सुनको मूल्यमा नयाँ कीर्तिमान

आफ्नैको घेरावन्दीमा माधव नेपाल

काठमाडौँ। एमाले विभाजन गरेर नेकपा एस बनाउन मुख्या भूमिका निर्वाह गर्नुभएको अध्यक्ष माधव नेपालविरुद्ध सो पार्टीभित्रै मोर्चा वन्दी सुरु भएको छ। यो मोर्चावन्दीका  कारण कतै सो पार्टीको असार १६ देखि सुरु हुने महाधिवेशन नै स्थगित हुने  पो हो कि भन्नेमा शङ्का उत्पन्न भएको स्रोतले बतायो । 

स्रोतका अनुसार  माधव नेपाल यो महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने प्रयासमा हुनुहुन्छ। तर उहाँलाई भने जति सहज  वातावरण बनेको छैन। हिजो आफू निकट रहेका नेताहरुले  समेत माधव नेपाललाई अध्यक्ष बन्न नदिन चलखेल गरेपछि उहाँ अध्यक्ष बन्ने बाटो खतरामा परेको छ। 

 माधव नेपाल बाहेक सो पार्टीमा सम्मानित नेता  झलनाथ  खनाल र महासचिव घनश्याम भुसालले समेत अध्यक्षमा दाबी गर्न थालेपछि नेपाल केही समयदेखि तनावमा रहनु भएको स्रोतले बतायो।  चुनावमा प्रतिस्पर्धा गर्नुपरे माधव नेपाल  पछि हट्ने एक नेताले बताए। ‘ उहाँ रिस्कमा कुनै पनि काम गर्नु हुन्न,  यस बेला चुनाव लड्नु भनेको ठुलो रिस्क मोल्नु हो, त्यसैले  त्यस्तो हुँदा चुनाव लड्नु हुन्न ’ एक नेताले बताए । 

 कुनै बेला माधव नेपालका अन्ततः निकट मानिएका  महासचिव  घनश्याम भुसालको हिमचिम केही समयदेखि  सम्मानित नेता झलनाथ खनालसँग बढेको छ। दुवै नेता मिलेर माधव नेपाललाई घेराबन्दीमा पार्ने प्रयास भएको एक नेताले बताए। झलनाथ खनालले घनश्याम भुसाललाई समर्थन गर्ने आसा पनि भुसाल पक्षले गरेको छ। 

 नेकपा एसमा भुसाललाई अध्यक्ष बनाए  उहाँले माओवादीसँग सोझै पार्टी मिसाउने  टिप्पणी चलेको छ। त्यसैले कार्यकर्ताको ठुलो समूह भुसाललाई अध्यक्ष बनाउनु हुन्न भन्दै लबिङमा लागेको स्रोतले बतायो। ‘ भुसाललाई पार्टीका अध्यक्ष बनाउनु भनेको माओवादीमा लगेर मिसाउनु हो,  त्यसैले यो पार्टीका सदस्यहरूको मनोभावना माओवादीमा  पार्टी मिसाउने पक्षमा होइन’ एक नेताले भने ।  

अनुसार भूगोलका सङ्घीय निर्वाचन क्षेत्र १ हजार १ सय ५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्र २३, प्रदेश सम्पर्क कमिटी क्षेत्र २२, भारत प्रबास क्षेत्र ८, अन्य प्रवास क्षेत्र १५, केन्द्रीय सल्लाहकार परिषद् ५, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च ५, विभिन्न महासङ्घहरू ८५, जनसङ्गठनहरू ५६, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र १३ मजदुर विशेष र आरक्षण २० प्रतिनिधिले महाधिवेशनमा सहभागी हुनेछन् । यसका लागि बुधवार केही  बाहेक सबै प्रतिनिधि छानिसकिएको सो पार्टीले जनाएको छ।  एक नेताका अनुसार माधव नेपाल पक्षका प्रतिनिधि धेरै छानिएका छन् । 

नेकपा एसको महाधिवेशनको मुखमा आएर एउटा गजबको आन्तरिक नारा सुरु भएको छ। नेकपा एस भनेका माधव नेपाल र माधव नेपाल भनेको नेकपा एस भनेर प्रचार गरिएको छ। खनाल र  भुसाल पक्षले भने यस्तो नारा लिएर  महाधिवेशन आफ्नो पक्षमा पार्न खोजेको माधव नेपाल पक्षको चाल भएको आरोप लगाएको छ। 

सचिवालयले पारित गरेको प्रतिनिधि आचारसंहितामा समूह बनाएर उम्मेदवार बन्न नपाइने प्रावधान राखिएको छ । ‘निर्वाचनका सन्दर्भमा कसैले पनि व्यक्तिगत आरोप प्रत्यारोप गर्न पाइने छैन,’ संहितामा उल्लेख छ, ‘पार्टी विधान बमोजिम अनुशासन उलङ्घन गरेको मानिने कार्य गर्न वा गराउन वा त्यस्तो कार्य गर्न उक्साउन पाइने छैन । महाधिवेशन प्रतिनिधि चयनका लागि समूह बनाएर निर्वाचन लड्न पाइने छैन ।’

प्रतिनिधि चयन निर्वाचनमा नेताहरूको नाम उल्लेख गरी प्रचारप्रसार गर्न नपाइने भएको छ । ‘पार्टीका नेताहरू तथा उम्मेदवारको नाम प्रयोग गरेर पक्ष वा विपक्षमा हुने गरी प्रचार–प्रसार गर्न वा गराउन वा अन्य कुनै पनि किसिमका गतिविधि गर्न पाइने छैन’ संहितामा भनिएको छ, ‘नेताहरूको नाम, तस्बिर अङ्कित ज्याकेट, टि–सर्ट, टोपी, गम्छा वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर, ट्याटु जस्ता साङ्केतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, प्रदर्शन गर्न वा गराउन पाइने छैन ।’

नेकपा एसले महाधिवेशन प्रतिनिधि चयनका लागि गुटगत भेला÷बैठक आयोजना गर्न, समूहमा म्यासेज पठाउन,पर्चा पम्पलेट उत्पादन तथा वितरण गर्न, सामाजिक सञ्जाल, टेलिभिजन, रेडियो वा एफएम रेडियो लगायत अन्य डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्न वा गराउन नपाइने संहितामा उल्लेख छ । तर हिजो आज राजधानीमा त्यस्ता भेला दर्जनौँ भएको भेटिएको छ। 

जाति, भाषा, धर्म, लिङ्ग, क्षेत्र आदिको आधारमा मतदातालाई प्रभावित गर्न नपाइने, महाधिवेशन प्रतिनिधि चयनका लागि पार्टी सदस्यहरूलाई प्रभावमा पार्न नगद, जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा गराए कारबाही हुने भन्दै निर्देशन गरेको छ । ‘आचारसंहिता उल्लङ्घन गरेको प्रमाणित भएमा निर्वाचित प्रतिनिधि खारेज हुनेछ’ अध्यक्ष नेपालले जारी गरेको निर्देशनमा उल्लेख छ ।

प्रकाशित मिति : ६ असार २०८१, बिहिबार  ५ : २५ बजे