एनपीएलको ट्रफी सार्वजनिक

मन्त्रिपरिषदको बैठक बस्दै

शेनबाम मेक्सिकोको राष्ट्रपति निर्वाचित, सर्वोच्च राजनीतिक ओहोदामा पुग्ने पहिलो महिला

मेक्सिको सिटी । मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित हुनुभएको छ । 

मेक्सिको सिटी निबासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उहाँले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ ।

विशेष गरी दुई दर्जनभन्दा बढी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकाले महिला नेतृत्व पाएको छ । मतदाताहरूको सुरक्षाका लागि हजारौं सैनिकहरू तैनाथ गरिएको थियो ।

शेबनामले प्राप्त गरेको मत प्रतिशत उहाँको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अङकभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अङ्क बढी हो । 

निर्वाचनमा अति हिंसात्मक लागूऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटपुट हिंसाका बावजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोभरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड लागेको थियो ।

उहाँले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ‘ऐतिहासिक दिन’ का रूपमा घोषणा गर्नुभएको थियो ।

मतदानपछि शेबनामले आफूलाई आँफैले दिएको मत आफ्नो जीतका लागि नभई ९३ वर्षीया अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताउनुभएको थियो । 

“लोकतन्त्र दीर्घकालसम्म रहिरहनेछ,” शेनबामले आफू निर्बाचित बनेपछि शुभचिन्तक तथा सहयोगी कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै घोषणा गर्नुभयो । 

निर्वाचन सकिएपछि गाल्भेजले आफ्ना अनुयायीहरूलाई मतगणनालाई नजिकबाट नियाल्न आग्रह गर्नुभएको थियो । 

“हामी अधिनायकवाद र सत्ताविरुद्ध प्रतिस्पर्धा गरिरहेका छौं र उनीहरु जे पनि गर्न सक्षम छन्,” सिनेटर तथा आदिवासी मूलकी व्यवसायीसमेत रहेकी ६१ वर्षीया गाल्भेजले भन्नुभयो । 

हरेक दिन करिब १० जना महिला वा बालिकाको हत्या हुने मेक्सिकोको सबैभन्दा अग्लो राजनीतिक सिसाको छाना एक महिलाले तोडेको भन्दै बिजय ¥यालीमा सहभागी महिलाले खुशी व्यक्त गरेका छन् ।

मेक्सिको सिटीकी ५५ वर्षीया क्लिनर क्लेमेन्सिया हर्नान्डेजले भन्नुभयो, “नवनिर्वाचित महिला राष्ट्रपति शेनबाम यो देशका लागि परिवर्तनको बाहक बन्नुहुनेछ । उहाँले महिलाका लागि अझ धेरै काम गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”

उहाँले भन्नुभयो, “मेक्सिकोमा धेरै महिला आफ्ना जीवनसाथीको अधीनमा छन् । उनीहरूलाई कामका लागि घरबाट बाहिर निस्कन दिइएको छैन । यस्तो अवस्थामा एक महिला देशको सर्वोच्च राजनीतिक पद धारण गर्नसक्नु समस्त महिलाहरूको विजय हो ।” 

यद्यपि, ३० वर्षीया डेनिएला पेरेजले महिला राष्ट्रपति हुनु देशका लागि ‘ऐतिहासिक कुरा’ हुने बताउनुभयो । राष्ट्रपतिका मुख्य दुबै उम्मेदवार उहाँको विचारमा ‘पूर्णतया नारीवादी’ थिएनन् ।

रसद कम्पनीका प्रमुख व्यवस्थापक पेरेजले भन्नुभयो, “हामीले महिला अधिकारमा सुधार ल्याउन, महिला हत्याको समस्या समाधान गर्न र महिलाहरूलाई थप सहयोग गर्न उनीहरूको भूमिका हेर्नुपर्नेछ ।”

