दोहोरो नागरिकता भएका गृहमन्त्री र विदेशीसँग विवाह गर्ने मन्त्रीको छानबिन स्वागतयोग्य : भीम रावल

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपालको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले गरेको छानबिन स्वागत योग्य भएको टिप्पणी गर्नुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संविधान विपरीत विदेशी नागरिकता वा आवासीय अनुमतिपत्र लिएका व्यक्तिहरू सार्वजनिक पदमा बहाल रहेरनरहेको खोजबिन गर्न सरकारलाई निर्देशन दिएपछि रावलको यस्तो टिप्पणी आएको हो ।

मंगलबार सामाजिक सञ्जालमार्फत रावलले दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री रवि लामिछाने र विदेशी पत्रकारसँग विवाह गरेकी शिक्षामन्त्री सुमना श्रेष्ठ बारेमा छानबिन गर्नुपर्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभएको छ, ‘दुई देशको नागरिकता र राहदानी भएका गृहमन्त्री र पोल्याण्डका पत्रकार पावेल स्काविन्स्किसँग विवाह गर्ने शिक्षामन्त्रीलगायत विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपाल राज्यको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला यस्ताको छानबीन हुनुपर्ने अख्तियारको कुरा स्वागतयोग्य छ।’

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ९ : ३९ बजे