साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पूर्व-पश्चिम राजमार्ग निर्माणमा सँधै ढिलाइ : न छ निर्माण सामाग्री, न हटाइन्छ विद्युतका पोल 

सिराहा । “हामीले कामको गति तीव्र बनाएका छौँ, सकेसम्म छिटो कालोपत्रे गर्ने हाम्रो लक्ष्य हो । तर निर्माण साइट नै क्लियर छैन । निर्माण सामाग्री झिक्न मधेस प्रदेश सरकारको निकायले समयमा  सहयोग नै गरेन । हात बाँधेर बस्ने अवस्था पो आयो।”

यी भनाइ हुन कमला कञ्चनपुर सडक निर्माण आयोजना प्रमुख उज्ज्वल श्रेष्ठको । उनले भने यो सडक निर्माणका लागि जति गिटी चाहिने हो त्यसको एक चौथाइ पनि उपलब्ध छैन । लहानस्थित खुट्टी खोलाबाट गिट्टी झिक्न ठेकेदार चिनियाँ रेल्वे कम्पनीले मधेस प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयमा निवेदन हालेको थियो । अन्तिम एक महिना समय  बाँकी रहँदा जेठ लाग्ने बेलामा आइइइ पास गरिदियो । एक महिनामा मेटेरियल झिक्नै भ्याएन । असार लागेपछि खोला बन्द भइहाल्यो । मेटेरियल नभएपछि कसरी कालोपत्रे गर्ने ? आयोजना प्रमुख श्रेष्ठले भने । “पहिलेका त्रुटिहरू सच्याइएको छ । अहिले प्राविधिकहरू पनि जान्ने र अनुभवी आएका छन् । गुणस्तरयुक्त कार्य तीव्र गतिमा अघि बढाइएको छ । तर तगारोहरू पन्छाउन नसक्दा काममा ढिलाइ भइरहेको छ ।” श्रेष्ठले भने  । नेपाल विद्युत् प्राधिकरण मिर्चैया शाखालाई गत असोजमा र लहान शाखालाई पोहोर सालकै असारमा परियोजनाले रकम बुझायो । विद्युत्का संरचना पोलहरू ठाउँसारी गरी दिन पटक पटक आग्रह गरेको छ । तर लहान , धनगढी, गोलबजार , मिर्चैया कतै पनि साइट क्लियर भएको छैन । ठेकेदार कम्पनीले कसरी काम गर्ने ? दिक्दार भएर चिनियाँ पक्षले पोल भएको ठाउँमा पनि कालोपत्रे गरिदिएको छ । 

पूर्व पश्चिम राजमार्गको कमला कञ्चनपुर खण्ड चार लेन बनाउने ठेक्का पाएको चिनियाँ रेल्वे कम्पनीले द्रुत गतिमा काम सम्पन्न गर्न चाहे पनि विघ्न बाधाहरू नहटाएका कारण काममा  ढिलाई भइरहेको जनाएको छ । विद्युत्का संरचनाहरू निर्माण स्थलमा छन् । कालोपत्रे हुने स्थान र अन्डरपास बनाउने स्थानहरूमा विद्युत्का पोल र ट्रान्सफर्मरहरू छन् । विद्युत् प्राधिकरणले समयमा संरचनाहरू नहटाई दिँदा राष्ट्रिय गौरवको यो परियोजनामा धेरै ढिलाइ भएको छ । पटक पटक ताकेता गर्दा पनि विद्युत्का संरचना हटाएर साइट क्लियर नगरेकाले चिनियाँ कम्पनीले निर्माण साइट जस्तो छ त्यस्तै अवस्थामा कालोपत्रे गर्न थालेको छ । जसको कारण बीच राजमार्गमा विद्युत्का पोलहरू ठिङ्ग उभिएको देखिन्छ । फराकिलो राजमार्ग देखेर तीव्र गतिमा हुइँकिने सवारी साधनहरू दुर्घटनामा पर्ने अवस्था सिर्जना भएको छ । 

त्यसैगरी कालोपत्रे गर्ने गिट्टी पर्याप्त मात्रामा स्टक गर्न नपाएपछि चिनियाँ कम्पनी बिलखबन्दमा परेको छ । कम्पनीले ६० हजार घनमिटर मेटेरियल चाहिनेमा मुस्किलले ११ हजार घन मिटर मेटेरियल स्टक गर्न पाएको जनाएको छ । यो आयोजनामा अहिलेसम्म ५१.६ प्रतिशत भौतिक प्रगति भएको छ । ४ लेनमा  एकापट्टि २१ किलोमिटर र अर्कोपट्टि १४ किलोमिटर कालोपत्रे भइसकेको छ । ठेकेदार पक्षले धूलो उड्ने समस्या न्यून गर्न दुई पट्टी गरेर कालोपत्रे कनेक्ट गर्ने र कमसेकम दायाँ बायाँ गरेर  गाडी कालोपत्रेबाट गुड्ने अवस्थामा पु¥याउने कोसिस गरेको छ । तर मेटेरियल अभाव र विद्युतीय संरचना नहटाएकोले ठेकेदार पक्षको रफ्तारमा तगारो बनेको छ । आउँदो दसैँसम्ममा कालोपत्रे पूरा गर्ने लक्ष्य लिएको चिनियाँ कम्पनी मेटेरियलको अभावमा हात बाँधेर बस्नु पर्ने अवस्था छ । लहान क्षेत्रमा साइट क्लियर नहुँदा काम रोकिएको छ । 

चिनियाँ रेल्वे कम्पनीले सकेसम्म छिटो निर्माण कार्य सिद्ध्याउने गरी कामको रफ्तार बढाए पनि मेटेरियल नहुँदा र विद्युतीय संरचनाहरू हटाएर साइट खाली नगरी दिँदा निर्माण कार्य सुस्त भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दा यो राजमार्गको निर्माण कार्य ०८२ असारसम्ममा पूरा गर्ने बताएका थिए । तर यही गतिमा काम हुने हो भने यो राजमार्ग बन्न अझै वर्षौँ लाग्ने देखिन्छ । 

यस सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण मिर्चैयाका शाखाका प्रमुख मनोज कुमार शर्मासँग प्रतिक्रिया माग्दा उनले भने –‘हामीले पटक पटक पोल सार्ने जमर्को गरेका छौँ । तर स्थानीय बासिन्दाले अनेक बखेडा झिकेर पोल सार्न दिँदैनन् । हिजो गोलबजारमा बीच राजमार्गमा भएको पोल सार्न गएका थियौँ तर स्थानीयले हाम्रो खेतबाट ट्रान्सफर्मर हटाइ देऊ अनि मात्र सार्न दिन्छौँ भनेर अत्तो थापे । हामी फर्केर आयौँ ।’    

 

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार  ९ : २५ बजे