तामाङको चूनौतीः अब गाँजा कसले फाँड्छ, तीनपाने रक्सी कसले पोख्छ?

 

काठमाडौ। एमाले   स्थायी समिति सदस्य शेरबहादुर तामाङ कानुन पढ्ने एमाले नेताका रूपमा चिनिनुहुन्छ। तर उहाँले नेपालमा दुई वटा चुनौतीपूर्ण अभियान चलाउनु भएको छ –गाँजा र कोदोको रक्सीको वैधानिकता। यिनै विषयमा रहेर चक्रपथले उहाँसँग गरेको गाँजा संवादको अंश:

प्रश्न:  गाँजा अभियान कहाँ थियो ?  अहिले कहाँ पुग्यो ? 

यो राष्ट्रिय अभियान थिएन , अन्तर्राष्ट्रिय अभियान थियो। संयुक्त राष्ट्रसङ्घले विश्व स्वास्थ्य सङ्गठनको सिफारिसमा यसलाई अनुसन्धान गरेर नै यो लागु औषधि होइन, औषधि गुण भएको वनस्पति हो भनेर एउटा रिपोट बनायो। यसलाई संयुक्त राष्ट्रसङ्घले छलफल गरेर भोटिङ गरेर लागु पदार्थ होइन भन्ने प्रस्ताव पारित गरेको हो। यसलाई हामीले नेपालमा पनि अभियान चलायौ। २०७६ साल फागुन १९ गते मैले यसलाई संसदमा गैर सरकारी विधेयकका रूपमा दर्ता गरेँ । त्यसपछि यसमा बहस भयो । र २०३३ सालमा यसलाई खेती गर्न, बोक्नु खानु दण्डनीय अपराध मानिएकोले त्यो तर्फ हेर्न आँटै नगरेका हुन् । यही अनुसार गाँजा देख्यो कि फाँडी दिन्थे । केही गरी खेती गरे जेल पर्ने अवस्था थियो । 

यस्तो अवस्थामा मैले यसलाई यो गलत होइन भनेर बहस चलाएँ । मेरो विषयलाई सरकारले ग्रहण गरेर यसको ब्यबसायिक खेती लगाउने विषयमा संसदमा छलफल भएको छ। यसरी यसले सकारात्मक दिशा लिँदै गएको छ। 

प्रश्न: त्यसो भए गाँजा लाउने मान्छेले अव डराउनु पर्दैन? 

किन डराउने? सरकारले यसको कानुन बनाउन ढिला गरेको मात्र हो।  सरकार आफू कानुन बनाउन ढिला गर्ने अनि कतै गाँजा खेती गरेको ठाउँमा गएर फाँड्न मिल्छ? को जाँदो रहेछ अव फाँड्न मैले सिधै चुनौती दिएको छु । कोही फाँड्न जाने पनि होइन, यसको खेती लगाएर कोही किसानले अनौपचारिक लाभ लिइरहेको भए पनि अब डराउनु पदैन। 

प्रश्न:त्यसो भए त खानेले पनि डराउनु पर्दैन नि ? 

 खानलाई त रोक्नुपर्छ । मैले यसको बिषया धेरै बहस गरेको छु । तर गाँजा खानका लागि नेपाली जनतालाई खुला गर्नुपर्छ भनेर कहिल्यै भनेको छैन। मैले दर्ता गरेको कानुनमा पनि त्यो छैन। तर मनोरञ्जनात्मक प्रयोगको लागि पर्यटनमा खोल्नु पर्छ भन्ने मान्यता राख्छु 

प्रश्न: त्यसो भए शिवरात्रिमा मस्तले गाँजा खान पाउने भए ? 

 मैले त्यसो भनेको होइन । तर प्रतिबन्ध हुँदा पनि शिव रात्रि र फागु पूर्णिमामा कसले रोकेको छ र । हाम्रो देशमा यी दुई दिन चाहिँ मान्छेहरूले खुल्लै गाँजा खान्छन् । 

प्रश्न: त्यसो भए त्यस्ता दिनमा चाहिँ प्रहरीले दुख नदेओस् भन्न खोज्नु भएको हो? 

