सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

हावाहुरीले पर्सामा व्यापक क्षति, जस्तापाताले काटेर १०७ वर्षीय वृद्धको ज्यान गयो

वीरगन्ज । बिहीबार बेलुकी वर्षासँगै आएको हावाहुरीले पर्सामा  एक जना वृद्धको मृत्यु भएको छ भने एनसेलको टावर ढलेर च्यापिदा एक जना गम्भीर घाइते भएका छन्।

पर्साको विन्दबासिनी गाँउपालिका–२ गर्दौलमा हावाहुरीले उडाएर ल्याएको जस्ताले चोट लागेर १०७ वर्षीय वृद्ध गुदेरी साहको मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिनुभयो ।  बिहीबार बेलुकी आफ्नै घरको पिढीमा बसिरहेका बेला साहमाथि छिमेकीको घरको छानाबाट उडाएर ल्याएको जस्तापाताले लागेर गम्भीर घाइते हुनुभएको थियो । घाइते साहलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो हस्पिटलमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो।

हावाहुरीकै कारण पर्साकै बहुदरमाई नगरपालिका वडा नम्बर ५ स्थित एनसेलको टावर ढलेको छ , हावाहुरीले टावर ढाल्दा  च्यापिएर एक पुरुष गम्भीर घाइते भएको खबर छ ।  घाइतेको पहिचान भने अझै खुलेको छैन। उहाँलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा ल्याइएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिनुभयो।
बहुदरमाई-५ मै हावाहुरीले एक रुख घरमा खस्दा च्यापिएर ९ जना घाइते भएको खबर  छ । बिहीबार बेलुकीको हावाहुरीले पर्सा जिल्लामा पुर्‍याएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ८ : ३४ बजे