माधव नेपालको वैचारिक अवसान: न रह्यो जबज, न बच्यो सङ्गठन  

काठमाडौँ। राजनीतिमा सिद्धान्त आवश्यक हुन्छ, अनि आवश्यक हुन्छ सङ्गठन । यी दुबैको अभावमा दलको रूपमा दर्ता भए पनि केही व्यक्तिको स्वार्थ साँध्ने भिड भन्दा बढी केही हुन सक्दैन । 

पछिल्लो समय नेपाली राजनीतिमा सिद्धान्त भन्दा पनि व्यक्तिवादी चरित्र हावी हुन थालेको छ । यो चरित्रको फैलावट यसरी बढ्न थालेको छ कि व्यक्तिगत 'इगो' लाई पार्टीको मार्गदर्शक सिद्धान्त समेत च्यातेर फाल्न उक्साइरहेको छ । यसको ज्वलन्त उदाहरण बनेको छ, माधवकुमार नेपाल नेतृत्वको नेकपा एस । 

नेकपा एमाले पार्टी फुटाए पछि नेता नेपालले जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाल (जबज) लाई पार्टीको सिद्धान्तको रूपमा राखिरहनुभयो । यसैमार्फत आकारमा सानो भए पनि पटकपटक सत्तामा पुग्ने भर्‍याङ पनि यही सिद्धान्त बनिरह्यो । तर, पछिल्लो समय विकसित नयाँ घटनाक्रमका कारण नेता नेपालको प्रधानमन्त्री बन्ने चाहना तुहिए पछि उहाँ जबज सिद्धान्तको विरोधी कित्तामा पुग्नुभएको छ । 

जबज र माधव नेपाल

एमालेको पाँचौँ महाधिवेशनमा जननेता मदन भण्डारीका सबैभन्दा नजिक हुनुहुन्थ्यो माधव नेपाल । सीपी मैनाली नौलो जनवाद लिएर हिम्मतसाथ प्रतिस्पर्धा गर्न तयार हुँदा  त्यस बेलाको अल्पमतमाथि आक्रामक रूपमा प्रस्तुत हुनुभएका माधव  नेपालको प्रभाव सम्झनलायक छ । यतिसम्म कि माधव नेपालकै चाहना अनुरूप चलेको भए सीपी मैनाली पोलिटब्युरो सदस्य समेत हुनु हुने थिएन।

मदन भण्डारी महासचिव हुनुभएकाले धेरै अल्पमतमा परेका नेताहरूले पोलिटब्युरोमा भाग पाएका थिए। त्यस बेला मदनभण्डारी अल्पमतलाई अवसर दिने विचारलाई आत्मसाथ नगर्नुभएको भए एमालेको यति मजबुत हुने थिएन। त्यही समझदारीले एमालेको आकार विशाल हुन सक्यो र मजबुत पार्टीको रूपमा आज पनि नेपाली राजनीतिमा छ । 

नेकपा एसका नेता माधव नेपाल जबजबादी भएर १५ वर्ष एमालेको महासचिव बन्नुभयो।  एमालेबाट अलग भएर  नेकपा एस खोल्नु अघिल्लो दिन सम्म उहाँले जबजकै व्याख्या  गर्नुभयो। 

त्यो बेला धेरैलाई लाग्यो, जबजको लाइनमा हिँड्ने नेता को हो?  केपी शर्मा ओली कि माधव नेपाल? त्यो बेला कार्यकर्ताले एउटा सहज निर्णय गरे- वास्तवमा जनताको बहुदलीय जनवादको कोही उत्तराधिकारी हो भने त्यो केपी शर्मा ओली नै हो। त्यसपछि पार्टीको पुरै तप्काले एमाले छोडेनन्। 

तर, एमालेबाट विद्रोह गरेका माधव नेपालले आफूलाई जबजको असरी उत्तराधिकारी भएको भन्दै कार्यकर्ताको ध्यान आफूतर्फ तान्ने प्रयास गरिरहनुभयो। करणी र कथनी फरक देखियो, सोहीकारण माधवको प्रयास सफल भएन।  