दुख दिन त हाम्रा देशमा अनेक कानुन छन् । कसैलाई खल्तीमा हालेर पनि फसाएका छन् । 

प्रश्न: अब ढुक्क भएर  खेती गर्दा हुन्छ? 

यसलाई नसाको प्रयोजनका लागि खेती लगाउनु हुँदैन। तर अरु औद्योगिक प्रयोजनका लागि यसको खेती गर्नुपर्छ । किसानले खेती गरेको गाँजा नसा प्रयोगमा जाला भन्छ भने त्यो गलत कुरा हो । 

 

प्रश्न: के प्रयोजनका लागि खेती गरेको भनेर थाहा पाउने चाहिँ के होला ? 

यस्ता अरु पनि पदार्थ छन् । जस्तो रक्सीलाई फलानाका लागि भनेर उत्पादन भएको हुँदैन। रक्सीलाई अन्त शुल्क तिरेपछि जति सुकै बोतल पनि  पाइन्छ।  नेपालमा एउटा कानुन छ रक्सी खाएर गाडी चलाउन पाइँदैन । त्यति मात्र हो। 

प्रश्न: तपाइले त लोकल रक्सी पनि बेच्न पाउनु  पर्छ भन्नुभयो नि 

अरबौँ रुपैयाँको विदेशी रक्सी नेपालमा आउँछ ।  नेपालका घर घरमा सो केश देखि पाँचतारे होटेल सम्म खुल्ला बेच्न  राखिएको हुन्छ।  अनि हाम्रो कोदोको रक्सी चाहिँ घ्याम्पोबाटै निस्को  न निस्कौँ जस्तो डराउनु पर्ने अवस्था छ। देख्यो भने घोप्टाइदिई हाल्छ कि पोखी दिइहाल्छ कि भनेर हाम्रो कोदोको रक्सी चाहिँ दबेर बस्नु पर्ने ? मैले त्यसलाई पनि ब्राण्डिङ गरौँ, अन्तःशुल्क लगाऊँ, बोटलिङ गरौँ सरकारलाई कर आउँछ भनेको  हो । संसारमा रक्सी सबैले खाँदा रहेछन् । आज दुनियाँका रक्सी व्यापारको कर चाहिँ विश्वले एक हजार ७० बिलियन डलर  सङ्कलन गर्दो रहेछ ।  मैले त्यही  भएर भनेको हो हामी नेपालकै कोदो ब्रण्ड चलाओ, त्यसलाई ब्राण्डिङ गरौँ भनेको हो। 

प्रश्न:   यो अभियान चाहिँ अहिले कहाँ पुग्यो? 

सरकारले यसलाई नीति कार्यक्रममा लिएर आएको छ। बजेटमा पनि या कुरा आएको छ। नेपालमा विदेशी रक्सी बन्द गरौँ । अन्तर्राष्ट्रिय बजारमा कोदोको तीन पाने पठाउँदा के फरक पर्छ । 

प्रश्न: अब कोदोको रक्सीको जर्किन बोकेर हिँड्न डराउनु पर्दैन ? 

किन डराउने। कि त अरु रक्सी  प्रतिबन्ध लगाऊँ। भन्सार विन्दुबाट अरु कुनै रक्सी आउन नदिउँ। र नेपाल रक्सी फ्री देश घोषणा गरिदिऊँ। होइन भने विदेशी रक्सी सिसीमा सजिएर फुर्ती गर्ने अनि हाम्रो गाउँ घरमा दिदी बहिनीले गाउँ घरमा पर्ने कोदोको रक्सीसँग चाहिँ डराउनु पर्ने? 

तर नेपाली रक्सी पार्न  पाइयो भन्दैमा मिसावट गर्न पाइँदैन।  त्यसका लागि हाम्रो मर्चा प्रविधिबाट शुद्ध बनाउनु पर्छ । दूषित बनाएर के के मिसाएर बनायो भने त त्यो  कोदोको भए पनि अपराधै  हो। तर सरकारले यसका लागि कानुनी व्यवस्था गर्छु भनेर नीति र बजेटमा बोली सकेको छ। सरकारले आफू कानुनी व्यवस्था गर्न  ढिला गर्ने अनि कोदोको रक्सी पोख्न जान पाइन्छ? अब कोही पोख्न जान पाउँदैन। 

 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ४ : ११ बजे