नुहाउने क्रममा महाकाली नदीमा डुबेर एक बालिको मृत्यु, एक जना बेपत्ता

बैतडी । नुहाउने क्रममा महाकाली नदीमा डुबेर बैतडीकी एक बालिकाको ज्यान गएको छ भने एक जना बेपत्ता भएकी छन् । मृत्यु हुनेमा जिल्लाको शिवनाथ गाउँपालिका–१ स्वालाकी १५ वर्षीया रजनी चाँड रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

शिवनाथ गाउँपालिका–१ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेको केही बेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले उनको मृत अवस्थामा उद्धार गरेको थियो । रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपत्ता छिन् ।

बेपत्ता अस्मिताको खोजी भइरहेको छ । अस्मिताको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएको प्रवक्ता पाण्डेले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८१, शनिबार  ५ : २१ बजे