यस्तो छ आजको विनिमय दर

राष्ट्रिय मुद्दामा समान धारणा बनाउन पूर्व राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौँ, २५ जेठ । राष्ट्रिय ‍एजेन्डामा कस्तो नीति अबलम्बन गर्ने भन्ने विषयमा एउटै  धारमा उभिन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलहरूलाई आह्वान गर्नुभएको छ ।

मधुस्थली फाउण्डेशनले आज काठमाडौंमा आयोजना गरेको गोविन्दराज ज्ञवालीको अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले मुलु विषयमा राजनीतिक दलको समान धारणा आवश्यक रहेको उल्लेख गर्नुभएको हो । नेपालका थुप्रै नेताहरूको त्यागले मुलुक आजको अवस्थामा आएको र ती नेताहरूको सम्मानका लागि समेत दलहरू मुल विषयमा एकै स्थानमा उभिएर मात्रै देशलाई अगाडि बढाउन सकिने उहाँको भनाई छ ।

राष्ट्रिय एजेन्डाको सवालमा एक स्थानमा उभिनुलाई उहाँले नेपालका त्यागी नेताहरूप्रतिको सम्मान हुने र परिणाम पनि निस्किने उहाँको भनाई छ । उहाँले भन्नुभयो, “राष्ट्रिय मुद्दा र एजेण्डामा समान धारणा बनाउनुपर्दछ । र त्यसलाई कार्यान्वयन गर्नुपर्दछ । त्यो भयो भने गोविन्द ज्ञवालीज्यू र अग्रज नेतृत्व पुष्पलाल लगायत थुप्रैन नेताहरुले गर्नुभएको त्याग, तपस्याको परिमाण निस्कन्छ । उहाँहरुलाई हामीले साँच्चै सम्मान र अभिनन्दन गरेको ठहर्छ।”

कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले गोविन्दराज ज्ञवालीले कम्युनिष्ट आन्दोलनलाई दिएको योगदानको समेत चर्चा गर्नुभयो । ज्ञवाली नेपालको समकालिन अग्रज राजनीतिक पुस्ताको व्यक्ति रहेको समेत रहेको उहाँको भनाई छ । उहाँले ज्ञवालीसँग २०४६ सालको जनआन्दोलनपछि भेटको स्मरण समेत गर्नुभयो । सबै राजनीतिक दललाई राष्ट्रिय एजेन्डामा ल्याउने सवालमा ज्ञवालीले गरेको प्रयासको सराहना गर्दै उहाँले भन्नुभयो, “उहाँले कम्युनिष्ट राजनीतिक दललाई एक ठाउँमा उभ्याउनु भएको थियो । त्यसको साथै अर्को वैचारिक पक्षमा उभिएका साथीहरुलाई राष्ट्रिय मुद्दामा ल्याउने प्रयास अवनरत देखिएको छ।” 

यस्तै उहाँले वर्तमान अवस्थाको चित्रण गर्दै इतिहासको जानकारीको अभावमा नयाँ र पुराना पुस्ताबीच खाडल बढेको तथ्य समेत उल्लेख गर्नुभयो । दुई पुस्ताबीचको दुरी कम गर्न समन्वय आवश्यक रहेको पूर्व राष्ट्रपति भण्डारीको ठहर छ । 

पूर्व राष्ट्रपति भण्डारीले अझै पनि मुलुकमा थुप्रै काम गर्न बाँकी रहेको भन्दै त्यसका लागि समेत राष्ट्रिय एकता, समन्वयको आवश्यकता रहेको बताउनुभयो । तर समाजमा व्याप्त आफू नै जान्ने र कसैसँग समन्वय गर्न नचाहने प्रवृत्तिले समस्या आएको समेत उहाँले औल्याउनुभयो । “दुई वटा वैचारिक प्रभाव रहेको भन्दै एउटाले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढिरहेको छ । त्यसमा अर्को प्रभावका त्यो खालको देखिँदैन,” उहाँले भन्नुभयो ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार  ७ : ४२ बजे