साफ यू–१७ च्याम्पियनसिप आजदेखि

विकिलिक्सका असान्जले दोष स्वीकारेसँगै बने स्वतन्त्र, कानुनी लडाई समाप्त

विकिलिक्सका संस्थापक जुलियन असान्जले अमेरिकी न्याय विभागसँग सम्झौतामा अमेरिकी सैन्य गोप्य सूचनाहरू प्राप्त गरेको र प्रकाशित गरेको दोष स्वीकार गरेसँगै उनी स्वतन्त्र भएका छन् । यसका साथै उनी र अमेरिकी सरकारबिच चलिरहेको लामो कानुनी झमेला पनि निष्कर्षमा पुगेको छ ।

बुधवार बिहान असान्जले उत्तरी मारियाना टापुको राजधानी साइफनको सङ्घीय अदालतमा उपस्थित भएर यस कारबाहीमा भाग लिएका थिए । प्रशान्त महासागर बिच रहेको अमेरिकी भूभागमा सुनवाइ भएको थियो ।

सम्झौता अनुरूप असान्जलाई यस अपराधमा दोषी स्वीकार गर्न आवश्यक थियो । तर उनलाई कुनै पनि अमेरिकी जेल सजाय भने हुने थिएन। यसका साथै उनी सिधै आफ्नो जन्मभूमि अस्ट्रेलिया फर्किन पनि पाउँथे । न्यायाधीशले उनलाई पाँच वर्षको जेल सजाय सुनाए पनि बेलायतमा उनले जासुसी ऐन अभियोगको सुपुर्दगीको लडाइँमा जेल समय काटिसकेका हुनाले उनले अन्य समय जेलमा बस्नु नपरेको हो । यस अघि उनले लन्डन स्थित इक्वेटर दूतावासमा सात वर्षसम्म शरण लिएका थिए ।

अमेरिकी न्यायाधीश रामोना मंगोलानाले उनलाई स्वतन्त्र भएको घोषणा गर्दै सजाय तोकेपछि असान्जको मुहारमा हल्का मुस्कान देखिएको थियो ।

यस निष्कर्षले दुवै पक्षलाई सन्तुष्टि परेको देखिन्छ । अमेरिकी न्याय विभागले आफूले भने अनुरूप असान्जलाई दोषी ठहराउन सफल पनि भए। साथै असान्जले जेल पनि पर्याप्त समय बसिसकेका हुनाले यो अमेरिकाको लागि पनि सन्तुष्टिजनक निष्कर्ष हो।

सुनवाइपछि असान्जका एक वकिल जेनिफर रोबिनसनले पत्रकारहरूलाई भनिन् – “यो सुनवाइ एक खतरनाक उदाहरणको रूपमा रहेको छ जसले गर्दा पत्रकारहरूको लागि चिन्ताको विषय बनेको छ” ।

“जुलियन असान्जका लागि उनको परिवार, साथीहरू, समर्थकहरू र संसारभरिका स्वतन्त्रतामा विश्वास गर्ने सबैका लागि यो ठुलो राहतको विषय हो। अब उनी आफ्नो घर अस्ट्रेलिया फर्कन सक्छन् र आफ्नो परिवारसँग मिल्न पाउँछन्”- उनले भनिन्

असान्ज आफ्नो कानुनी सहायक टोलीहरूको सदस्यसहित बेलायतमा भएका अस्ट्रेलियाली शीर्ष कूटनीतिज्ञहरू सहित अन्य अस्ट्रेलिया अधिकारीहरूसँगै बेलायतबाट चार्टर प्लेनमामा उडान गरेर साइपनमा आई अदालत उपस्थित भएका थिए।

न्यायाधीशसँग ठट्टा गरेका असान्ज सुनवाइको क्रममा उत्साहित र आराम देखिन्थे। आफ्नो सम्झौता पत्रमा हस्ताक्षर गर्दै गर्दा उनले बेलायत र साइपन बिचको ९ घण्टाको यात्राको बारेमा पनि केही ठट्टा गरे। न्यायाधीशको सर्तहरूसँग सन्तुष्ट हुनुहुन्छ कि छैन भन्ने प्रश्नमा असान्जले जवाफ दिए – “यो नतिजामा निर्भर हुनसक्छ” । यसले अदालतमा केही हाँसो उठायो ।

सम्झौता सार्वजनिक भएसँगै असान्जले बेलायतको बेलमार्स जेलबाट निस्केर चार्टर प्लेन चढी अमेरिकी टापुमा भएको अदालतमा हाजिर हुन आइपुगेका थिए।

स्मरण रहोस् कि यो सम्झौता सोमबार सार्वजनिक गरिएको थियो।  यसअघि अधिकतम सुरक्षा कारागारको सानो कक्षामा असान्जले ५ वर्षभन्दा बढी समय बिताइसकेका छन् ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ५ : ०६ बजे