‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

प्रत्यक्ष वैदेशिक लगानी ५ खर्ब पुग्यो ,जेठमा मात्रै ३ अर्ब स्वीकृत

काठमाडौं ।  नेपालमा सुरुवातदेखि हालसम्म कुल प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) करिब ५ खर्ब पुगेको छ । अहिलेसम्म ६ हजार २ सय १८ वटा विदेशी लगानी स्वीकृत भइसकेका छन् । स्वीकृत लगानीबाट ३ लाख २९ हजार  ६ सय ५५ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । 
उद्योग विभागका अनुसार जेठमा ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । यस वर्ष स्वीकृत भएको एफडीआईबाट २० हजार १ सय ४६ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । जेठमा भित्रिएको विदेशी लगानीबाट २ हजार ३ सय २३ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । जेठसम्म ३ सय ५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएका हुन् । जेठमा मात्र ५२ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ । ६ अर्ब रुपैयाँभन्दा कमको लगानीका लागि उद्योग विभागबाट स्वीकृति दिने कानुनी व्यवस्था छ । ६ अर्ब भन्दा धेरै लगानीमा सञ्चालन हुने परियोजनाका लागि भने लगानी बोर्डबाट स्वीकृति लिनुपर्ने प्रावधान छ । 
तथ्यांक अनुसार यस वर्ष कुल ३ सय ४१ वटा साना उद्योगमा एफडीआई आएको छ । मध्यमस्तरीय उद्योगमा १४ र ठूला उद्योगमा ४ वटामात्र प्रस्ताव स्वीकृत भएको छ । जेठमा ५१ वटा साना उद्योगमा विदेशी स्वीकृत भएको छ । एउटामात्र मझौला उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ । 
प्रत्यक्ष वैदेशिक लगानीको आकर्षण पर्यटनमा अधिक देखिन्छ । पर्यटनमा १७६ वटा प्रस्ताव स्वीकृत भएको छ । यो कुल प्रस्तावको ४९ प्रतिशत हो । सेवा क्षेत्रमा ११४ वटा प्रस्ताव स्वीकृत भएको छ । जुन कुल प्रस्तावको ३२ प्रतिशत हो । उत्पादनमा ४० वटा प्रस्ताव स्वीकृत भएका छन् । सूचना प्रविधिमा १०, कृषिमा ८, पूर्वाधारमा ७, खानीमा ३ र ऊर्जामा १ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ ।
चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म ४४ अर्ब ४० करोड रुपैयाँ एफडीआईको प्रतिवद्धता आएको छ । यो गत आव २०७९–८० को यसै अवधिको तुलनामा १० अर्बभन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको जेठसम्म ३४ अर्ब ५८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको थियो । 
यसैबीच सरकारले चालु आवबाटै एफडीआई भित्र्याउन सहजीकरण गर्ने उद्देश्यले अटोमेटिक रुट कार्यान्वयनमा ल्याएको थियो । यसका माध्यमबाट जेठसम्म ११ अर्ब ८१ करोड रुपैयाँ बराबर वैदेशिक लगानी भित्रिएको छ । 
 

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ९ : ५९ बजे