साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गर्मीसँगै बढ्यो डेङ्गीको सङ्क्रमण, ७१ जिल्लामा फैलियो

काठमाडौँ, १ असार । डेङ्गीको सङ्क्रमण देशका ७१ वटा जिल्लामा फैलिएको छ । गएको जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गी अहिले ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालकाअनुसार उच्च गर्मीसँगै डेङ्गी सङ्क्रमण बढेको हो ।

यो बेला धेरैजसोले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गीको जोखिम बढेको उहाँको भनाई छ । सङ्कलन गरिएको सफा पानीमा लामखुट्टेले फुल पर्छ । देशका ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमण देखिएको छ ।

कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बाग्मती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।

काठमाण्डौ उपत्यकाभित्र काठमाण्डौमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललितपुरमा १८ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गी पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएर मानिसलाई टोकेपछि डेङ्गी लाग्छ ।

डेङ्गीको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने जस्ता लक्षण देखिन्छन् । लामखुट्टेबाट बच्नका लागि झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, घर वरपर सफा राख्न, टायर र भाँडामा पानी लामो समय जम्न नदिन पनि डाक्टरको सुझाव छ ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ११ : ०७ बजे