गठबन्धनको मुुटुमै चस्का दिएको गण्डकीको ‘विश्वासको मत’ 

काठमाडौँ। गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । सबैभन्दा ठूलो भएर पनि बहुमत पुग्नै नसक्ने अवस्थामा गण्डकीमा कांग्रेसका सांसद समेत रहनुभएका पाण्डेले विश्वासको मत पाएको घटनाले यतिबेला राजनीतिक वृत्त रन्किएको छ । 

विशेषत: माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टी (बाबुराम भट्टराई) का सांसदले फ्लोर क्रस गरेर कांग्रेसका मुख्यमन्त्रीलाई मत दिनुको कारणबारे सघन बहस चलेको हो । त्यसो त माओवादीले आफ्ना सांसदलाई विपक्षमा मतदान जारी गर्न ह्वीप जारी गरेको थियो । यता, सत्ताबाट टाढिएको जस्तो देखिएको राप्रपा समेत कांग्रेसलाई जिताउन लागि परेको घटनासमेत बहसमा आएको हो । 

राजनीतिक चस्काको अभ्यास र त्यसको पुनरावृत्ति

राष्ट्रियसभाको निर्वाचनका समय कोशी प्रदेशमा तत्कालीन माओवादी र कांग्रेसबीचको समीकरणमा चस्का दियो। कारण थियो कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाको विजय र माओवादी उम्मेदवार  तारा कार्कीको पराजय ।

यही जगबाट सुरु भएको कांग्रेस माओवादीको समीकरण केही समयको अन्तराल पछि भत्कन पुग्यो। त्यसबेला माओेवादीका नेता तथा कार्यकर्ताले भनेको थिए –  कांग्रेसले यसमा सरासर बेइमानी गर्‍यो । अर्थात् सहमतिको पालना गरेन । कांग्रेसका उम्मेदवारलाई मतदान गर्‍यो तर, माओवादीका उम्मेदवारलाई गरेन। 

यो घटनाको साइड इफेक्ट बढ्दै गएर समीकरणमा चस्का मात्र पसेन तोडियो नै । यसलाई माओवादीले आफूमाथि कांग्रेसले गरेको बेइमानीका रुपमा लियो। अहिले माओवादी आफैले कांग्रेसलाई लगाएको यो आरोप आफैतिर फर्किएको छ, गण्डकीमा विश्वासको मत प्रकरणबाट । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गर्न सफल हुनुभयो  । उहाँले  विश्वास जित्नुका पछाडि प्रमुख पात्र हुनुहुन्थ्यो माओवादीको चुनाव चिन्हबाट सांसद बन्न सफल हुनुभएका फणिन्द्र देवकोटा । उहाँको एक भोट पाएपछि पाण्डेले विश्वासको मत पाउनु  भयो । बाबुराम भट्टराई नेतृत्वको नेसपाका नेता भए पनि देवकोटाले माओवादीको चुनाव चिन्हबाट प्रदेश सांसद बन्न पाउनुभएको हो ।

यस अघि संविधानको धारा १६८ (२) बमोजिम सभामुखको संलग्नतामा नेकपा एमालेका खगराज अधिकारीको पक्षमा बहुमत घोषणा हुँदा विश्वासको मत दिनुभएको फणिन्द्रले सबैलाई आश्चर्य बनाउँदै पाण्डेको पक्षमा मतदान गर्नुभयो। 

ह्वीप जारी हुने र कारबाही हुन सक्ने जोखिमकाबीच सुरेन्द्रराजको पक्षमा फणिन्द्र किन उभिनुभयो ? यो विषयले अहिले विभिन्न तर्क र चर्चा भइरहेको छ । 

यता, कुनैपनि  सरकार बनाउने र भत्काउने खेलमा लाग्दिन भनेर  सुकिलो लुगा लगाएको जस्तो देखिएको राप्रपाको यो प्रदेशमा आएर  त्यो वस्त्र हराएको छ।  

