१. पुराणको अर्थ आशय
पुरा को अर्थ अतीत र अनागत हो । अणको अर्थ भन्नु हो अर्थयुक्त पुराणको शाब्दिक अर्थ हो । समग्रमा पुराण भन्नाले पुरानो,प्राचीन,पूर्वकालसम्बन्धी घटना,वृत्तान्त,कहानी, उपाख्यान,पौराणिक इतिहास वा व्यासद्वारा लिखित १८ पुराण भन्ने हुन्छ । हिन्दीका शीर्षस्थ विद्वान् आचार्य बलदेव उपाध्यायले पुराण विमर्श नामक ग्रन्थमा यस सम्बन्धी समग्र नालिबेली उल्लेख गर्नु भएको छ । पुराणलाई व्यासपूर्व धारा र व्यासोत्तर धारा गरी दुई भागमा विभाजित गरिएको देखिन्छ ।
२. पुराण ज्ञानको भण्डार
पुराणहरू विद्या र ज्ञानको भण्डार हो । वायु पुराणमा अन्य द्वीपका साथ जम्बु द्वीपको विशेष वर्णन छ र यसमा खगोलको वर्णन,श्राद्ध र संगीतको विशद् वर्णन पनि गरिएको छ । यसमा पाशुपत योगको वर्णन पनि छ । नारद पुराणमा व्याकरण,निरूक्त,ज्योतिष,छन्द, आदि शास्त्रहरूको चर्चा गरिएको छ । अग्नि पुराणलाई भारतीय विद्याहरूको विश्वकोश भन्न सकिने मान्छन् । यसमा ज्योतिष शास्त्र,धर्म शास्त्र,ब्रत,राजनीति,आयुर्वेद,छन्द शास्त्रको निरूपण गरिएको छ ,अलङ्कार शास्त्रको विवेचन,योगशास्त्रको यम नियम आदि आठ अङ्गको वर्णन,वेदान्त सिद्धान्तको सार सङ्कलन,मन्दिर निर्माणको कला आदि विषय पुराणहरूमा उल्लेख गरिएको पाइन्छ । स्कन्द पुराणमा काशी महिमा,सत्यनारायण कथाको वर्णन छ । मत्स्य पुराणमाभृगु,अङ्गिरा,अत्रि,विश्वामित्र,कश्यप,वशिष्ठ,पराशर,अगस्त्य ऋषिहरूको वंश वर्णन तथा ,साम,दाम,दण्ड,भेद,राजधर्म,राजाले शत्रुसित लड्दा ध्यान दिनु पर्ने कुरा लगायतको वर्णन छ ।
ब्रम्हाण्ड पुराणमा विश्वको भूगोलको विस्तृत तथा रोचक वर्णन छ र ,सवै द्वीपहरूको वर्णन छ । यसमा ग्रह,नक्षत्र तथा युगहरूको विशेष विवरण दिइएको छ । यसरी हेर्दा समग्रतामा पुराण कतिपय ज्ञान,अध्ययन र खोजको विषय समेत रहेको बुझिन्छ ।
३. पुराण वाचन परम्परा
विद्वान् आचार्य बलदेव उपाध्यायका अनुसार पुराण शब्दको सर्वप्राचीन प्रयोग चाहिँ तत्कालीन अवस्थामा अनौपचारिक शिक्षा आर्जन गर्ने गराउने हो
राजदरवारमा उहिल्यैदेखि मूलतः राजा र भावी राजालाई विभिन्न विषयमा शिक्षित प्रशिक्षित गर्न नियमित रुपमा पुराण वाचन सुरूवात भएको देखिन्छ ।
परम्परागत पुराणमा सामन्तवाद र यसको सत्ता,शक्ति र नायकको सर्वोपरि हित लक्षित देखिन्छ । यसै अनुकूलका रुढीवादी,अन्धविश्वासी र भाग्यवादी सार र रूप समेत पुराणमा समायोजन गरेको देखिन्छ । राजा महाराजाले आफूलाई द्यौताको अवतार भन्नु, भनाउनु अनि राजाले मारेका सबै राक्षस भन्नु, यसैगरी उनले ल्याएका सबै जात थर र गोत्रका महिलालाई रानी बडामहारानी भन्नु् यसैका उदाहरण हुन् । अझ राजा, राजदरवार र तिनका नस,नाता,गोताका मानिस जनता भन्दा ठूला र माननीय मानिनु यसका नकारात्मक पक्ष हु्न् । अझ नारीलाई सबैभन्दा तल्लो दजाममा