दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी बजेट ल्यायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी बजेट ल्याएको बताउनुभएको छ ।

शनिबार संंसदीय दलको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले बजेटबारेमा पर्याप्त परामर्श नहुँदा धेरै कुरा छुटेका बताउनुभयो । ‘यो बजेट परामर्श गरेर, सरकारमा सहभागी दलहरूसँग परामर्श गरेर, छलफल गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो, छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि, अर्थमन्त्री भएको पार्टीको बजेट हो कि जस्तो अलि बढ्ता देखिन गएको छ ।’ उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले बजेट बाँडफाँड पनि अलि एकातिर ढल्किएको जस्तो भएको बताउनुभयो । बजेट निर्माणको क्रममा गम्भीर त्रुटि भएको उहाँले औँल्याउनुभयो । ‘यो कमी रहेको छ, यो निर्माण प्रक्रियामा नै कमजोरी रहने गयो ।’ ओलीले भन्नुभयो ।

एमालेको लक्ष्य समाजवाद निर्माणको आधार भएको बजेट त्यसतर्फ उन्मुख हुनुपर्ने उहाँले बताउनुभयो । बजेटमा रहेको कमी संघीय संसद्को बैठकमा औँल्याउन उहाँले आग्रह गर्नुभयो । तथापि सरकारको बजेटको समर्थन गर्ने र पास गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

कुन-कुन मन्त्रालयमा कुन-कुन शीर्षकमा रकम विनियोजन गरिएको छ, कुनमा नयाँ आयो कुन शीर्षक हटाइएको छ यी सबै विषयमा अध्ययन गरी सुझाव दिन उहाँले सांसदहरूलाई आग्रह गर्नुभयो । एउटालाई अनुकूल र अर्कालाई प्रतिकूल विषय बजेटमा भएका त्यसलाई सच्याउनु पर्नेमा अध्यक्ष ओलीको जोड छ ।

अध्यक्ष ओलीले बजेटमा परेका कतिपय शब्दको विषयमासमेत असहमति जनाउनुभयो । प्रयोग गरिएका कतिपय शब्दहरूले त्यसको भाव बोक्न नसकेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८१, शनिबार  ३ : ४५ बजे