एमालेकाे काठमाडौँ जिल्ला अधिवेशन : नयाँ नेतृत्वका लागि निर्वाचन सुरु

काठमाडौँ। नेकपा (एमाले) काठमाडौँको नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । यही जेठ २६ गतेदेखि जारी रहेको काठमाडौँ जिल्लाको सातौँ अधिवेशनमा निर्वाचनका लागि प्रक्रिया सुरु भएका हो ।

नयाँ नेतृत्वका लागि अध्यक्ष दिपक निरौला र निर्मल देउलाबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै उपाध्यक्ष विश्वराम सापकोटा, नवराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्का, सचिवमा राजेश शाक्य र सत्यनारायण डंगोल, उपसचिव खुल्ला: उद्धव भण्डारी र गुञ्जामान सिंह बस्नेतबीच प्रतिस्पर्धा हुँदै छ ।

महिला उपसचिवमा विन्दु महर्जनले सर्वसम्मत निर्वाचित हुनु भएको छ । ५८५ जना प्रतिनिधिको सहभागिता रहेको अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित २२५ जनाको नयाँ कमिटी निर्वाचित गर्ने छ । १३० पदका लागि निर्विरोध निर्वाचित भइसकेको छ ।

अव ९५ पदका लागि मात्र निर्वाचन हुने छ ।

नयाँ नेतृत्वका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने छ । राम–लक्ष्मण इनोभेसनको भोटिङ मेसिन प्रयोग गरिने छ । “मेसिन तयारी अवस्थामा राखेका छौ । अव निर्वाचन समितिबाट नाम आउने बित्तिकै अबको १५–२० मिनेटमा निर्वाचन प्रक्रिया सुरु गर्दछौ” इनोभेसनका निर्देशक लक्ष्मण रिमालले भन्नुभयो।

उहाँका अनुसार निर्वाचनमा ३६ मेसिन प्रयोग गरिने छ । ३८ कलस्टरमा ९५ पदका लागि १९५ जना उम्मेदवार रहेका छन् । भोटिङमा मेसिनमा उम्मेदवारको फोटो सहित राखिने र एक जनालाई ९५ जना उम्मेदवार छान्दा आधा घण्टा लाग्ने उहाँले बताउनुभयो । उहाँले निर्वाचन सुरु भएको पाँच घण्टामा मतदान सकिने र प्रारम्भिक नतिजा एक घण्टा आउने बताउनुभयो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : ३१ बजे