साफ यू–१७ च्याम्पियनसिप आजदेखि

छ पत्रकार सङ्गठनले भने,– “ पत्रकार महासङ्घको समयमा नै निर्वाचन हुन नसक्नु नेतृत्वको क्षमतामा प्रश्न”

काठमाडौँ, । नेपाल पत्रकार महासङ्घको नयाँ तोकिएको मितिमा नै निर्वाचन गर्न छ वाम पत्रकारहरूका सङ्गठनले माग गरेका छन् । 

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा,  समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदी, जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा क्रान्तिकारी प्रेस सङ्गठनका अध्यक्ष कमल बुढा र प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोखरेलले विज्ञप्ति जारी गर्दै महासङ्घको निर्वाचन तोकिएको समयमा सम्पन्न गर्न माग गरेका छन् । 

“पत्रकार महासङ्घको निर्वाचन समयमा हुन नसक्नुले पत्रकारहरूमा महासङ्घको मूल नेतृत्वको निर्णय क्षमतामाथि प्रश्न उठेको मात्रै छैन महासङ्घ नेतृत्व महासङ्घलाई अमुक सङ्गठनको छायाँ संस्थामा परिणत गर्न चाहन्छ भन्ने प्रमाणित भएको छ” उहाँहरूले जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

पत्रकार महासङ्घको २७ औँ महाधिवेशनले केन्द्र, प्रदेश र जिल्ला शाखा/एशोसियट समितिको निर्वाचन हिजो जेठ  २६ जेठ हुनुपर्ने थियो  । 

पत्रकार महासङ्घको सदस्यताको विषय शुद्धीकरण मापदण्ड, जिल्ला र प्रदेशको सर्वसम्मति, सङ्गठनका अध्यक्षहरूबिच भएको भद्र सहमतिसहित शुद्धीकरण कार्यदलले दिएको प्रतिवेदनको आधारमा सक्रिय पत्रकार नछुट्ने गरी टुङ्गो लगाउन समेत माग गरेका छन् । 

छ पत्रकार सङ्गठनले  पत्रकार महासङ्घको नेतृत्वलाई यही जेठ ३२ गतेभित्र मतदाताको नामावली निर्वाचन समितिमार्फत सार्वजनिक गरी निर्वाचन प्रक्रिया सुरु गर्न समेत आग्रह गरेका छन् । 

ती सङ्गठनहरूले पत्रकार महासङ्घको गरिमा, गौरव र जिम्मेवारीलाई कायम राख्दै  कानुनी वैधानिकता कायम गर्नको लागि महासङ्घको निर्वाचन सम्पन्न गर्न आवश्यक सहमतिको वातावरण निर्माण गर्न तथा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् । 

पत्रकार महासङ्घको सुर्खेतमा सम्पन्न (२०७९ पुस ८–९) साधारणसभाबाट पत्रकार महासङ्घलाई वास्तविक पत्रकारको संस्थाको रूपमा विकास गर्ने उद्देश्यका साथ शुद्धीकरण समिति गठन गरी १५ बुँदे शुद्धीकरण मापदण्ड सार्वजनिक गरिएको थियो । सो मापदण्डका आधारमा शुद्धीकरण गरी पत्रकार महासङ्घको सदस्यता अभिलेखीकरण गर्न सर्वपक्षीय सहमति भएको गरेको थियो । 

“तोकिएको समयावधिमा महासङ्घले आफ्नो कर्तव्य पुरा नगरेको कारण तोकिएको समयमा निर्वाचन नहुने परिस्थिति सिर्जना भएको हो । यसको जिम्मेवारी महासङ्घको मूल नेतृत्वले लिनु पर्दछ” विज्ञप्तिमा भनिएको छ, “महासङ्घले आफ्नो आधिकारिक तथ्याङ्क र धारणा सार्वजनिक गर्न नसकेपछि महाधिवेशन नै हुने÷नहुने अनिश्चितता हुँदै गएको बेला सङ्गठनहरूकै पहलकदमीमा २७ औँ महाधिवेशन सफलताका साथ सम्पन्न भएको र जेठ २६ गते निर्वाचन गर्ने मिति तय भएको थियो । अन्तिम अवस्थासम्म पुग्दा पनि महासङ्घले सदस्यताको आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न नसक्दा तोकिएको समयमा निर्वाचन हुन नसकेको यथार्थ छर्लङ्ग छ ।”

 

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  २ : ४५ बजे