‘चुनावमा पराजित साथीहरूलाई क्षमता अनुसार जिम्मेवारी दिइन्छ   ’

नेकपा (एमाले) काठमाडौँको अध्यक्षमा पुनः दीपक निरौला निर्वाचित हुनु भएको छ । उहाँले ३७० मत प्राप्त गरि निर्वाचित हुनु भएको हो । उहाँसँग प्रतिस्पर्धा गर्नु भएका निर्मल देउलाले १९१ त प्राप्त गर्नु भएको छ ।  काठमाडौँ १० निर्वाचन क्षेत्र हाँक्ने जिम्मा पाएको जिल्ला कमिटीका अध्यक्ष निरौलासँग चक्रपथले गरेको छोटो कुराकानी

प्रश्नः सर्वसम्मत नेतृत्व चयन हुन सकेन किन हो ?

 जिल्ला अधिवेशनमा ५० प्रतिशत सर्वसम्मत भएको छ । सवैका आंकाक्षा एउटै हुँदैन । त्यसको लागि लोकतान्त्रिक प्रक्रियाबाट नै नेतृत्व चयन हो । हो, हामी त्यही लोकतान्त्रिक विधिबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेकोमा चुनावमा गएका हौ । 

प्रश्नःदुई प्यानल बनाएर चुनाव लड्नु भयो, प्रतिस्पर्धामा पराजितलाई कसरी समेट्नुहुन्छ । 

 हामी  प्यानलगत रूपमा निर्वाचनमा सहभागी भएका होइनौ । उम्मेदवारले आआफ्नो तरिकाले मनोनयन गर्नु भयो र आआफ्ना तरिकाले मत माग्नु भएको हो । मैले त पर्चा पनि बाँडिन र एसएमएसबाट भोट पनि मागेन । हाम्रोमा प्यानल थिएन । अर्को कुरा पार्टीलाई आन्तरिक प्रतिस्पर्धामा भाग लिने सबैलाई स्वतन्त्रता रहेको छ । अव पराजितलाई उहाँको क्षमता अनुसार पार्टीको विधान अनुसार जिम्मेवारी दिइन्छ । 

प्रश्नःकाठमाडौँमा सङ्गठनलाई अव कसरी चुस्त बनाउनुहुन्छ ?

 हिजो हामीले जे–जे सङ्गठन निर्माणको योजना सारेका थियौ, त्यसलाई निरन्तरता दिनेछौ । पार्टीले नियमित काम र जनसरोकारका विषयलाई अगाडि बढाउने छौ । 

प्रश्न: यहाँ नेवार समुदायको बाहुल्य रहेको छ त्यसलाई कसरी समेट्नुहुन्छ ? 

 पार्टी राजनीतिक एउटा जात विशेषसँग हुँदैन । पार्टीले विचारलाई समेट्ने हो ।  विचारभित्र समुदाय, धर्म जात परम्परा रहेका छन् । 

प्रश्नः काठमाडौँको अधिवेशनमा पहिलो पल्ट विद्युतीय मेसिनको प्रयोग गर्नुभयो कस्तो अनुभव रहयो ? 

 एमालेले यसअघि पनि विद्युतीय मेसिनको प्रयोग गरिसकेको छ । हामीले मुलुकलाई विद्युतीय मतदान प्रक्रियामा सहभागी गराउन प्रेरणा दिन दबाब लागि मेसिन प्रयोग गरेका हौ । 

प्रश्नःतपाईँहरूको प्रतिस्पर्धा अलि स्वास्थ्य भएन भनने गुनासो पनि  छ नि ? 

हाम्रो चुनाव स्वस्थ नै भएको थियो । पर्चा पम्लेट उम्मेदवारले वितरण गरिहाल्छन् । उम्मेदवारले सभ्य तरिकाले प्रतिस्पर्धीसँग  अंकमाल  गरेर मत मागेका थिए । उम्मेदवारले एक अर्कालाई अवाञ्छित आरोप लगाएका थिएन । लोकतान्त्रिक विधिबाट मत लागेका थिए । स्वास्थ्य प्रतिस्पर्धा नै भएको थियो । 

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  २ : ०८ बजे