यस्तो छ आजको विनिमय दर

सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा लगानी गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताउनुभएको छ ।

एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घान गर्नुहुँदै उहाँले सरकारले अब पूँजी र प्रविधिको बाटो लिनुपर्ने बताउनुभयो । ‘हामीले उत्पादन र रोजगारीका क्षेत्र विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा हामी आफैले पनि पूँजी र प्रविधिको बाटो दिनुपर्छ । हाम्रो पूँजी र प्रविधिले पुगेन भने बाहिरबाट आकर्षित गर्ने त्यो बाटोमा जानुपर्दछ । मुख्य कुरा आफैले पूँजीको सिर्जना गर्नुपर्ने हुन्छ । यस सन्दर्भमा सरकारसँग मेरो कुराकानी भइरहेको छ ।’ उहाँले भन्नुभयो ।

वर्तमान बजेट र यसको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा सरकारसँग आफू संवादमा रहेको भनाइ अध्यक्ष ओलीले राख्नुभयो ।

वर्तमान बजेट, यसमा सच्याउनुपर्ने विषय र बजेटको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर छलफल गरिरहेको उहाँले बताउनुभयो । एमाले वर्तमान सत्ता गठबन्धनमा छ । उहाँले केही समयअघि अर्थमन्त्री वर्षमान पुनले ल्याएको आगामी वर्षको बजेटका विषयमा आलोचनात्मक टिप्पणी गर्नुभएको थियो । पार्टी कार्यकर्तामाझ भने उहाँले असहमति प्रकट गर्नुभएन ।

उहाँले भन्नुभयो, ‘वर्तमान बजेटको सन्दर्भमा, त्यसको प्रभावकारी कार्यान्वयनको सन्दर्भमा, त्यसलाई अगाडि बढाउन के के कुराहरु सच्याउनुपर्छ । यी विषयमा म सरकारसँग निरन्तर कुराकानी गरिरहेको छु ।’

कृषिमा आधारित उद्योग र प्रविधिको क्षेत्रले मुलुकको औद्योगिकरणको निर्धारण गर्ने भन्दै उहाँले यसमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । ‘अब हामीले कृषिमा आधारित उद्योग र अन्य उद्योगका लागि र उत्पादनमा प्रविधिको प्रयोगलगायतका काममा जति काम गर्न सकिन्छ त्यसले हाम्रो मुलुकको औद्योगिकीकरणको निर्धारण गर्नेछ ।’ अध्यक्ष ओलीले भन्नुभयो ।

कच्चा पदार्थको आयात सहज नभइसकेको सन्दर्भमा त्यतापट्टि सरकारको पर्याप्त ध्यान जान नसकेको उहाँले बताउनुभयो । तयारी वस्तुलाई निर्यातलाई प्रोत्साहित गर्नुपर्ने भनाइ उहाँले राख्नुभयो ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  ३ : ४३ बजे