सामन्तवादले राखेको छ । सीमान्तीकृत आम जनसमुदायलाई चरम घुणा र अपहेलना जस्ता कुसंस्कृति पुराण वाचनका नाममा प्रवाह गरियो । यसै कारण पुराणका धेरै जसो जीवन उपयोग पक्षहरू ओझेल पारियो र सुमधूर गीत संगीत र चिप्ला तथा मीठा छली प्रवचनमार्फत् धर्म र पुराणका नाममा रुढीवादी र अन्धविश्वासी भावना आम जनताका बीच फैलाइयो र तिनको बौद्धिक तथा भावनात्मक चरम शोषण गरियो ।
पुराणहरूमा जीवनोपयोगी तथा समाजोपयोगी अनेक पक्षहरू छन् । शबरीले दिएको बयर श्री रामले खाएको पुराण प्रसंगले छुतअछुतजस्ता विभेद उहिल्यै नभएको स्पष्ट हुन्छ । त्यसैगरी दासी पुत्र विदुर जस्ता ज्ञानी त्यस बेला सम्माानित थिए भन्ने स्पष्ट देखाउँछ । यसले दासहरूको चरम विद्रोहलाई दवाउन स्वामी वर्ग र पछि सामन्त वर्गले धार्मिक पौराणिक तथा नैतिक ग्रन्थहरू मार्फत् संस्कृतिलाई कुरूप बनाएको स्पष्ट हुन्छ । विभाजन गर र राज गर भन्ने नीति अन्तर्गत समाजका सबै सम्मानित समुदयका बीच चरम विभाजन र विद्वेषको बिउ रोपियाृे र फैलाइएको जगजाहेर छ । त्यसैले पुराण,इतिहास तथा पौराणिक ऐतिहासिक ग्रन्थहरूमा सबै खालको विभेद,असमानता ,अन्धविश्वास तथा चरम भाग्यवाद जस्ता अत्यन्त कुरूप पक्षहरू रहेका छन् र तिनको चाहिँ बढी पुराण वाचनका क्रममा व्याख्यान गरिन्छ । यसरी पुराणका सबै सकारहरूलाई ओझेल पारियो अर्वाचीन पुराणमा पुराणहरुका सबै सकारहरु राम्ररी उजागर गरिन्छ ।
४.पुराणको विकल्प अर्वाचीन पुराण
अर्वाचीन पुराणमा भने १८ पुराणहरूमा निहित तमाम जीवन उपयोगी विविध विषय,विधा,विज्ञता,सन्दर्भ र सारहरूको उद्घाटन तथा व्याख्यान गरिन्छ भने तदनुसारका मण्डपको सजावट सहित मानवतावादी भजन,गान र ध्यानलाई प्राथमिकता दिइन्छ । भाग्यवादका ठीक विपरीत विद्या पौरूष नै फल्छ भाग्य फल्दैन धर्तीमा,भाग्यको भ्रममा पारी गर्न पाइन्न ‘शोषण’ भन्ने खालको व्याख्यान, भजन र कीर्तन अर्वाचीन पुराणमा गरिन्छ । अर्वाचीन पुराण कुनै धर्म विरोधी,धर्मप्रति अनास्था जगाउने पुराण होइन तर यो अन्धआस्था त हुँदै होइन । संविधान(२०७२) ले बहुधार्मिक देशमा स्वतन्त्र रूपमा आम जनतालाई आआफ्ना धर्म मान्ने स्वतन्त्रता दिएको छ तर धर्म,प्रथा,परम्परा,रीति संस्कार र संस्कृतिका नाममा हुने र गरिने सबै खालका विभेद,असमानता,अन्याय र शोषणको अन्त गर्ने किटानी व्यवस्था गरिएको छ । यस पुराणले मात्र संघीय लोकतान्त्रिक गणतान्त्रिक संस्कृतिको जग बसाउन सक्ने देखिन्छ । त्यसैले यस पुराणको सर्वोपरि महत्त्व रहेको छ ।
पुराणहरू काल्पनाको उपयोग गरिए ऐतिहासिक विषय,घटना,पात्र,प्रवृत्ति र प्रङ्गसित पुराण सम्बन्धित रहेको देखिन्छ । ऋग्वेदमा विद्वान्हरू,राजा मन्त्रीलाई समेत हलो, कोदालो,खेतीपाती वा श्रम गर्न निर्देश गरेको पाइन्छ ।