शेनबामले आफ्नो लोकप्रियताको धेरै श्रेय निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरलाई दिनुभएको छ । बामपन्थी नेता तथा मोरेना पार्टीका सल्लाहाकार ओब्राडोरले राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अनुमोदन दर ६० प्रतिशतभन्दा बढी हुँदाहुँदै पनि उहाँले दोस्रो कार्यकालका लागि आफुलाई निर्वाचनमा सहभागी गराउनुभएको थिएन । 

सडक खाना विक्रेता ५० वर्षीया रीना बाल्बुएनाले सत्तारुढ मोरेना पार्टीले वृद्धवृद्धा र बालबालिकालाई धेरै सहयोग गरेकाले आफूले शेनबामलाई मतदान गरेको बताउनुभयो । 

–गोली होइन, अङ्कमाल–

राजनीति, अपराध र भ्रष्टाचारको पर्यायजस्तो देखिने मेक्सिकोमा लागूऔषध तस्करहरूले आफ्ना मनपर्ने उम्मेदवारलाई जिताउन निकै हदसम्म प्रयास गरे ।

निर्वाचन सुरु हुनुभन्दा केही घण्टाअघि हिंसात्मक पश्चिमी राज्यमा एक स्थानीय उम्मेदवारको हत्या भएको अधिकारीहरूले बताएका छन् ।

मध्य मेक्सिकोको पुएब्ला राज्यमा अज्ञात व्यक्तिले मतपत्र चोर्न मतदान केन्द्रमा आक्रमण गर्दा दुई जनाको मृत्यु भएको स्थानीय सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

हिंसाका कारण दक्षिणी राज्य चियापासका दुई नगरपालिकामा मतदान स्थगित गरिएको छ ।

शेनबामले राष्ट्रपति लोपेज ओब्राडरको गोली होइन, अङ्कमाल (हग्स नट बुलेट्स) भन्ने विवादास्पद रणनीतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यो नारा सज्जनको लागि झट्ट सुन्दा ठीक लागेपनि मेक्सिकाका हिंसाग्रस्त समुदायमा सक्रिय आपराधिक समूहसँगको अङ्कमाल देशका लागि घातक बन्ने उहाँका आलोचकले बताएका छन् ।

शेबनामका प्रतिस्पर्धी नेता गाल्भेजले कार्टेलसँग सम्बन्धित हिंसाको लागि कडा दृष्टिकोण अपनाउने निर्वाचन अभियानको नारा बनाउनुभएको थियो भने ‘अपराधीहरूको लागि अङ्कमाल समाप्त भएको’ घोषणा गर्नुभएको थियो । कार्टेलको अर्थ  स्वतन्त्र बजार सहभागीहरूको समूह हो र यसले एकअर्कासँग सहकार्य गर्दछ र साथसाथै आफ्नो नाफा सुधार गर्न र बजारमा प्रभुत्व जमाउन एकअर्कासँग प्रतिस्पर्धा नगर्न सहमत हुन्छ । 

सरकारले सन् २००६ मा लागूऔषध ओसारपसारविरुद्ध लड्न सेना परिचालन गरेयता चार लाख ५० हजारभन्दा बढी मानिसको हत्या भइसकेको छ भने हजारौँ बेपत्ता भएका छन् ।

नवनिर्वाचित राष्ट्रपतिले विशेष गरी सीमापार लागुऔषध तस्करी र बसाइँसराइ र छिमेकी मुलुक संयुक्त राज्य अमेरिकासँगको तनावपूर्ण सम्बन्धजस्ता जटिल मुद्दाहरूको व्यवस्थापन पनि गर्नुपर्नेछ ।

यो निर्वाचनबाट नयाँ राष्ट्रपति चयनसँगै संसद सदस्य, गभर्नर र असङ्ख्य स्थानीय अधिकारी चयनसहित कुल २० हजारभन्दा बढी पदहरूमा जनप्रतिनिधिको चयन भएको छ ।
 

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  २ : ४८ बजे