वामपन्थी शक्तिलाई भावनात्मक रूपमा जोडिरहने तीन मुख्य कुरा हुन्- मदन भण्डारी, सूर्य चिह्न र जनताको बहुदलीय जनवाद । यी तीन कुरालाई माओवादीले पनि अस्वीकार गर्न सकेन ।

 त्यसेले एमालेसँगको  एकीकरणमा जबजलाई थाँती राख्ने भनिए पनि साबिक नेकपाको कार्यक्रम जनताको जनवादमा उल्लेखित  अधिकांश विषय ‘जबज’ कै कपि पेस्ट थिए। ।

एमालेमा आन्तरिक विवाद हुँदा अध्यक्ष ओलीको विरोध गर्ने क्रममा हाल नेकपा एसमा रहनुभएका घनश्याम भुसालले ओलीपक्षका धेरै नेताले जबज नै नपढेको भन्दै आलोचना गर्नुहुन्थ्यो । जबजलाई मुलमन्त्र मानेर अध्यक्षको निरन्तर विरोध गर्ने भुसाल आज भने जबजको विरोधमा कुम उफार्न थाल्नुभएको छ । 

इतिहास जबजको 

​​​​​​​२०४९ साल माघमा एमालेको पाँचौँ महाधिवेशनमा मदन भण्डारीले पेस गर्नुभएको कार्यक्रम नै जबज थियो, जसले  एमालेलाई संसदीय व्यवस्थामा स्थापित मात्र गरेन, सत्तामा समेत पुग्ने बाटो खुल्यो । जबज आधुनिक समाज सुहाउँदो सिद्धान्त रहेकोमा त वामपन्थी विरोधी पनि सहमत छन् ।

जबज पारित भएको एक वर्षमै मदन भण्डारी र जीवनराज आश्रितको दासढुंगामाा जीप दुर्घटनामा निधन भयो । मदनको निधनपछि जबज र उहाँको  व्यक्तित्वको व्याख्या झनै धारिलो ढङ्गले भइरहेको छ। यही वैचारिक आधार टेकेर माधव नेपाल १५ वर्ष महासचिव र प्रधानमन्त्री बन्नुभयो ।   

पूर्वी युरोपमा परम्परावादी चिन्तानका कारण कम्युनिष्ट सत्ता धमाधम ढलेको अवस्थामा नै मदनले जबजको प्रतिपादन गर्नुभएको हो । एकतन्त्रको म्याद सकिएकै समय आएको यो दर्शनले 'बहुमतको  शासन, अल्पमतको प्रतिपक्ष', 'जनतामा निहीत सार्वभौमसत्ता', 'प्रतिस्पर्धामा  श्रेष्ठता' जस्ता उत्कृष्ट लोकतान्त्रिक कार्यक्रम अगाडि  सारेका कारण पनि यो सिद्धान्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चित बन्यो । माधव नेपालले यही सिद्धान्तका कारण सत्ता पुग्ने अवसर पाउनुभयो ।

तर, सत्ता स्वार्थका कारण पार्टी फुटाउनुभएका माधवकुमार नेपालले अब जबजबाट शक्ति आर्जन गर्न नसक्ने देखेपछि अहिले जबजको परित्याग मात्रे होइन, विरोध नै गर्न थाल्नुभएको छ । नेकपा एसको आगामी महाधिवेशनका लागि पारित राजनीतिका कार्यदेशमा समेत औपचारिक रुपमा जबज परित्यागको प्रस्ताव छ। 

राजनीतिमा विचार प्रधान हो । आफूले मान्दै आएको सिद्धान्त परित्याग गर्नुभएका माधवको वैचारिक अवसान भएको देखिन्छ।  पार्टीका लागि कि विचार चाहिन्छ र अनि संगठन चाहिन्छ । नेकपा एसले जबज परित्याग गरेकाले विचारको अभाव छ नै संगठन निर्माण त नेकपा एसको प्राथमिकतामा परेको थिएन । अब यस पार्टीमा  मात्र बाँकी माधव नेपाल र घनश्याम भुसालको खोक्रो दर्शन । 

 

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  ११ : ३७ बजे