नेपालमा समाजवाद: कसरी आउँछ, कसले ल्याउँछ?

विश्वमा कम्युनिष्ट आन्दोलनको सुरू भएदेखि नै यसले समाजवादी अर्थव्यवस्थाको वकालत र पक्षपोषण गर्दै
आएको छ । कुनै पनि देशमा पूँजीवादको उच्चतम विकास भएपछि वर्गीय शोषणले चरम रूप लिने र उत्पादक
शक्ति-सर्वहारा श्रमजीवी वर्गको निर्णायक पहल कदमी, एकता र सङ्घर्षबाट पूँजीवादको अन्त्य भइ
समाजवादको स्थापना हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढ्दै आयो

सोभियत रूसमा लेनिनको नेतृत्वमा सम्पन्न महान अक्टुवर समाजवादी क्रान्ति धेरै दशक संसारका सर्वहारा
श्रमजीवी वर्गका लागि रोल मोडल बन्यो, प्रेरणाको स्रोत बन्यो । नब्बेको दशकमा सोभियत समाजवादी मोडल
ढलेपछि समाजवादी राज्यव्यवस्था र समाजवादी अर्थव्यवस्थाको मोडलबारे पुन: बहस सुरू भयो र अहिलेसम्म
यो बहस चलिरहेको छ।

चिनियाँ कम्युनिष्ट पार्टीले माओत्सेतुङको नेतृत्वमा ‘नयाँ जनवादी क्रान्ति सम्पन्न गर्‍यो । अर्धसामन्ती र
अर्धऔपनिवेशिक समाजमा एकैपटक समाजवादी क्रान्ति गर्न संभव नभएकोले किसान र मजदुरको संयुक्त
नेतृत्वमा पूँजीवादी जनवादी क्रान्तिमार्फत् समाजवादमा पुग्ने चिनियाँ कम्युनिष्ट पार्टीको निष्कर्ष थियो । त्यही
विचारलाई कहीं माओ विचारधारा भनियो,कहीं माओवाद भनियो। नयाँ जनवादी क्रान्ति सम्पन्न भएको करिब
साढे दुइ दशक निजी सम्पत्तिको राष्ट्रियकरण,अग्रगामी छलाङ र सर्वहारा सांस्कृतिक क्रान्तिजस्ता असफल
अभियानमा चिनियाँ कम्युनिष्ट पार्टी अल्मलियो । देङ सियाओ पिङ सत्तामा आएपछि ‘चिनियाँ
विशेषतासहितको समाजवाद’को खाका कोरियो, कार्यान्वयन गरियो । उल्लिखित साढे दुइ दशक बाहिरी
संसारसँग घुलमिल नभएको चिनियाँ समाज देङको खुला बजार नीतिको कारण चीन खुला बजार अर्थतन्त्रमा
सामेल भयो। यिनै नीतिका कारण अहिले समाजवादी चीन महाशक्ति राष्ट्रको रूपमा उदय भएको छ । चिनियाँ
कम्युनिष्ट पार्टीको अठारौं महाधिवेशनले समृध्दि,जनवाद,नम्रता,विचार र व्यवहारमा एकरूपता,बहसमा
स्वतन्त्रता,समानता,न्याय,विधिको शासन,देशभक्ति,समर्पण,जीवनको समग्रता र मित्रतालाई मुख्य समाजवादी
मूल्य-मान्यता भनेर व्याख्या गरेको छ । समाजवाद राज्यले थोपर्ने नभइ जनस्तरमा विकसित उच्चस्तरको
चेतनाले निर्माण र विकास हुने व्यवस्थाको रूपमा उनीहरूले मान्दै आएका छन् । ‘तथ्यको आधारमा सत्यको
खोजी गर्ने’ चिनियाँ कम्युनिष्ट पार्टीको मूलमन्त्र रहँदै आएको छ । साथै चिनियाँहरू चिनियाँ कम्युनिष्ट पार्टी
जति बलियो, एकताबध्द र तथ्यको आधारमा सत्य खोज्ने हुनसक्यो, त्यति नै देशको समृध्दि र समाजवादले
फड्को मार्छ भन्ने विश्वास गर्छन् । त्यसका लागि देङको भनाइ “मैले के सिकेको छु भने पार्टीको एकता
सबैभन्दा महत्वको विषय हो, यो प्राप्त गर्न जनतासँग साझा आदर्श र विचारप्रतिको अविचलित आस्था
हुनैपर्छ,”लाई नि:शर्त पालना गरेको देखिन्छ ।

महान अक्टुवर समाजवादी क्रान्ति र चिनियाँ नौलो जनवादी क्रान्तिको विश्वव्यापी प्रभावसँगै नेपालमा
कम्युनिष्ट आन्दोलनको सुरूवात र विकास हुँदै आएको हो । तर लामो समयसम्म नेपाली कम्युनिष्ट नेताहरूले

