सुनको मूल्यमा नयाँ कीर्तिमान

राष्ट्रको मौलिक संस्कृति जोगाउन महासचिव पोखरेलको आग्रह

काभ्रेपलाञ्चोक।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको मौलिक संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । 

उहाँले पार्टीको काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औँ अभिवेशनबाट निर्वाचित पदाधिकारी एवं सदस्यको सपथग्रहण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै मौलिक संस्कति र त्यसको मूल्यमाथि भइरहेको निरन्तर विघटन र प्रहारलाई सम्पूर्ण राजनीति शक्ति एक हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

“कुनै पनि राष्ट्रको विकास, समृद्धि र सफलताको आधार आफ्नो मौलिक संस्कति हुने गर्दछ, त्यसैले राजनीतिक आन्दोलनले उक्त प्रहारबाट मौलिक संस्कृतिको रक्षा गर्नुपर्ने अपरिहार्य आवश्यकता भइसक्यो”, महासचिव पोखरेलले भन्नुभयो । उहाँले ठूला चुनौतीका रुपमा रहेका धार्मिक र जातीय अतिवाद तथा धर्मान्तरका नाममा नेपालको मौलिक संस्कृतिमाथिको प्रहारबाट रक्षा गर्नु राष्ट्रको सफलता हुने तर्क व्यक्त गर्नुभयो ।

नेता पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अर्को चुनौतीका रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक परिवर्तनमा योगदान पु¥याउने नागरिक र राज्यबीचको सम्बन्धलाई घनिष्ट बनाउने तथा चुनौतिको सामना गर्ने राजनीतिक आन्दोलनको कर्तव्य हो, यो कुरा बुझ्नुपर्दछ ।” 

राजनीतिक शक्तिले मात्रै राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्य गर्ने र राष्ट्रलाई विकास र समृद्धिको यात्रामा अघि बढाउनसक्ने उहाँले दोहो¥याउनुभयो । उहाँले एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्न पार्टीको ‘मिसन-८४’ सफल हुने दाबी गर्दै पार्टी सुदृढिकरणको अभियान नेताकार्यकर्ताबाटै सुरु गर्ने बताउनुभयो । 

एमालेका पोलिटब्यूरो सदस्यद्वय गोकुलप्रसाद बाँस्कोटा र कृष्ण राई, बाग्मती प्रदेश कमिटीका अध्यक्ष कैलास ढुङ्गेल, केन्द्रीय सदस्य रेशम लामालगायतले जिल्ला कमिटीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई शुभकामना व्यक्त गर्नुभएको थियो । 

गत जेठ ३० गते धुलिखेलमा सम्पन्न अधिवेशनमार्फत अध्यक्षमा राजन भुर्तेल, उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा निर्वाचित हुनुभएको थियो । यस्तै उपसचिवमा रत्नकुश रञ्जितकार र सूर्यमाया दनुवार निर्वाचित हुनुभएको थियो । भौगोलिक क्षेत्रबाट ८० सदस्य, समावेशीतर्फ १३ सदस्य र खुलातर्फ सात सदस्य गरी कूल एक सय पाँच निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १० असार २०८१, सोमबार  ११ : १३ बजे