देश विकास एमालेबाट मात्र सम्भव छ: ईश्वर पोखरेल

काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भारतसँगको खुला सीमा व्यवस्थित गर्नुपर्ने बताउनु भएको छ। पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहेका उहाँले ठुलो जनसङ्ख्या भएको देश भारतसँग खुल्ला सीमाका कारण अपराधजन्य घटना हुनसक्ने भएकाले सुरक्षा दृष्टिले सीमालाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो।

नेकपा एमाले मकवानपुरको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले एमाले नेपाललाई विभाजित गर्ने चिन्तनको विपक्षमा रहेको टिप्पणी गर्नुभयो। पहिचानको नाममा आगो सल्काउनेहरूको विपक्षमा एमाले रहने र पहिचानको मुद्दामा एमालेका नेता कार्यकर्ता प्रस्ट हुन आवश्यक रहेको उहाँले बताउनुभयो।

एमालेका नेता कार्यकर्ताहरू नयाँ ढङ्गबाट अघि बढ्नु पर्ने वरिष्ठ उपाध्यक्ष पोखरेल बताउनुभयो। उहाँले भन्नुभयो, ‘राजनीति अधिकार प्राप्तिको लागि हिजो लड्यौ । अब उत्पादन र विकास निर्माण रोजगारी तथा सामाजिक सुरक्षाका सवालमा काम गर्नुपर्छ । एमाले भ्रष्टाचार विरुद्धका सवालमा एजेन्डा बनाउनुपर्छ।’

एमालेले भनेको मिसन ८४ राजनीति स्थिरताको लागि रहेको उहाँले प्रस्ट पार्नुभयो । राजनीतिक अस्थिरताको कारण उत्पादन र आर्थिक समृद्धिको विषय पछि परेको उहाँको भनाई छ।

मुलुकलाई विकासको गतिमा डोर्‍याउन एमालेले मिसन ८४ को एजेन्डा अघि बढाएको उहाँले बताउनु भयो। ‘राजनीतिक अस्थिरताका कारण जनताको जीवनस्तर सुधारका काम गर्न सकिएन । अरू पार्टीले बहुमत ल्याएर देश बनाउन सक्दैन । बिगार्ने मात्र हो । देश विकास एमालेबाट मात्र सम्भव छ ।’ उपाध्यक्ष पोखरेलले भन्नुभयो।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ९ : १७ बजे