चुनावपछि कांग्रेससहित पाँचदलीय गठबन्धन तोडेर प्रचण्डले एमाले, राप्रपासहितको गठबन्धन बनाएपछि राप्रपा सरकारमा सहभागी थियो । २०७९ माघ ३ गते राजेन्द्र लिङ्देन ऊर्जा मन्त्री नै बन्नुभएको थियो  । गण्डकीमा पनि खगराज अधिकारी सरकारमा राप्रपा सांसद पञ्चराम तमु मन्त्री समेत बन्नुभयो ।

२०७९ फागुन १२ गते कांग्रेससँग गठबन्धन गरी पुनः प्रधानमन्त्री बनेपछि केन्द्रदेखि प्रदेशसम्म राप्रपा सरकारबाट बाहिरियो । त्यसपछि विपक्षमा बसेको राप्रपाले सत्ता फेरबदलको खेलमा कोशीमा सभामुख पायो । सरकार र अन्य पदमा जाने कि नजाने भन्ने बहसका बीच राप्रपाले गत फागुनमा ४० बुँदे ज्ञापनपत्र बुझाउँदै आन्दोलनका कार्यक्रम घोषणा गर्‍यो ।

सरकारले पूरा नगरेको भन्दै सदनदेखि सडकसम्म तनाउने राप्रपाको तयारीकै बीच प्रचण्ड फेरि एमालेसहितकै गठबन्धनमा फर्किनुभयो । तर, राप्रपाभित्र सरकारमा नजाने बरु सडक आन्दोलन र जनतासँग जाने मत चर्कोसँग उठ्यो ।

 राप्रपाको पदाधिकारी बैठकले चैत २१ गते प्रदेशहरुमा सत्ता गठबन्धनहरुलाई समर्थन नगर्ने बरु विपक्षी दललाई साथ निर्णय नै गर्‍यो । तर, गतिलो भागबण्डा पाउने भए पछि राप्रपले गण्डकीमा कांग्रेसलाई साथ दियो । 

सर्वोच्चको आदेश बमोजिम वैशाख १६ गते मुख्यमन्त्री नियुक्ति हुन् भएका सुरेन्द्रराजलाई भने राप्रपाले विश्वासको मत दिएको छ । प्रदेश तह नै खारेज हुनुपर्ने माग गर्ने राप्रपा सुरेन्द्रको मोहजालमा कसरी पर्‍यो? प्रश्न गम्भीर छ । 

‘कार्यसम्पादन समितिको बैठकले नै केन्द्रीय सत्ता गठबन्धनलाई बल पुग्ने गरी राप्रपाले कुनै पनि प्रदेशमा सहयोग नगर्ने, सरकारमा नजाने तर विपक्षी दलहरु भएका ठाउँमा राप्रपाको आवश्यकता पर्‍यो भने प्रदेश समितिसँग परामर्श गरी निर्णय लिने सक्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको थियो’, केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो , ‘विपक्षीलाई साथ दिने सुरुआत त हामीले सुदूरपश्चिमबाटै गरेका थियौं तर त्यो सफल भएन  । गण्डकीमा भयो ।’

गठबन्धनबीच सहमति हुँदा एमालेको भागमा जति  प्रदेशका मुख्यमन्त्री परे त्यो पाउन धेरै चुनौतीको सामना गर्नु परेको छ र गण्डकी प्रदेश त माओवादी सांसदकै कारण गुमेको छ। सत्ता समीरणमा एमाले बाहेकाका अरुका भागमा परेको प्रदेशशका मुख्यमन्त्रीलाई तनाव छैन। एमालेको भागमा परेको कोशीमा मुद्धा मामिलाको झमेला छ। कर्णलीमा पनि कष्टपूर्ण समस्या  एमालेले झेल्नु पर्‍यो।

एमालेको भागमा परेको गण्डकी त माओवादीका कारण गुमाउनै पर‍्‍यो। त्यसैले हिजो माओवादीलाई कोशीमा कांग्रेसले दिएको चस्काको पुनरावृत्ति गण्डकीमा भएको छ। यसको तरंगहरू कस्तो रहला, त्यो आगामी दिन देखिँदै जाला।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  ८ : ०० बजे