साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महिलालाई रोक लगाएपनि घटेन खाडी देश जानेको सङ्ख्या

काठमाडौं । सरकारले घरेलु कामदारको रूपमा खाडी जाने महिलालाई रोक लगाए पनि विदेश जाने सङ्ख्या भने बढेको छ । १० महिनामा विदेश जाने महिलाको सङ्ख्या १६ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । 

गत वर्षको १० महिनामा २७ हजार २१४ महिला मेनपावरमार्फत  वैदेशिक रोजगारीमा गएकोमा चालु आवमा ३१ हजार ५८५ पुगेका छन् । वैज्ञानिकीकरण र पुनः विदेश जाने सङ्ख्या समावेश गर्दा यो सङ्ख्या अझ बढी हुन सक्ने देखिएको छ । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्कले ५ वर्षमा विदेश जाने महिलाको सङ्ख्या ५ प्रतिशतबाट वृद्धि भएर १२ प्रतिशत पुगेको देखाएको छ । विभागका निर्देशक लोकनाथ भुसालले वैदेशिक रोजगारीमा जाने समग्र सङ्ख्या वृद्धिसँगै महिलाको हिस्सा बढेको बताएका छन् ।    

आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रम स्वीकृति लिएको तथ्याङ्कले देखाएको छ । विभागका अनुसार युएई, कतार, कुवेत, साइप्रस र मलेसिया जस्ता श्रम गन्तव्यमा नेपाली महिला श्रमिक रोजगारीका लागि बढी जाने गरेका छन् । पछिल्लो समय घरमा सीमित भएका महिला पनि वैदेशिक रोजगारीमा जान थालेपछि बिदेसिने महिला बढेका हुन् । वैदेशिक रोजगारीका लागि ११० देशहरू खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, युएई र कुवेत नै संस्थागत वैदेशिक रोजगारीका मुख्य गन्तव्य रहँदै आएको छ । युएई र कतारले मात्रै ६० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको तथ्याङ्कले देखाएको छ । जिल्लागत हिसाबले सबैभन्दा बढी वैदेशिक रोजगारीमा झापा, सिन्धुपाल्चोक, मोरङ र काठमाडौँका महिला रहेका छन् । सीप र दक्षताको तुलना गर्दा वैदेशिक रोजगारीमा जाने पुरुषको तुलनामा उच्च दक्ष र पेसाकर्मी महिलाको प्रतिशत राम्रो छ । वैदेशिक रोजगारीमा उच्च दक्ष र पेसाकर्मी पुरुष ०.०५ र ०.११ प्रतिशत रहेकोमा महिलाको हिस्सा उच्च दक्षमा ०.०६ र पेसाकर्मीका रूपमा ०.३० प्रतिशत रहेको छ । 

नेपाल श्रम आप्रवासन प्रतिवेदनमा महिला श्रमिकहरू मध्ये संयुक्त अरब इमिरेट्स सबैभन्दा बढी रहेको उल्लेख छ । कुल महिला श्रमिकमध्ये ५० प्रतिशतभन्दा बढी पुनः श्रम स्वीकृति लिएर संयुक्त अरब इमिरेट्स तर्फ गएको प्रतिवेदनमा उल्लेख छ । महिला श्रमिकहरू विशेष गरी सरसफाइ, आतिथ्य र हेरचाह तथा स्याहार–सुसार जस्ता क्षेत्रहरूमा केन्द्रित हुने गरेका छन् । 

विगत दुई दशक यता कामका लागि बिदेसिने नेपाली महिलाहरूको सङ्ख्यामा धेरै वृद्धि भएको छ । घरेलु कामदारको रूपमा विदेश जाने महिलालाई प्रतिबन्ध गर्नेभन्दा पनि व्यवस्थित गर्ने तर्फ भने सरकारले नीतिगत व्यवस्था गर्न सकेको छैन । नेपालले औपचारिक रूपमा १११ राष्ट्रहरूमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ । अधिकांश महिला आप्रवासी कामदारहरू केयरटेकर, नर्स र घरेलु कामदारका रूपमा युएई, कतार, साउदी अरेबिया, कुवेत, साइप्रस, इजरायल र जोर्डन जस्ता गन्तव्य मुलुकमा जाने गर्छन् । घरेलु कामदारको रूपमा काम गरेका महिला आप्रवासी कामदारहरू न्यूनतम कानुनी संरक्षणबाट वञ्चित हुनका साथै महिला कामदारहरूप्रतिको नकारात्मक सामाजिक दृष्टिकोण पनि मुख्य समस्याको रूपमा रहेको छ । 

 

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ११ : ०० बजे