सुनको मूल्यमा नयाँ कीर्तिमान

नेकपा एसको अध्यक्षबाट खनाल ‘ब्याक’, अब नेपाल– भुसाल सिधा भिडन्त

काठमाडौं। नेकपा एसको महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दौडबाट सम्मानित नेता झलनाथ खनाल ब्याक भएपछि अर्का  प्रत्याशी  माधव नेपालको अनुहार चम्किएको छ।  नेपाललाई टक्कर दिने  अनुमान गरिएका  खनाल अध्यक्षको दौडबाट ब्याक भएपछि माधव नेपाल पक्ष ढुक्क भएको स्रोतले बतायो। यद्यपि खनाल र भुसालको गठबन्धन कमजोर नरहेको बताइएको छ। 

खनालले आफू ब्याक भएर महासचिव घनश्याम भुसाललाई अगाडि बढाउने निर्णय  गर्नुभएको छ।  यसअघि खनालले आफै पार्टी अध्यक्षको उम्मेदवार बन्ने सार्वजनिक दाबी गर्दै  आउनुभएको थियो ।  

बुधवार बिहानै आफूलाई अध्यक्षमा समर्थन गर्न भुसाल  खनाल निवास डल्लु पुग्नुभएको स्रोतले बतायो । भुसाललाई पार्टी अध्यक्ष बन्न साथ दिने खनालले सहमति जनाएपछि  भुसाल पनि मैदानमा नेपालसँग सिधै भीड्ने मनस्थिति बनाएर फर्किएको स्रोतले बतायो। ।

खनाल निवास डल्लुमा भएको छलफलमा मिलेर जाने सहमति भएको दाबी गरिएको छ । खनाल र भुसाल एक ठाउँमा आएमा अध्यक्ष नेपाललाई भुसालले अध्यक्षमा चुनौती दिन सक्ने बुझिएको छ । 

असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा १९ पदाधिकारीसहित १९९ सदस्यीय कार्यसमिति चयन हुँदै छ । विद्यमान कमिटीमा ३५० सदस्यीय कार्यसमिति रहेकामा आकार घटाउन लागिएको हो । करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ ।

महाधिवेशन आयोजक समितिका ४५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ । कुल एक हजार ८४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिने बताइएको छ ।

तत्कालीन नेकपा एमालेबाट विभाजित भएपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको भए पनि एमालेकै निरन्तरता भएको भन्दै दशौँ महाधिवेशन गर्न लागेको जनाएको छ । पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

सहमति अनुसार आगामी १६ असारदेखि काठमाडौँमा सुरु हुने दसौँ राष्ट्रिय महाधिवेशनमा भुसाल पार्टी अध्यक्षको उम्मेदवार हुनुहुने  छ  । ‘उहाँहरू दुवैले अध्यक्षको दाबी गरिरहँदा केही अप्ठ्यारो परिस्थिति बनेको थियो । अन्ततः झलनाथ खनालको उत्तराधिकारीका रूपमा घनश्याम भुसाल अगाडि बढ्ने सहमति भएको छ’, खनाल निकट स्रोतले भन्यो ।

प्रकाशित मिति : १२ असार २०८१, बुधबार  ४ : ३४ बजे