सुनको मूल्यमा नयाँ कीर्तिमान

बालेनको अनुहारमा निर्दलीयताको कालो ग्रहण

काठमाडौँ । काठमाडौँ महनागरपालिकाका मेयर बालेन शाहले धेरै राम्रा कामहरू गर्नुभएको छ । उहाँको योजनामा राम्रा कामको बुँदाहरू प्रशस्तै छन् । तर यही सूचीमा अटेका कतिपय काम र योजना झट्ट सुन्दा जति राम्रा छन्, त्यति नै विवादास्पद पनि छन् । यसमा कतिपय काम त स्टन्ट नै हो भन्ने प्रतीत हुन्छ ।

कपनको धोबी खोला प्रकरण यस्तै स्टन्टबाजीको ज्वलन्त उदाहरण हो ।

यो खोला काठमाडौं महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाको सीमामा पर्छ । त्योसँगै बगेर आउने ढललाई स्थानीयले चखुन्चा खोला भन्छन् । वास्तवमा त्यो खोला होइनन । पहिला राजकुलो भएको ठाँउमा ढल बगेको मात्र हो । पछि त्यसलाई काठमाडौ विकास प्राधिकरण र बुढानीलकण्ठ नगरपालिकाले बजेट छुट्टयाएर अन्डरग्राउन्ड गर्ने काम गरेको हो । यो काम पूरा नभएकाले बाढी आउँदा यो ढल कपनबस्तीमा समेत पस्ने गरेको थियो ।

तर यहाँ एकाएक काठमाडौँ महानगरपालिकाको डोजेरले परेड खेल्यो । दुई नगरपालिकाबीच तनाव भयो । तर, डोजरले सबै अन्डरग्राउन्ड गरेको ढल बाहिर ल्यायो । त्यसको केही समयअघि पुरानो जय नेपाल हलको आँगन भत्काएर टुकुचा खोला देखाएका बालेन शाहले ठ्याक्कै त्यस्तै काम गरेको भन्दै ताली पड्काउनेको भिड लाग्यो । तर अहिले महानगरको डोजरसँगै ताली पड्काउनेहरू हराए तर ढल ठुस्स गन्हाइरहेको छ । बाटोमा हिँड्दा समेत गाह्रो हुने सो क्षेत्रका स्थानीयहरू ढलको गन्ध नाकमा आउँदा मेयर शाहको डोजर सम्झना आउने गरेको बताउँछन् ।

यो त भयो कपनको कुरा । मेयर बालेनका अरु गतिविधि कम टिठलाग्दो छैनन् । न्युरोडको सडक भत्काएर फुटपाथ बनाउन नपाएको झोँकमा काठमाडौँ महानगरपालिकाले सडक विभाग र सडक डिभिजन काठमाडौंको गेट अगाडि ट्रकबाट फोहोर र धूलो झारेर सामाजिक सञ्जालमा त्यसको विज्ञापन समेत भएको थियो । गेट अगाडि धुलो फाल्ने काम कसरी सही हुन सक्छ< तर ताली पिट्नेको लर्को यहाँ पनि थियो ।

शहरी विकास मन्त्री रघुवीर महासेठलाई चिढ्याउन धुलो फ्याँक्ने काम भएको थियो । तर यसबाट कपनबासीले भने गज्जबको आइडिया पाए । महानगरको ट्रकले धुलो फालेको जस्तै ढलको फोहोर उठाएर काठमाडौँमा मेयर बालेन शाहको घर अगाडि लगेर खन्याउने सल्लाह समेत सघन रूपमा चलेको थियो ।

त्यसो त बालेनले प्रणाली सुधारका लागि राम्रा कामहरू गर्नुभएको छ । तर सामाजिक सञ्जाल ताकेर कहिले प्रमाण बिना व्यक्ति तोकेर आरोप लगाउने, कहिले सिंहदरबारमा आगो लगाउँछु भन्दै उग्र बन्ने काम गर्दा उहाँ स्वयंको छविमा आघात पुगेको छ । सामाजिक सञ्जालमा जोसुकैलाई नराम्रो भन्ने वर्गले बालेनको उग्र रूपलाई सराहना गरे पनि आम स्तरमा भने यसलाई स्टन्टबाजीकै रूपमा लिन थालिएको छ ।

यो त भयो सामाजिक सञ्जाल प्रयोग/दुरूपयोगको कुरा ।

स्वतन्त्र रूपमा उठेर मेयर बन्नुभएका उहाँको जित सराहनीय थियो । तर अब उहाँले दलीय पद्धतीको नै विरोध गर्न थाल्दा भने उहाँ स्वयं आलोचित हुनुभएको छ ।

