‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

भन्सार महसुल, आयकर, भ्याट र अन्तःशुल्क लक्ष्यभन्दा धेरै कम 

चालु बजेटले भन्सार विभागलाई भ्याट र अन्तःशुल्क सहित ६ खर्ब २७ अर्बको लक्ष्य दिएकोमा जेठसम्ममा ३ खर्ब ८४ अर्ब रुपैयाँ मात्र सङ्कलन भएको हो । यो लक्ष्यको ६१ प्रतिशत हो । यसले आगामी एक महिनामा वार्षिक लक्ष्य पूरा हुने सम्भावना देखिँदैन । 

​​​​​​​काठमाडौं । राजस्व सङ्कलनका मुख्य चार स्रोतमध्ये भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क र आयकर लक्ष्यभन्दा धेरै कम रहने देखिएको छ । 

चालु बजेटमा सरकारले भन्सार कार्यालयहरूलाई ३ खर्ब ७४ अर्ब रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य दिएको थियो । यो भन्सारले उठाउने भ्याट र अन्तःशुल्क बाहेकको लक्ष्य हो । तर, जेठसम्म एक खर्ब ९३ अर्ब रुपैयाँ भन्सार महसुल सङ्कलन भएको छ । यो वार्षिक लक्ष्यको ६० प्रतिशत भन्दा कम हुन आउँछ । राजस्वका अन्य प्रमुख स्रोतहरू भ्याट, आयकर र अन्तःशुल्क पनि लक्ष्यको ६५ प्रतिशत भन्दा तल नै रहेका छन् । 

अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार राजस्वका ठुला चार स्रोतमध्ये भन्सार महसुल करिब ६–७ प्रतिशतले कम उठेको छ । चालु आवमा सरकारले १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । जेठ मसान्तसम्म ९ खर्ब १९ अर्ब रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ । यो लक्ष्यको ६४.६२ प्रतिशत हुन आउँछ । 

जेठसम्ममा भ्याट लक्ष्यको ६४.७६ प्रतिशत सङ्कलन भएको छ । चालु आवको बजेटमा भ्याट सङ्कलनको लक्ष्य ४ खर्ब २५ अर्ब रुपैयाँ राखेको छ । यसमध्ये जेठ मसान्तसम्ममा २ खर्ब ७५ अर्ब रुपैयाँ मात्रै सङ्कलन भएको हो । जेठसम्म अन्तःशुल्क पनि लक्ष्यको ६५.३९ प्रतिशत सङ्कलन भएको छ । बजेटले अन्तःशुल्कबाट २ खर्ब ७ अर्ब रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । जेठसम्ममा १ खर्ब ३५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । यसै गरी आयकरको लक्ष्य ३ खर्ब ६२ अर्ब रुपैयाँ राखिएकोमा जेठसम्ममा २ खर्ब ३३ अर्ब रुपैयाँ सङ्कलन भएको छ । यो लक्ष्यको ६४.३६ प्रतिशत हो । 

भन्सार विभागका प्रवक्ता पुण्यविक्रम खड्काले आयातमा कमी आएको कारण भन्सार महसुल घटेको बताएका छन् ।  गत वर्षको तुलनामा चालु वर्षको जेठसम्ममा आयात १.८४ प्रतिशतले घटेको छ । जसको कारण भन्सार महसुलमा पनि कमी आएको छ । चालु आवमा भन्सार महसुल बढी लाग्ने सामानको आयातमा पनि कमी आएको छ । 

सरकारले सबैभन्दा बढी महसुल सङ्कलन गर्ने इन्धनबाट प्रयोग हुने सवारीसाधनको आयातबाट लिने गरेको थियो । यो वर्ष विद्युतीय गाडी (ईभी) को आयात बढेपछि भन्सार महसुल कम उठेको हो । बजेटले विभागलाई भ्याट र अन्तःशुल्क सहितको ६ खर्ब २७ अर्बको लक्ष्य दिएको छ । जेठसम्ममा ३ खर्ब ८४ अर्ब रुपैयाँ मात्र सङ्कलन भएको हो । यो लक्ष्यको ६१ प्रतिशत हुन आउँछ । गत वर्षको तुलनामा भन्सार राजस्व असुली केही बढेपछि लक्ष्यभन्दा धेरै कम हो । आगामी एक महिनामा वार्षिक लक्ष्य पूरा हुने सम्भावना देखिँदैन । 

भन्सारमा सिधै उठाउने भ्याट र अन्तःशुल्क बाहेक भन्सार विभागले पैठारी, हरित कर, निकासी, पूर्वाधार कर, भन्सारको अन्य आय, कृषि सुधार शुल्क, सडक मर्मत तथा सुधार दस्तुर र सडक निर्माण सम्भार दस्तुर विभिन्न आठ वटा शीर्षकबाट कर सङ्कलन गर्ने गर्दछ । 

 

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ३ : ५२ बजे