नेपालको धरातलीय यथार्थमा कम्युनिष्ट पार्टीको निर्माण कसरी गर्नुपर्छ र नेपाली क्रान्तिको स्वरूप कस्तो
हुनेछ भन्ने निर्क्योल गर्न सकेनन् । छिमेकमा भएका समाजवादी क्रान्ति र नयाँ जनवादी क्रान्तिसँग जोोडिएर
आएका विचार र अभ्यासलाई कपि पेष्ट गर्ने होडबाजी चलिरह्यो। कम्युनिष्ट पार्टीलाई एकताबध्द र मजबुत
बनाउनुको सट्टा आफू नेता हुने हुटहुटीले पार्टी फुटाउने र कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने खेल चलिरहे
। कम्युनिष्ट पार्टी गठन भएको झण्डै पाँच दशकपछि जननेता मदन भण्डारीको अगुवाइमा बदलिंदो विश्व
परिवेशमा नेपालको धरातलीय यथार्थसँग मेल खाने जनताको बहुदलीय जनवादको जन्म भएपछि नेपालको
कम्युनिष्ट आन्दोलनले नयाँ उँचाइ र शक्ति प्राप्त गर्‍यो । विभिन्न चिरामा विभक्त कम्युनिष्टलाई यो
विचारले एकताबध्द गर्‍यो । नेपाली समाजमा अद्वितीय चेतना र जागरण पैदा गर्‍यो ।

अर्कातिर ‘गाउँबाट सहर घेर्ने,दीर्घकालीन जनयुध्दको माध्यमद्वारा बलपूर्वक सत्ता कब्जा गर्ने’ विचार राख्ने
कम्युनिष्टलाई एकताबध्द पारेर प्रचण्डको नेतृत्वको माओवादी समूहले सुरू गरेको ‘जनयुध्द’ले एक दशकमा
अर्को शक्ति पैदा गर्‍यो । शान्तिपूर्वक प्रतिस्पर्धात्मक बाटोबाट अगाडि बढिरहेको एमालेको शक्ति, सशस्त्र
विद्रोह गरिरहेको माओवादी शक्ति र नेपाली कांग्रेसको साझा सहमतिबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त
भयो, जनताका प्रतिनिधिमार्फत् ‘समाजवादउन्मुख संविधान’को निर्माण भयो ।

माओवादीहरू माओवाद छोडेर शान्तिपूर्ण प्रतिस्पर्धाको बाटोमा आएपछि,जबजका चौध विशेषतामा उल्लेख
भएबमोजिम निर्वाचनबाट श्रेष्ठता हासिल गर्ने संसदीय चुनाव लड्न थालेपछि माओवादी शक्तिलाई एमालेसँग
एकता गर्न सहजता पैदा भएको थियो । एमाले अध्यक्ष के पी शर्मा ओलीको उच्च राजनीतिक सुझबुझको
फलस्वरूप दशकौंदेखि विभक्त कम्युनिष्ट आन्दोलन एकताबध्द भएको थियो, इतिहासकै शक्तिशाली भएको
थियो। नेपाली विशेषतासहितको समाजवाद निर्माण गर्ने ऐतिहासिक अवसर प्राप्त भएको थियो । तर नेपाली
जनताको दुर्भाग्य नै भन्नु पर्दछ,त्यो एकता टिकाउ हुन सकेन । पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल,
झलनाथ खनाल र वामदेव गौतमको एकीकृत नेकपा कब्जा गरिहाल्ने दुरासयको कारण एकताबध्द कम्युनिष्ट
आन्दोलन बनिरहन सकेन ।

फलत: माओवादी पिण्डम् स्थाने पिण्डम् भयो । माधव-झलनाथ पनि एमालेमा बस्न चाहेनन् । र एउटा सानो
कोटरी बनाएर छुट्टिए । पुन: विभक्त ती साना वामहरूले बेलाबेला नेपालमा समाजवाद ल्याउने मसिहा
हामीमात्र हौं भन्ने गरेको सुनिन्छ । यो त कस्तो भयो भने हुँदाखाँदाको बलियो घरमा आगो लगाउने र
त्यसको खरानीबाट झन बलियो घर बन्छ भन्ने तर्कजस्तै भयो । उनीहरूको यो तरिकाले गफमा समाजवाद
आउला, नेपाली जनताको जीवन व्यवहारमा समाजवाद आउँदैन ।

‘समाजवादी’ नामधारी सुकेनास लागेका मरन्च्याँसे वाम समूहबाट नेपालमा समाजवाद ल्याउन संभव छैन उनीहरूका खोक्रा भाषणको कुनै अर्थ र औचित्य छैन । चिनियाँ राष्ट्रपति सि जिङपिङले भन्ने गर्छन्-खोक्रो
भाषणले देश विगार्छ । देशका बहुसङ्ख्यक जनताले साथ र समर्थन नदिइकन र एमालेजस्तो वैचारिक र
सांगठानिक हिसाबले बलियो कम्युनिष्ट पार्टीले नेतृत्व नगरीकन नेपालमा समाजवाद आउँदैन ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ४ : ०९ बजे