साफ यू–१७ च्याम्पियनसिप आजदेखि

फेरि आफ्नै भवन बनाउने अभियानमा एमाले, कार्यालय भत्केपछि सुनसान बल्खु

काठमाडौँ। नेकपा (एमाले)को बल्खुस्थित पार्टी कार्यालय बनाउने अभियानमा फेरि जुटेको छ  । तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालले अत्याधुनिक पार्टी कार्यालय बनाउने गरि शिलान्यास गरे पनि त्यो पुरा हुन सकेन । र अहिले फेरि एमाले आफ्नै अत्याधुनिक भवन बनाउने कार्यमा लागेको छ । भूकम्पपछि भत्किएको एमाले कार्यालय बल्खुबाट सरेर धुम्बाराही, थापाथली हुँदै अहिले ललितपुरको च्यासल पुगेको छ । 

एमालेले बल्खुमा पार्टी कार्यालयमा बनाउनका लागि पार्टी सदस्यताबाट आर्थिक सङ्कलन गरिरहेको छ । पार्टीले भवन निर्माण कोष भनेर बैङ्कमा अलग्गै खाता खोलेर प्रत्येक पार्टी सदस्यताबाट रु सयका दरले जम्मा गरिरहेको छ । पार्टी कार्यालयका अनुसार अहिले ६२ लाख जम्मा भइसकेको छ । एमालेका सङ्गठित सदस्य पाँच लाख ५० हजार रहेका छन् । यस्तै भवन निर्माणका लागि गत वैशाख ८ देखि १० गतेसम्म भएको राष्ट्रिय प्रतिनिधि परिषद् भेलामा पनि स्वैच्छिक रूपमा नेताहरुले रकम दिने घोषणा गरेका थिए । अहिले पार्टी सदस्य नवीकरण गर्दा सय रुपियाँ लिने गरेको सङ्गठन विभागका सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो । “हामीले भवन निर्माण कोष नै खडा गरेर सङ्गठित सदस्यबाट एक सयका रुपियाँ उठाउन गरेका छौ” उहाँले भन्नुभयो, “अहिले नवीकरण गर्ने प्रत्येक सदस्यबाट सय रुपियाँका दरले पैसा उठाइरहेका छौ ।”

भूकम्पले बल्खुस्थित केन्द्रीय कार्यालय भत्किएपछि २०७२ साउन २३ गते धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानमा सरेको थियो। पासाङल्हामु स्मृति प्रतिष्ठानको सम्झौता सकिएपछि पार्टी कार्यालय थापाथलीस्थ्ति हाइटमा २०७८ वैशाखदेखि सरेको थियो ।

त्यसपछि नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसका अवसरमा २०७८ वैशाख १ गतेदेखि पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सारिएको हो । थापाथलीमा पार्टी कार्यालय सरेसँगै एमाले अध्यक्ष केपी शर्मा  ओलीले २०७८ सालमा वैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना भएको अवसरमा मदन नगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा नयाँ पार्टी कार्यालय भवनको शिलान्यास गर्नु भएको थियो । 

सो समयमा एमालेको नयाँ केन्द्रीय कार्यालय भवन दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर नयाँ भवनको शिलान्यास गरेको तीन वर्ष बित्ते पनि भवन बनेको छैन । एमालेले १३ रोपनी जग्गामा भवन बनाउने भनेता पनि ९ मात्र रोपनी भएकोले क्षेत्रफल बढाएर मात्र भवन बनाउने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताउनुभयो । 

सुनसान बल्खु 

महाभूकम्पको कारणले एमाले मुख्यालय भत्किएपछि सुनसान भएको छ । पार्टी भत्किएपछि एक पटक काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य सहितको केन्द्रीय बैठक बसेको थियो । यस्तै एमाले र माओवादी केन्द्र बिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को घोषणा पनि मदन नगर बल्खुबाट नै २०७५ जेठ ३ गते मदन–आश्रित स्मृति दिवसको दिन भएको थियो । त्यसयता पार्टीको कुनै पनि कार्यक्रम मदन नगर बल्खुमा भएको छैन । 

मदन नगर बल्खुमा रहेको पुरानो एमाले कार्यालयको ठिक अगाडि रहेको भण्डारीको सालिक भने अहिले पनि जस्ताको त्यस्तै छ । त्यो सालिकको ठिक पछाडि रहेको रातो रङ्गको कार्यालय भवनको सम्पूर्ण भौतिक संरचना हटाइएपछि त्यो ठाउँ खाली मैदानमा परिणत भएको छ । मदन–आश्रित स्मृति दिवसमा बाहेक मदन नगर बल्खुमा कोही पनि नेता पुग्ने गरेका छैनन् । स्मृति दिवस र मदन भण्डारी जयन्तीका दिन पार्टीका शीर्ष नेताहरु माल्यार्पण गर्ने गरेका छन् । 

यस्तै २०७७  पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा नेता पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल र माधवकुमार नेपाल पुस ९ गते बल्खु पुगेर मदन भण्डारीको यही सालिकमा माल्यार्पण गरेका थिए । 

अहिले मदन नगर बल्खुमा काठमाडौँ क्षेत्र नं. ९ को क्षेत्रीय कार्यालय, काठमाडौ नपाको १४ वडा कार्यालय, बागमती प्रदेश अखिल नेपाल महिला सङ्घको कार्यालय रहेको छ । 

यस्तै पार्टीकै बन्द भएको नवदुर्गा अपसेट प्रेस पनि त्यही रहेको एमाले कार्यालयले जनाएको छ ।  

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १० : ५४ बजे