‘एउटै नाउरको सिकार गर्न २३ लाख’

हमासको कैदबाट इजरायलका ४ बन्धक मुक्त

काठमाडौं । इजरायलले हमासको कैदबाट ४ जना बन्धकलाई मुक्त गरेको छ ।

इजरायलले शनिबार आफ्नो सेनाले गाजाको नुसिरत क्षेत्रमा गोलीबारीका बीच यो कारबाही गरेको दाबी गरेको छ । इजरायलीहरूलाई मुक्त गर्ने अभियानमा ५० प्यालेस्टाइनीको मृत्यु भएको मिडिया रिपोर्टमा बताएको छ ।

उद्धार गरिएका बन्धकहरूमा नोआ अर्गामानी नामकी २५ वर्षीया युवती पनि हुनुहुन्छ, जसलाई हमास लडाकुहरूले जबरजस्ती मोटरसाइकलमा लगेका थिए । अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणपछि नोआको भिडियो भाइरल भएको थियो । नोआ बाहेक तीन युवा हमासको बन्दीबाट मुक्त भएका छन् ।

इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले बन्धकहरूलाई उद्धार गर्ने अभियान निकै कठिन र जोखिमपूर्ण रहेको बताउनुभयो ।

हमासले इजरायली नागरिकहरूलाई मध्य गाजाको नुसिरत क्षेत्रमा दुई फरक ठाउँमा लुकाएर राखेको थियो । उहाँहरुको रिहाईका लागि सेनाले जमिन, हवाई र समुद्रबाट आक्रमण गरेको थियो । उहाँहरु हमासको अपहरणमा परेको २४६ दिनपछि रिहा हुनुभएको हो ।

इजरायलको वाईनेट मिडिया हाउसका अनुसार, प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री योभ गालान्टले बिहीबार साँझ मध्य गाजाको नुसिराटबाट चार बन्धकहरूलाई उद्धार गर्ने अभियानलाई अनुमोदन गर्नुभएको थियो । यसका लागि उहाँले युद्ध मन्त्रिपरिषद् र सुरक्षा मन्त्रिपरिषद्को बैठक पनि रद्द गर्नुभएको थियो ।

प्रधानमन्त्री नेतन्याहु आफैले शिन बेट सेक्युरिटी सर्भिसको वार रुमबाट यस मिसनको गतिविधिको बारेमा क्षण-क्षण जानकारी लिइरहेको बताइएको छ ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले यसको पुष्टि गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै गाजापट्टीबाट ४ जना बन्धकको रिहाइमा इजरायल निकै खुसी भएको लेख्नुभएको छ ।

यसअघि इजरायलले फेब्रुअरीमा अपरेसनका क्रममा दुई जना बन्धकलाई उद्धार गरेको थियो । अहिलेपनि १२० जनाभन्दा बढीलाई हमासले बन्धक बनाएको बताइएको छ । उहाँहरुको अवस्थाको बारेमा अहिलेसम्म स्पष्ट जानकारी उपलब्ध भएको छैन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आइतबार  ११ : २७ बजे