फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्दा गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । सोमबार प्रदेशसभामा उहाँले ३१ सांसदको मतसहित विश्वासको मत पाउनुभएको हो ।  विपक्षमा २८ मत परेको छ ।

उहाँलाई नेपाली कांग्रसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दुई, माओवादीको चुनाव चिह्वबाट निर्वाचित गण्डकी प्रदेशसभामा  नेसपा सांसद फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले मत दिनुभएको हो ।  देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद हुनुहुन्छ । माओवादीको चुनाव चिन्ह लिएर उहाँ सांसद बन्नुभएको हो । 

आजको मतदान प्रक्रियामा ५९ सांसद उपस्थित थिए । यससँगै संविधानको धारा १६८ (३) अनुसार नियुक्त भएका मुख्यमन्त्री पाण्डेले बहुमत पाउनुभएको हो । 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ५ : १२ बजे