दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

माधव नेपाललाई किन लाग्छ ‘ढुलमुले’ नेताको आरोप ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितका प्रतिपक्ष दलका नेताहरूसँगको भेटलाई लिएर आत्तिनुपर्ने आवश्यकता नरहेको प्रष्टीकरण दिनुभएको छ। 

आइबार पार्टीको पत्रकार सम्मेलनमा नेपालले आफ्नो पार्टी राजनीतिको महत्त्वपूर्ण घटक भएको र सबै नेताहरूसँग छलफल चल्ने कुरा स्पष्ट रहेको बताउनुभयो। सबैले नेताहरूसँग भेट गर्न र सम्पर्क बढाउन पाउने उहाँको भनाइ थियो ।

सरकारमा कुनै असमझदारी नबनाउन आफूले यसबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको नेपालले बताउनुभयो  । देशको राजनीति कति बेला के हुन्छ भन्न सक्ने स्थितिमा नरहेको भन्दै उहाँले आफ्नो पार्टी दुई वटा नाउमा खुट्टा राखेर हिँड्ने खाले नरहेको बताउनुभयो ।

 नेपालले यो भनाई पत्रकार सम्मेलनमा सार्बजनिक गर्नुको अर्थ थियो –अब हामीले आत्मसमर्पण ग¥यौ, केही समय हामी यही समीकरणमा रहन्छौ, अर्को मोका मिल्न साथ बटारिन्छौ भन्ने आशय उहाँको भनाइमा थियो। 

जसपा फुट्नु अघि माधव नेपालले  आफूलाई प्रधानमन्त्री हुन नदिने अनेक खेल भएको भन्दै यो समीकरण प्रति असाध्यै असन्तुष्टि पोख्नु भएको थियो। पार्टी निकट अनेमसंघको शुभकामना कार्यक्रमलाई बैशखा १७ गते  सम्बोधन गर्दै उहाँले यस्तो असन्तुष्टि पोख्नु भएको थियो ।  

उहाँको भनाई थियो  ‘हाम्रो पार्टी देश विकासको सवालमा चिन्तित छ, कसै कसैलाई लागेको छ हाम्रो पार्टी पनि सरकारमा जानको लागि मन्त्री र प्रधानमन्त्री बन्नेको लागि मरिहत्ते गरिरहेको छ कि भन्ने कुरा त्यो लोभी पापीहरूले भन्ने कुरा हो ।

नेपालले  अगाडि थप्नुभएको थियो , ‘हामी प्रधानमन्त्री बन्छौँ भनेर कतिपयलाई पोल्न थालेको छ। कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पोल्न थालेको छ । पोल्ने मान्छेहरू पनि छन् यो समाजमा, पोले पोलेस्, दनदनी आगोले पोलोस्, त्यस्ता प्रवृत्ति बोक्नेहरूलाई धिक्कार छ । त्यो भएकाले परिस्थिति हाम्रो अनुकूल बनाउने कुरामा ध्यान जानुपर्छ ।

त्यो दिन नेपालले यसरी आफू प्रधानमन्त्री भइहाले झैँ गरेर यसरी तितो पोख्नु भएको थियो। नेपालको यो दम्भ त्यसै पलाएको थिएन। त्यसमा बुढानीलकण्ठले उहाँलाई प्रधानमन्त्री हुने भन्दै ‘टनिक’  ख्वाएर पठाएको धेरैले थाहा पाएका थिए।  त्यस्तै  कम्पनी जस्तो पार्टी चलाउदै आउनु भएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि समीकरण परिवर्तन गरेर नेपाललाई प्रधानमन्त्री बन्ने बचन दिएको बताइएको छ। त्यसैले त्यति कुरामा नै नेपालल हौसिएर प्रधानमन्त्री बन्न लागेको जस्तो गरि गर्जनु भएको  थियो। तर जसपा विभाजन भएपछि नेपालको मात्र होइन धेरेको सपना भङ्ग भयो। त्यसैले नेपाल यही समीकरणको पक्षमा रहनु भएको सबैलाई थाहा भएको विषय हो। यदि नेपालले यो समीकरणबाट विद्रोह गर्दैमा न अर्को समीकरण तयार हुन्छ, न उहाँ प्रतिपक्षमा रहनु हुन्छ।  यसै पनि बिलाउन लागेको नेकपा एस यस्तो राजनीतिबाट पुरै बिलाउने खतरा देखेर  अहिलेको गठबन्धन प्रति निष्ठा प्रकट गर्न थाल्नु भएको बताइएको छ। 

अहिलेको गठबन्धन प्रति असन्तुष्ट भएर विरोधमा देखिनु भएका नेपाल अहिले भने आफू  प्रचण्डको नेतृत्वको सरकारको पक्षमा रहेको अभिव्यक्ति दिन थाल्नु भएको छ। उहाँलाई इच्छाले भन्दा पनि बाध्यताले यो सरकारको पक्षमा उभ्याएको धेरैले बताएको छ।  एमालेको १५ वर्ष नेतृत्व गर्दा नेपाललाई लागेको एउटा आरोप नै ढुलमुले चरित्र थियो। त्यसैले लामो समय एमाले न पोथी नभाले भन्ने आरोपको नेता कार्यकर्ताले सामना गर्नु¥यो। यो सबै नेपालले एमालेमा छोडेर गएको बोनस थियो। त्यसैले आफूलाई  ढुलमुले भनेर विगतमा जे आरोप लागेको थियो । आइतबारको  पत्रकार सम्मेलनमा पनि त्यसैको खण्डन गर्नमा समय बिताउनु परेको थियो। 

अध्यक्ष नेपालले  विपक्षी गठबन्धनको बैठकमा सहभागी भएका विषयमा भन्नुभयो ‘हामी एउटा महत्त्वपूर्ण घटक भएको हुनाले हामी त्यो बैठकमा सहभागी भयौँ । सबैले नेताहरूसँग सम्पर्क गर्न पाउँछन् । हामी पनि पाउँछौँ । अन्यथा रूपमा कसैले आत्तिनुपर्ने आवश्यकता छैन । त्यही सिलसिलामा मैले प्रधानमन्त्रीसँग असमझदारी नहोस् भनेर फोन पनि गरेँ । उहाँले भन्नुभयो, ठिक छ, सम्बन्ध सबैसँग राख्नुपर्छ तर कमिटमेण्ट फाइनल नगरिदिनु होला । कति बेला के हुने हो भन्ने स्थिति थियो र विश्वास छ, एउटा समझदारी भइसकेपछि त्यसै आधारमा अघि बढिन्छ । हामी दुई वटा नाउमा खुट्टा राखेर हिँड्दैनौँ ।’

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ७ : ४५ बजे