आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

देशैभर फैलियो मनसुन, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेकाले आज केही भू-भागमा वर्षाको सम्भावना छ ।

सोमबारदेखि मनसुन देशैभर फैलिएको छ । मनसुन देशभर फैलिए पनि तीन दिनपछि मात्र धेरै भू-भागमा राम्रोसँग वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

विभागका अनुसार यो वर्ष मनसुन देशभर फैलन १५ दिन लागेको छ । नेपालको पूर्वी भूभागदेखि सुदूरपश्चिमसम्म नै मनसुनी वायु फैलिएको छ । योसँगै नेपालमा अब पश्चिमी वायुको असर पनि हटेको छ । यद्यपि मनसुनी वर्षा गराउने जलवाष्प प्रणाली सक्रिय हुन अझै समय लाग्ने विभागले जनाएको छ ।

हाल बिहानैदेखि गण्डकी प्रदेशका केही स्थान, कोशी र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने विभागले जनाएको छ ।

मंगलबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रहने छ । बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमासमेत पानी पर्ने विभागले उल्लेख गरेको छ ।

राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले विभागले सर्तकता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ असार २०८१, मंगलबार  ७ : ३४ बजे