महाभारत आदि पर्वमा ऋषि धौम्यले आफ्ना शिष्यहरूलाई खेतमा पानी लगाउन पठाएको वर्णन छ । मातृ प्रधान समाजमा महिलाहरूले सबै खालका समानता पाएको देखिन्छ । त्यस बेला महिलाहरू शूरवीर,विदुषी तथा पराक्रमी थिए यस्ता कामहरूमा महिलाहरूलाई कुनै भेदभाव थिएन । रानी कैकयी स्वयं राजा रशरथ लडाइँ वा युद्धमा जाँदा सँगै गएको मात्र होइन हिलामा भासिएको युद्ध रथलाई उठाउन भरपूर सहयोग गरेको वर्णन छ ।
त्यसैले मातृप्रधान समाजमा महिलालाई जगत् माता, जनत् जननी र जगत् धातृ भनियो । त्यस बेला जहाँ नारीको पुजा हुन्छ ,त्यहाँ देवता पनि रमाउँछन् वा यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवता भनियो तर समय क्रममा नारीलाई होच्याउन थालियो । सामन्तवादले नारीलाई चरम उपेक्षा र भेदभाव ग¥यो ।
भाग्यवादका ठीक विपरीत विद्या पौरूष नै फल्छ भाग्य फल्दैन धर्तीमा,भाग्यको भ्रममा पारी गर्न पाइन्न शोषण.. भन्ने खालको व्याख्यान, भजन र कीर्तन अर्वाचीन पुराणमा गरिन्छ ।
अर्वाचीन पुराणमा वैदिक सनातन तथा मुन्धुमका आधारमा जीवन जगत्को उत्पत्ति उत्थान र विकास सम्बन्धी वस्तुपरक यथार्थ धारणाहरू पनि उपस्थापित गरिन्छ । अर्वाचीन पुराणमा समाजलाई सभ्य र भव्य बनाउने खालका सबै नीति,शिक्षा र दीक्षाको व्याख्यान गरिन्छ । जसरी परम्परागत पुराणहरुमा अन्धविश्वास र रुढीवाद पाइन्छ । त्यसैगरी भजन कीर्तनमा पनि अन्ध विश्वास तथा रुढीवाद घोलिन्छ । मनमोहक तरिकाले जनतालाई लट्ठ पारिन्छ । यसरी सिदासादा जनतालाई धर्म र पुराणका नाममा सामन्तवादले आफ्नो चरणको दास बनाएको छ र आफ्नो जनविराधी शोषण शासन दर्बिलो बनाएको हो ।
५.जनताको पुराण अर्वाचीन पुराण
जनता भन्नाले आम श्रमजीवी जनता हुन् । तिनै देशको उत्थान र समृद्धिका मूल आधार हुन् । यिनलाई कुनै पनि खाले अन्धविश्वास र रुढीवाद तथा कुरीतिबाट अलग गर्नु पर्छ । यसका लागि पुराणमा निहित सकारहरुको मात्र चर्चा परिचर्चा गर्नु पर्छ । यसरी जनताको चेताना बढाउनु पर्छ । आफ्नो मुक्तिका लागि उनीहरुलाई चेतनशील जागरुक र संगठित गरियो भने मात्र जनताका हितमा काम गर्नेृ पार्टी सरकार र सत्तालाई तिनले दृढ समर्थन गर्छन् र मात्र जनताको सरकार र सत्ता सबल तथा स्थायी हुन्छ । त्यसैले अर्वाचीन पुराण जनताको पुराण हो ।
यस पुराणमा जनतालाई इतिहासका निर्माता हुन्, भनिन्छ । भगवान् भरोसे कुराहरुलाई कलात्मक रुपमा निषेध गरिन्छ । ईश्वरले अन्धालाई आँखा दिन्छन् ,कोढीलाई काया दिन्छन्,बाँझी नारीलाई पुत्र दिन्छन् र नर्धनलाई धन दिन्छन् जस्ता अन्धविश्वासको पुराणकै आधारमा तर्क,तथ्य र वास्तविकताका आधारमा खण्डन गरिन्छ ।
भगवान्ले छैटीका दिन ललाटमा वा निधारमा जे लेखिदिन्छन्, त्यही कर्म मानिसले भोग्नु पर्छ भन्ने नानाथरि रुढीवादलाई पनि चित्तबुझ्दो रुपमा बखान गरिन्छ । अर्वाचीन पुराण कुनै धर्म विरोधी,धर्मप्रति अनास्था जगाउने पुराण होइन ।
