साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मधेसका सरकारी कार्यालयमा चरम बेथिति, दुई सचिव एक महिनादेखि बेपत्ता 

जनकपुरधाम । मधेस प्रदेशका सरकारी कार्यालयहरूमा चरम बेथिति रहेको भेटिएको छ । 

राष्ट्रिय सतर्कता केन्द्रले हालै गरेको एउटा अध्ययनले मधेस प्रदेशका सरकारी कार्यालयमा प्रदेश सचिवदेखि कार्यालय सहयोगीसम्मका कर्मचारीहरू अनुशासनहीन  रहेको भेटिएको हो । 

केन्द्रले यही जेठ ११ गतेदेखि २२ गतेसम्म चितवन, पर्सा, बारा, रौतहट,धनुषा, लगायतका जिल्लाका २९ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा  मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादव र भौतिक पूर्वाधार मन्त्रालयका सचिव राजकुमार गोइत बिदा स्वीकृत नगराई करिब १ महिना कार्यालयबाट बेपत्ता भएको भेटिएको छ । 

यादव वैशाख २५ गतेदेखि ज्येष्ठ ४ गतेसम्म र जेठ ७ गतेदेखि २० गतेसम्म दुई पटक मन्त्रालयबाट बेपत्ता भएको फेला परेको थियो । त्यस्तै सचिव गोइत वैशाख २१ गतेदेखि जेठ २० गतेसम्म बिना हाजिर मन्त्रालयबाट सम्पर्कविहीन भएका थिए । 

अनुगमनका क्रममा ४ सय १ कर्मचारी बिदा स्वीकृत नगराई कार्यालय छोडेर हिँडेको भेटिएको थियो । जसमा दुई सचिवसहित पाँच कार्यालय प्रमुख ७० जना अधिकृत कर्मचारीहरू ३ सय २४ अन्य कर्मचारी रहेको सर्तकताकेन्द्र स्रोतले बतायो । 

अनुगमनका क्रममा २३ कर्मचारीहरू तोकिएको पोसाक नलगाई कार्यालयमा उपस्थित भएको भेटिएको थियो । प्राप्त विवरण अनुसार डिभिजन सडक, चितवनका १७ कर्मचारी अनुपस्थित भएको पाइएको छ । त्यस्तै गरी सचिव खानेपानी तथा ढल व्यवस्थापन आयोजना चितवनका १४, डिभिजन वन कार्यालय, चितवनका १४, राष्ट्रपति चुरे मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई, चितवनका १ जना, इच्छा कामना गाउँपालिका चितवनका ४० जना बिना जानकारी कार्यालयमा अनुपस्थित थिए । 

त्यसैगरी यातायात व्यवस्थापन कार्यालय, चितवनका १३, नापी कार्यालय, चितवन ३२ जना, नापी कार्यालय चितवनका ३२ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको भेटिएको थियो । 

त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र पर्साका ४, जिल्ला हुलाक कार्यालय, पर्साका ३ जना, पर्सौनी गाउँपालिका बाराका १५ जना, महागढीमाई नगरपालिका, बाराका ३७ राजपुर नगरपालिका, रौतहट २५ जना, मौलापुर नगरपालिका रौतहटका ९ जना, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, मधेस जनकपुरधामका ११ जना, वन तथा वातावरण मन्त्रालय, मधेस प्रदेशका तीन कर्मचारीहरू कार्यालयमा बिना जानकारी बेपत्ता भएको पाइएको थियो । 

उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, मधेशप्रदेशका १, अर्थमन्त्रालय, मधेशप्रदेशका ४, भौतिक पूर्वाधार विकास मन्त्रालय मधेशप्रदेशका १६ , श्रम तथा यातायात मन्त्रालय, मधेशप्रदेशका ७, गृहसंचार तथा कानुन मन्त्रालय, मधेशप्रदेशका ६ जना कर्मचारी बिना जानकारी कार्यालयबाट बेपत्ता थिए । 

यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेशप्रदेशका ११ जना, गणेशमान चारनाथ नगरपालिका, धनुषाका २९ जना, कमलामाई नगरपालिका सिन्धुलीका ९३ जना कर्मचारी बिना बिदा कार्यालयमा उपस्थित नभएको पाइएको हो । 

सतर्कता केन्द्रको कर्मचारीले अनुगमनका क्रममा ४ सय १ जना कर्मचारी कार्यालयमा नभेटिनुले मधेस प्रदेशका सरकारी कार्यालयमा चरम बेथिति बढिरहेको तथ्य भएको बतायो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार  ६ : ३६ बजे