साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिरोहिया केसमा छोरा सम्भवको इन्ट्री, गृहमन्त्री रविलाई ओपन च्यालेन्ज

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रकरण कहाँ पुग्यो? यो प्रश्न यतिबेला टड्कारो रूपमा उठान भैरहेको छ । हुनत उहाँलाई नागरिकता कीर्तेको अभियोगमा पक्राउ गरिएको थियो र प्रहरीले अनुसन्धान समेत गरेको हो । तर स्वास्थ्य अवस्था बिग्रिएकाले कैलाश सिरोहियालाई काब्य अस्पताल हुँदै मेडिसिटीसम्म ल्याइ पुर्‍याइँदा अदालतले हाजिरी जमानीमा छोड्ने आदेश दियो । अहिले हिरासतमा बस्नु नपरे पनि कैलाश सिरोहियाको प्रकरण सेलाएको भने छैन । 

कैलाश पक्राउ पर्नु अघिसम्म कान्तिपुर मिडियामा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा जोडिएको अनेकन तथ्यसहित निरन्तर समाचार आइरहेका थियो । अहिले त्यसमा विराम नै लागिसक्यो । धेरैले यसलाई गृहमन्त्री रवि र कैलाशबीच एकअर्कालाई आक्रमण नगर्ने भद्र सहमतिको अर्थमा बुझिरहेका थिए ।  कैलाशलाई वंशजको नागरिकता दिने तत्कालिन सीडीयो र अधिकृत विरूद्ध पक्राउ पूर्जी जारी भए पनि यो प्रकरण सेलाएको देखिँदा यो अड्कल सही नै हो भन्ने अर्थ लाग्यो । 

तर शुक्रबार भने कैलाश प्रकरणमा छोरा सम्भव सिरोहियाको इन्ट्रीले भने नयाँ ट्विस्ट ल्याइदिएको छ । 

आफ्नो क्याबिनमा एउटा खुट्टामाथि अर्को खप्टाएर भिडियो सन्देशमार्फत सम्भवले गृहमन्त्री रवि लामिछानेलाई ओपन च्यालेञ्ज नै गर्नुभयो । सामाजिक सञ्जालमा कमेन्ट अफ गरेर सार्वजनिक भएको ८ मिनेट १४ सेकेन्डको भिडियोमा सम्भवले  भन्नुभएका कुराहरू यतिबेला चर्चित छ । 

सामान्यता कुनै आरोप लागेमा त्यसको खण्डन गर्नु स्वाभाविक चलन हो । तर सम्भवको भिडियोमा कैलाशको नागरिकता कीर्ते नभएको दलील भन्दा बढी गृहमन्त्री रवि लामिछानेले आफ्नो ठगी प्रकरण लुकाउन सेटिङ गर्न नमानेको भन्ने गम्भीर आरोप लगाइएको छ । 

सहकारीको बचत अपचलनबारे लगातार लेख्दै आएको कान्तिपुर मिडिया ग्रुपलाई समाचार लुकाइदिन लामिछानेले आग्रह गरेको र सो नमानेपछि अध्यक्ष सिरोहिया पक्राउ परेको सम्भवले ठोकुवा गर्नुभयो । 

तर सम्भवले आफ्नो बाबुको धनुषाबाटै जारी नागरिकताको ३९६९८८८६ नम्बरको नागरिकतामा शिवजी साहु रोसीको अभिलेख किन भेटियो त्यसको जिकिर गर्नुभएको छैन । 

कैलाश सिरोहियाले २०५७ साल असोज २९ गते नागरिकताको प्रतिलिपी लिँदा जिल्ला प्रशासन कार्यालयको धनुषाको रेकर्ड पुस्तिकामा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत गरेको नपाइएको, जन्म मितिको महलमा १८ वर्ष उमेर उल्लेख गरेको पाइएको उक्त रेकर्डमा जन्म मिति उल्लेख नरहेको विषयमा समेत केही बोल्नुभएको छैन । 

कैलाशले पहिलोपटक नागरिकता लिनुहुँदा जन्म मिति २०३६ साल भदौ महिना २५ गते लेखेको तर जन्म मिति महलमा १८ वर्ष उल्लेख गर्नुभएको थियो । उहाँको जन्ममिति २०१९ मंसिर २९ गते रहेको अरू कागजातबाट पुष्टि हुन्छ । यो हिसाबले नागरिकता लिँदा १६ वर्ष ८ महिना हुने भए पनि १८ वर्ष उमेर लेखिनुले त्यहाँ कीर्तेको गुञ्जायस देखिन्छ यसमा समेत सम्भवको कुनै प्रष्टीकरण छैन । 

यी विषयलाई अनदेखा गर्नुभएका सम्भवले बरू सिडियोसँग भएको नागरिकताको नम्बर मिलेको डकुमेन्ट राष्ट्रिय स्वतन्त्र पार्टीका नेताको हातमा कसरी पुग्यो रु भन्दै रवि र उनको पार्टीलाई विवादमा मुछ्नुभएको छ । यतिमात्रै होइन प्रहरीले अनुसन्धान नै नगरेको र झुटो मुद्दा फाइल गरेको समेत उहाँको आरोप छ । 

यो त भयो आरोपको पाटो ।

सम्भवले केही बाँझिएको अभिव्यक्ति समेत दिनुभएको छ । 

व्यवस्थापनले समाचार लेख्दैन भन्ने सम्भवको भनाई रहको छ । तर कैलाशको पक्राउलाई प्रेस स्वतन्त्रता हनन् भनेर उहाँकै नेतृत्वमा रहेको मिडियामा लेख्ने र प्रसारण गर्ने काम भएको तथ्य छर्लङ्ग छ । 

आफ्नो मिडिया सम्पादकीय स्वतन्त्रता छ भने पनि अनुसन्धानका लागि पक्राउमा लिएका व्यक्तिको समर्थनमा मिडिया माहोल बनाउने काम कसैबाट लुकेको छैन । यस्तै आफ्नो मिडियाले सेटिङमा समाचार लेख्दैन भन्ने सम्भवको भनाईबारे पनि सामाजिक सञ्जालमा थुप्रै बहस छेडिएका छन् । 
अन्य विषय एकातिर होला, तर मिडिया व्यवसायबाट धनाढ्य बन्नुभएका कैलाश सिरोहियाको प्रकरण के होला भन्ने चासो अझै सर्वत्र रूपमा व्याप्त छ । अझ सम्पत्ति शुद्धीकरण विभागले समेत कैलाशको कमाइको स्रोत खोज्ने भएकाले यो विषय यत्तिकै सेलाउन कठिन छ ।

तत्कालका लागि यो विषयमा गृहमन्त्री रवि लामिछाने रक्षात्मक भए पनि यो प्रकरण उहाँको राजनीतिक भविष्यसँग समेत जोडिएको छ । यो हदको गम्भीर विषय यत्तिकै सेलाए यो प्रतिशोधको उपज भन्दा बढी केही होइन भन्ने पुष्टि हुनेछ । तर घटनाको अनुसन्धान पूरा भएर कैलाश दोषी हुनुहुन्छ कि निर्दोष साबित भए यो दुबै पक्षको लागि विन–विनको अवस्था हुनेछ । अन्यथा फेरि यो अर्को सेटिङको जालोको रूपमा नेपाली इतिहासले सधैँ सम्झने छ । 

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ७ : ०७ बजे