यस्तो छ आजको विनिमय दर

‘संसद् विघटन गरेकै कारण एमाले अहिले अस्तित्वमा छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रसंग बारे फेरि बोल्नुभएको छ ।

शनिबार काठमाडौंको भृकुटीमण्डपमा काठमाडौं जिल्लाको सातौं अधिवेशनमा बोल्दै ओलीले पार्टीभित्रकै केही व्यक्तिहरूले पार्टीलाई दक्षिणपन्थी शक्तिको पाउँमा बुझाउने देखेपछि आफूले संसद विघटन गरेको बताउँदै संसद विघटनको प्रसंग फेरि उठाउनुभएको हो ।

उहाँको यो संकेत तत्कालीन नेकपाका अध्यक्ष रहनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधवकुमार नेपालप्रति लक्षित थियो ।

उहाँले संसद विघटन भएकै कारण अहिले पनि एमाले अस्तित्वमा रहेको बताउनुभयो । यस प्रसंगमा उहाँले अगाडि आफू नेतृत्वको तत्कालीन सरकार देश र जनताका लागि धेरै राम्रा काम गरेकाले अदालतबाट विपक्षीलाई प्रधानमन्त्री बनाउने काम गरिएको तर्क गर्नुभएको थियो ।

अध्यक्ष ओलीले एमालेबाहेक अरु कसैसँग देश विकासको स्पष्ट भिजन र नीति नरहेकाले मिसन ८४ नेपालको राजनीतिमा टर्निङ प्वाइन्ट हुने बताउनुभयो ।

उहाँले काठमाडौंको पार्टी संगठन विभिन्न अवरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको र संकटका घडीमा कार्यकर्ताले पार्टीलाई जोगाएर सुदृढ पार्टीका रुपमा कायम राखेको स्मरण गर्नुभयो ।

उहाँले गत निर्वाचनमा पार्टीको आन्तरिक कारणले बहुमत ल्याउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गत निर्वाचनमा हामीले बहुमत ल्याउन सकेनौँ । पार्टीभित्र कतिपय आन्तरिक समस्या र प्रतिनिक्रियावादीका अनेक झुठ र षड्यन्त्रका कारणले बहुमत ल्याउन सकिएन । अबका दिनमा त्यस्ता झुठ र षड्यन्त्रलाई हामीले पराजित गर्न सक्नुपर्छ ।’

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ८ : ४७ बजे