यस पुराणमा धर्म महात्म्य राष्ट्र, राष्ट्रियता र देश प्रेम महिमा जस्ता विषय रहन्छन् । यसमा ऋगवेदको वयं राष्टे« जाग्रियाम पुरोहिताः जस्ता विषय उठाउँदै भगवान् रामचन्द्रले रावण बध पछि भनेको अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते, जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी जस्ता विषयका आधारमा यसको राष्ट्र महिमा गान गरिन्छ । यसै सित सम्बन्धित विषय देश प्रेम महात्म्यमा जल,जमिन,जङ्गल वा प्रकृति,तथा पर्यावरण, आदिको बखान गरिन्छ । एउटा मानिसलाई स्वस्थ्य हुन र रहन १५ केजी अक्सिजन चाहिन्छ । देशको वैभव, विभूति,सम्पदा र संस्कृति आदि विषयको चर्चा यस अध्ययमा गरिन्छ ।
तेस्रो अध्यायमा महिला महात्म्यको चर्चा गरिन्छ । यसमा मातृसत्तात्मक अवस्था देखि हालका दिन सम्ममा विभिन्न प्रकारले महिलालाई हेरिने दृष्टिकोणको चर्चा हुन्छ र महिला वा नारीको बहुआयामिक गुण,ज्ञान र गरिमाको चर्चा गरिन्छ ।
चौथो अध्यायमा श्रम महात्म्यको चर्चा गरिन्छ । यसमा भाग्यवाद र पुर्पुरोवादको खासै उल्लेख नगरी वेद ,पुराण र मनुस्मृतिहरूमा उल्लिखित श्रम मैत्रीको विशद् चर्चा गरिन्छ । प्राचीन धर्म ग्रन्थहरूमा यस सम्बन्धी महत्व र महिमाको व्यापक चार्चा गरिएको छ ।
पाँचौ अध्यायमा छुवाछुत जस्ता विभेदीकरण गरिने विषयको चर्चा गरिन्छ । उहिल्यै मानवलाई जन्मका आधारमा नभएर कर्मका आधारमा श्रेष्ठ,ज्येष्ठ,उच्च र उन्नत
हुने र मान्ने परिपार्टी रहेछ । दासी पुत्र विदुर कर्मका आधारमा सम्मानित भएक हुन् । विश्वकर्मा बाबा भनेर सम्मानित गर्ने र हुने उच्च सम्मान गरिने परिपाटी देखिन्छ । छुवाछुत पहिले थिएन भएको भए भगवान् रामले शबरी तराइतिर चमार्नी र पहाडतिर सर्किनी भनिने नारीले दिएको छोएको वा चाखेको बयर प्रसंग कसरी आयो ? तर अहिले कथित उपल्ला जातिले हामीलाई विभेद गरेका जस्ता अज्ञानी र अल्पज्ञानीको स्याल हुइययाँ बजारमा बिक्री भएके देख्दा अचम्म लाग्छ ।
छैटौँ अध्यायमा प्रेम महात्म्यको चर्चा गरिन्छ । यसमा शिव पार्वती प्रेम र प्रणय, लगायत प्रकृति प्रेम भातृ प्रेम, मातृ प्रेम, पितृ प्रेम,पति पत्नी प्रेम ,शिक्षा प्रेम र पठन प्रेम लगायत प्रेमका बहुआयामिक विषयक पक्षहरूको वाचन गरिन्छ ।
सातौँ अध्यायमा नैतिक शिक्षा महत्वका बारेमा सविस्तार चर्चा गरिन्छ । यति मात्र होइन धेरै जीवन र समाज उपयोगी विषय र सार पक्षहरू पुराणमा रहेका छन् । त्यसैले अर्वाचीन पुराण आम श्रमजीवी जनतालाई सबै खालका अन्धविश्वास,रुढीवाद र कुरीतिबाट मुक्त पार्ने प्रयास गरिन्छ । जनतालाई सचेत,जागरुक तथा अग्रगामी सोच युक्त बनाइने लक्ष्य राखिएको छ ।
इटहरी निवासी डा. पोखरेल १९ औँ पुराण लेखनको अन्तिम तयारीमा हुनुहुन्छ ।
प्रकाशित मिति : २ असार २०८१, आइतबार ४ : ५९ बजे
प्रतिक्रिया