‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

बागमती सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौँ, १ असार । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट आज सार्वजनिक हुँदैछ । प्रदेशसभाको आज  बस्ने बैठकमा सरकारको बजेट सार्वजनिक हुने कार्यसूची रहेको छ ।

सरकारको बजेट प्रस्तुत गर्न प्रदेशसभाको बैठक दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बजेट प्रस्तुत गर्नुहुनेछ  ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकाले आर्थिक सङ्कुचनका कारण राजस्व सङ्कलन दर न्यून रहेको भन्दै चालु आर्थिक वर्षकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको हो ।

आर्थिक मामिला तथा योजना मन्त्री थपलियाका अनुसार प्रदेश सरकारको आय स्तरलाई अधिकतम प्रयोग गरी बजेट निर्माण गरिएको छ । प्रदेश सरकारको आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान बापतको रकमसमेत कटौती भएकाले बजेट केही प्रभावित हुने मन्त्री थपलियाको भनाई छ । कर, दस्तुर र सङ्घीय सरकारले दिने अनुदानसमेत कटौती भएकाले पनि चालु आर्थिक वर्षको हाराहारीमै बजेट ल्याउने उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले परम्परागत शैलीलाई तोडेर नागरिकमैत्री बजेट निर्माण गरिरहेको छ । सोही अनुसार मन्त्रालयले आम नागरिकको आवश्यकतालाई मध्यनजर गरेर बजेट तर्जुमा गरिएको उहाँको भनाई छ । ठूला र बृहत् प्रकृतिका योजनासँगै जनताका जीवनस्तरसँग जोड्ने कार्यक्रम आगामी वर्षको बजेटमा समावेश हुने तथा उत्पादन र उत्पादकत्व वृद्धि, आर्थिक उपार्जन, उद्यमशीलता विकास, रोजगारी र सिपजस्ता क्षेत्र सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो ।

शिक्षा स्वास्थ्य क्षेत्रको गुणस्तर कायम गर्न र आधारभूत आवश्यकता पूर्ति तथा सुशासनका क्षेत्रमा सरकारले लगानी गर्ने तथा रोजगारी सिर्जना सरकारको विशेष प्राथमिकताको क्षेत्र रहेकाले कृषि, पर्यटन, उद्योग लगायतको क्षेत्रमा लगानी बढाउने उहाँले बताउनुभयो । प्रदेश सरकारले बजेटलाई विवाद रहित बनाउन प्रति सांसद ३ करोड रुपैयाँको योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ६२ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  १० : ४० बजे