साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जलवायु परिवर्तनबारे कार्यक्रम धेरै, काम थोरै: पूर्व राष्ट्रपति भण्डारी (भिडियोसहित)

ललितपुर, ३१ जेठ । जलवायु परिवर्तनको समस्याबारे नेपालमा थुप्रै कार्यक्रम हुने तर कार्यान्वयन पक्ष फितलो हुने समस्या रहेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनुभएको छ ।

बिहीबार खुमलटारमा आयोजित २१ औँ शताब्दीमा जलवायु परिवर्तन र प्रेस विषयक अन्तरक्रिया कार्यक्रमलाई  सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले  जलवायु परिवर्तन विश्वकै लागि नयाँ चुनौती रहेको र नेपालजस्ता मुलुकले थुप्रै काम गर्न आवश्यकता रहेको औल्याउनुभयो । पछिल्लो समय जलवायु परिवर्तन विकराल समस्याको रूपमा आएको तथ्य प्रस्तुत गर्दै उहाँले  नेपालजस्ता मुलुकले यसमा गम्भीर रूपमा काम गर्न आवश्यक रहेको उहाँको भनाई छ । 

नेपालमा धेरै प्राकृतिक र साँस्कृतिक  सम्पदा रहेकाले त्यसलाई संरक्षण गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।‘हामीसँग प्रकृति छ, साँस्कृतिक सम्पदाहरू छन्, यी सँस्कृति र प्राकृतिक सम्पदाहरूलाई जगेर्ना गर्दै समृद्धिको खोजी गर्नुपर्दछ’, उहाँले भन्नुभयो । नयाँ सन्ततिलाई मुलुकको सम्पदा जस्ताको तस्तै हस्तान्तरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा उहाँले जलवायु परिवर्तनबारे गरेका कामहरूको समेत स्मरण गर्नुभयो । वातावरण मन्त्रीको रूपमा कार्यरत रहँदा विक्रम टेम्पो प्रतिस्थापन गरेर सफा टेम्पो ल्याएको, सवारीहरूको अवस्था जाँच गरेर हरियो स्टिकर टाँस्ने व्यवस्थाको सुरुआत गरेको लगायतका महत्वपूर्ण काम गरेको र त्यसले वातावरण प्रदुषण कम गर्न कोशेढुंगाको काम गरेको तथ्य समेत उहाँले जानकारी दिनुभयो । सो काम निरन्तर अघि बढेको भए अहिलेजस्तो प्रदुषणको अवस्था नहुन सक्ने सम्भाव्यताबारे समेत आफ्नो विचार राख्नुभयो।

पवित्र स्थलहरू बागमती, विष्णुमती, इच्छुमती, बराह क्षेत्र लगायतमा समेत प्रदुषण बढेको भन्दै उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो । यी क्षेत्रको अतिक्रमणबारे समेत उहाँले गम्भीर चासो व्यक्त गर्दै भन्नुभयो, 'पशुपती क्षेत्रमा कुनै बेला नौ पोखरी, नौ ईनार थियो । ती अहिले छैनन्। यस्तो मान्छेहरूले घर बनाएर बसेका छन् कि न्यायको तराजु लिएर बसेका मान्छेहरू समेत छन्।'

यी स्रोतहरूलाई बुझेका मान्छेहरूले नै नाश गरेको हुनाले काठमाडौँमा भूमिगत जलको समेत समस्या सुरू भएको पूर्व राष्ट्रपति भण्डारीले बताउनुभयो । पछिल्लो समय नेपाललगायतका मुलुकमा प्लाष्टिकजन्य सामग्रीको उपयोग बढेको र यसलाई नियन्त्रण गर्न आवश्यक रहेको उहाँको भनाई छ ।  

मुलुकमा ७५३ स्थानीय तह रहेको र स्रोतको पनि समस्या नरहेको बताउँदै उहाँले अबका दिनमा जलवायु परिवर्तनका सवालमा सार्थक परिणाम आउने गरी जुट्न सबै पक्षलाई आग्रह गर्दै आफूले समेत यसमा सबैखाले सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । 

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ७ : ४४ बजे