँडो सत्ता वा सरकार फेर्ने बानी नै परिसक्यो । दुईतिहाई जनमत पाएको वि पी सरकार दुई वर्ष पनि टिकेन । पार्टी एकतापछिको शक्तिशाली के पी सरकार पनि भित्री र बाहिरी षडयन्त्रबाट अवधि नपुगी गिराइयो । चिनियाँ कम्युनिष्ट पार्टीमा पनि समस्या नभएका होइनन्, ग्याङ अफ फोर नजन्मेको होइन, लिन प्याओ प्रवृत्ति नदेखिएको होइन, तर आफ्नो स्वार्थको लागि पार्टी विभाजन गर्ने अवस्था यहाँ भएन। तर त्यहाँ तपाईंहरूकोमा छुद्र स्वार्थका लागि पार्टी फुटाउने चलन देख्दा मलाइ ताजुप लाग्छ।

प्रश्न : कमरेड तपाईँको विचारमा नेपालले समाजवादी राज्य व्यवस्थामा पुग्न अब के–के गर्नु पर्छ ?

माओ : समाजवादमा पुग्न प्रशस्त राष्ट्रिय उत्पादन र स्थिर सरकार चाहिएला, तपाईँहरूको देशमा विद्यमान गरिबी,बेरोजगारीको अन्त्य हुनुपर्ला, शक्तिशाली कम्युनिष्ट पार्टीको निर्माण हुनु पर्‍यो, एमालेले सुरु गरेका समाजवादी कार्यक्रमहरूले निरन्तरता पाउनु पर्‍यो, के नारा रे…अँ ‘समृद्ध नेपाल, सुखी नेपाली’ले सार्थकता पाउनु पर्‍यो,यही हो ।

प्रश्न :तपाईंले शक्तिशाली कम्युनिष्ट पार्टीको कुरा गर्नुभयो, एकता भएपछि त नेकपा(एमाले) शक्तिशाली नै छ नि !

माओ : कुरा त्यति सजिलो छैन । हो, एमाले निकै बलियो पार्टी छ तर आगामी निर्वाचनमा एमालेले एकल बहुमत नल्याई र कम्तीमा पाँच वर्ष शासन नगरी समाजवादको आधार तयार पार्न सकिँदैन। पार्टी बलियो बनाउन त वैचारिक र भावनात्मक एकताको जग मजबुत पारिनु पर्छ । विचारको मामिलामा अब नेतृत्वले विशेष ध्यान दिनु पर्छ । यो पक्षमा धेरै काम भएको म देख्दिनँ । कम्युनिष्ट पार्टीलाई सधैँ विचारको जगमा उभ्याउनु पर्छ, अन्यथा कुनै पनि बेला त्यो दुर्घटनामा पर्छ भन्ने अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको इतिहासले हामीलाई सिकाएन र ?

​​​​​​​(माओ बोल्दै थिए । बाहिर कुकुर भुकेको आवाजले पटक्कै उनको आवाज सुनिएन । आफू बसेको काठको कुर्सी कसैले पछाडिबाट तानेजस्तो लाग्यो । म लडेँ । आखिर यो त सपना पो रहेछ । एैंठन भएर आफू सुतेको खाटबाट लडेछु म । उठेर पसिना पुछ्दै यताउति हेरेँ । मेरो स्टडी टेबलमा मदन भण्डारीको सङ्कलित रचना, प्रचण्ड लिखित एक्काईसौं शताब्दीको जनवाद, माओ लिखित नौलो जनवादबारे लगायतका किताब छरपस्ट थिए । र,टेबलमाथि माओको तस्बिर )

 

प्रकाशित मिति : १४ असार २०८१, शुक्रबार  २ : ३४ बजे