दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रतिनिधिसभाः बजेटको कार्यान्वयन पक्ष फितलो बन्न नहुनेमा जोड

काठमाडौँ ।   सांसद रेखा यादवले आगामी आर्थिक वर्षका लागि विनियोजन भएको बजेटको कार्यान्वयन पक्ष फितलो बनाउन नहुनेमा जोड दिनुभएको छ । 

आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्न आज बसेको प्रतिनिधिसभा बैठकमा सांसद यादवले बजेटको कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो । “जेठ १५ गते अर्थमन्त्रीले नेपालमा उत्पादित अल्लोको झोलामा बोकेर बजेट ल्याउँदा सकारात्मक देखिए पनि झोलाभित्रको वक्तव्यले उत्साह दिन सकेन”, उहाँले भन्नुभयो, “समाजवाद अर्थतन्त्र उन्मुख बजेट प्रभावकारी कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ ।”

सांसद यादवले बजेटमा कृषि दशक घोषणा भए पनि कृषि मन्त्रालयका लागि विनियोजन भएको बजेटको आकार घटाइएको भन्दै उत्पादनशील क्षेत्रलाई राज्यले उपेक्षित गरेकामा आपत्ति जनाउनुभयो । चुरेमा पानीको हाहाकार मच्चिएर जनता समस्यामा परेका भन्दै चुरे संरक्षणका लागि राज्यले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको बताउनुभयो । 

 “चुरेमा खानेपानी तथा सिँचाइका लागि पानीको अभाव छ । चुरेका बासिन्दा समस्या समाधानका लागि काठमाडौँमा आएर अनशन बसेका छन्”, सांसद यादवले भन्नुभयो, “चुरेको ढुङ्गागिटी उत्खनन गर्न खनिजजन्य नीति ल्याएपछि दोहन भएको हो । चुरे दोहन रोक्ने नीति बजेटको प्राथमिकतामा पर्नुपर्छ ।” उहाँले भएका पुराना उद्योग सञ्चालन गर्न सरकारले सहज वातावरण निर्माण गरिदिनुपर्नेमा जोड दिनुभयो । “पुराना उद्योग सञ्चालन गर्न वातावरण नदिने अनि नयाँ उद्योग खोल्न लगानी आह्वान गरेर मात्र हुन्छ ?”, उहाँले संसद्मा प्रश्न गर्नुभयो । 

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  ४ : ०६ बजे