उहाँले आइतबार मुलुककै दुई पुरानो दल नेकपा एमाले र नेपाली काँग्रेसलाई गाली गर्दै  नगरसभा स्थगित गर्नुभयो । नगरसभा स्थगित हुनुमा प्रमुख दल दोषी भन्दै उहाँले आधारहीन आरोप समेत लगाउनुभयो ।

आर्थिक वर्ष २०८१/८२ का लागि जेठ ३२ गते प्रस्तुत भएका वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न बोलाइएको नगरसभाको बैठकलाई एमाले र कांग्रेसबाट निर्वाचित हुनुभएका जनप्रतिनिधिहरुले बहिस्कार गर्नुभएको हो । मेयर साहको एकलौटी शैलीको विरोध भएको हो तर उहाँले दललाई नै गाली गरिदिनु भयो ।

मेयर साहले १५ औं नगरसभाका दोस्रो बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि बोल्न चाहने सदस्यहरुलाई ५ मिनेटभित्र नाम टिपाउन समय दिनुभएको थियो । सोही विषयमा जनप्रतिनिधिहरूले बैठक बहिष्कार गरेका हुन् । हाल बैठक असार १० गतेसम्मका लागि स्थगित भएको छ ।

न्यूरोडको नयाँ सडकलाई 'नो भेइकल जोन' बनाउने प्रस्ताव मेयर शाहले नगरसभामा पारित गराउन खोजेपछि जनप्रतिनिधि र मेयर साहबीच असमझदारी बढेको हो । मेयर साहले ३ जना नेताले गर्दा १६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भएको भन्दै यसलाई दलहरूको दोष देखाउने अवसरको रूपमा प्रयोग गर्नुभयो । यसलाई बालेनमा देखिएको निर्दलीय चरित्रको रूपमा व्याख्या गरिएको छ ।  

सामान्यतया निर्वाचनमा मतदाताले कहिलेकाहिँ विरोध स्वरूप भोट हाल्छन् । यो प्रवृत्ति नेपालमा मात्र नभइ विश्वव्यापी रूपमा प्रचलित छ । तर फेरि अर्को चुनावमा निर्णय सच्याउने शैली अनौठो होइन ।

काठमाडौँमा पनि बेलाबखत जनताले दलका नेताहरुलाई झस्काउने गरी चुनाव हराएका छन् । तर पछि उनीहरु तिनै दलका नेता अगाडि ल्याउने गरी मतदान गरेको इतिहास छ । काठमाडौँका एक स्थानीय भन्छन्  – ‘दलका नेताले गल्ति गरे भनेर बालेनलाई मेयरमा भोट हालेको यो त तिर्खा लाग्यो भनेर बिष पिए जस्तो पो भयो ।’

पञ्चायतकालमा पञ्चहरुको विरोधमा देशैभरीबाट ठूलो मतान्तरले नानीमैयाँ दाहाललाई काठमाडौँका जनताले जिताए । उनी पछि अर्को चुनावमा फेरि उम्मेदवार बन्दा जमानत नै जफत भएको थियो ।

गणतन्त्र आएपछि काठमाडौंबाट काँग्रेस र एमालेको मत अन्तै सिफ्ट भएको थियो । तर तिनै जनताले २०७० सालको चुनावमा यी दुई दललाई नै १० सिटमा विजयी गराइदिएका थिए ।

राजनीतिभन्दा परोक्ष रहेर गरेका काममा मेयर साह खासै विवादित छैनन् । तर, स्थानीय रुपमा निर्वाचित जनप्रतिनिधिहरुमाथि 'मेरो गोरुको बाह्रै टक्का' भन्ने शैलीमा  निर्णय लाद्ने र भनेको नमान्दा दलीय पद्धतीमाथि धावा बोल्ने शैली स्वीकार्य नहुने संकेत हो जनप्रतिनिधहरूको बैठक बहिष्कार निर्णय । बालेनको मेयरमा उदय हुनु वैकल्पिक शक्तिलाई स्पेस दिएको मात्रै हो, दलीय व्यवस्था फालेर निर्दलीय व्यवस्था भित्र्याउने चाहना होइन । यो कुरा नबुझेर वा बुझ पचाएर बालेनले प्रजातन्त्र र  यदाकदा न्यायालयमाथि समेत हावी हुनुलाई जनताले समेत नस्वीकार्ने देखिन्छ ।

 

प्रकाशित मिति : २ असार २०८१, आइतबार  १ : १९ बजे