हट्यो बैंक तथा वित्तीय संस्था सञ्चालनको कोटा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएको छ । दोस्रो लहरको कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेधाज्ञाको समयमा राष्ट्र बैंकले कोटा प्रणाली तोकेको थियो ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले मंगलबारदेखि उपत्यकामा जारी निषेधाज्ञामा केही खुकुलो बनाएसँगै बैंक तथा वित्तीय संस्थाको कोटा प्रणाली हटाईएको हो ।

राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्र्दै पुरानो व्यवस्थालाई फुकुवा बनाइएको जनाएको हो ।

यसअघि वैशाख १९ र जेठ १० गते जारी गरिएको निर्देशन खारेज भएको हो । यसअघि राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो । जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स  कम्पनीका ३ वटासम्म शाखा संचालन हुँदै आएको थियो ।

कोटा प्रणाली हटाउँदै न्यून कर्मचारी राख्दै न्यून शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिईएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित बैंकले सञ्चालन गर्ने शाखाको संख्या तय गर्न सक्नेछन ।

रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७८, सोमबार  ८ : ४४ बजे