विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सहमतिपछि पेट्रोलियम पदार्थको ढुवानी सुरु

काठमाडौं । सात बुँदे माग राखेर हड्तालमा उत्रिएको नेपाल पेट्रोलियम ट्याकर चालक संघको माग सरकारले १५ दिनभित्र पूरा गर्ने प्रतिवद्धता जनाएको छ ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा संघ र सरकारबीच सहमती भएको हो । सोही क्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका (वाणिज्य तथा आपूर्ति) सचिव दिनेशकुमार घिमिरेले समस्याहलाई आपसी समझदारीमा समाधान गर्दै उपभोक्ताहरुको हितमा आपूर्ति प्रणालीलाई ठिक ठाँउमा राख्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो क्षेत्रमा जति पनि समस्या आएको छ त्यो समस्या समाधान गर्नको लागि हामी अगाडि बढौँ । मूल रुपमा उपभोक्ताहरुको हितमा आपूर्ति प्रणालीलाई ठिक ठाँउमा राख्नेगरी सहमति बनेको छ । समस्याहरुलाई आपसी समझदारीबाट टुङ्गाउँदै लैजाने कुरामा एकमत छौँ।’

यस्तै, नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाले पनि १५ दिनभित्र माग पूरा नभए देशभरबाट ट्याकंरमा इन्धन लोड बन्द गर्ने चेतावनी दिँदै त्यहाँसम्म जान नपरोस् भनेर नै सहमति गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो सम्पूर्ण मागहरु पूरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । त्यसका लागि नेपाल पेट्रोलियम ट्यांकर चालक संघलगायत सबैको तर्फबाट धन्यवाद दिन चाहन्छौँ । साथै हाम्रा माग १५ दिनभित्र पूरा होस् । हामी सडकमा आउन नपरोस् । यदी माग पूरा भएन भने देशभर इन्धन लोड बन्द गर्नेछौँ । त्यहाँसम्म जान नपरोस भन्ने इच्छा छ ।’

टयाकर चालक संघले सात बुँदे मागलगायत सम्बन्धित क्षेत्रमा देखा परेका समस्याहरुको समाधान गर्नेगरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था)का संयोजकत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि तथा चालक संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुनेगरी एक उपसमिति गठन गर्ने सहमति भएको छ ।

यस्तै, नेपाल आयल निगमले व्यवसायीहरुलाई दिँदै आए बमोजिमको पारिश्रमिक र सुविधा ट्यांकर चालक/सहचालक तथा यस क्षेत्रमा कार्यरत श्रमिकहरुलाई उपलब्ध गराउने व्यवसायीले प्रतिबद्धता व्यक्त गर्ने, आजैदेखि टयांकर चालक संघले आफ्नो सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु फिर्ता गरी उपभोक्ताको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको ढुवानी कार्य गर्ने र विद्यमान कानूनी व्यवस्थाहरुको पालना सम्बन्धमा नियमित रुपमा प्रभावकारी अनुगमन गर्ने सहमति पनि भएको छ ।

सहमतिमा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिका प्रसाद भट्ट र चालक संघका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गर्नुभएको छ ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका (वाणिज्य तथा आपूर्ति) सचिव एवं निगम सञ्चालक समिति, नेपाल आयल निगम लिमिटेडका अध्यक्ष दिनेशकुमार घिमिरे, निगमका नायव कार्यकारी निर्देशक (बजार व्यवस्था), ई. वीरेन्द्र गोईत, निगमका आपूर्ति तथा वितरण विभागका निर्देशक पूर्णप्रसाद रिजाल, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका वरिष्ठ उपाध्यक्ष नवराज घिमिरे, अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका अध्यक्ष चिजकुमार ढकाल र बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अच्युतबहादुर खड्काले हस्ताक्षर गर्नुभएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  ६ : ३९ बजे