साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिरोहिया प्रकरणले  पूर्व गृह सचिव फन्दामा

छुटेका हुन् की छुटाइएका हुन् सिरोहिया ? 

 

काठमाडौँ। कीर्त्ते नागरिकता प्रकरणमा पक्राउ  भएका  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सोरिहिया सरकारी वकिल मार्फत नौ दिनपछि बुधवार  हाजिरी जमानीमा छुटे पनि सोही प्रकरणले एक पूर्व गृह सचिवको घरमा भने रुवावासी सुरु भएको छ।

 

सिरोहियालाई २०३६ सालमा नागरिकता जारी गर्ने धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र  शाखा अधिकृत काशीराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै यस्तो रुवावासी सुरु भएको हो । तत्कालीन  धनुषा जिल्ला अधिकारी रहेका भट्टराई गृह सचिवबाट अवकाश हुनु भएको थियो । भट्टराईको उमेर अहिले ८५ वर्ष नाघेको छ।

 

खोटाङको लामिडाँडामा जन्मनु भएका भट्टराई अहिले काठमाडौँ महानगरपालिका वडा नं. ९ विजय चोकका बासिन्दा हुनुहुन्छ। साहित्यकारसमेत रहनुभएका भट्टराई पछिल्लो समयमा आध्यात्मिक गतिविधिमा संलग्न हुनुहुन्छ। शारीरिक रूपमा अशक्त भट्टराईलाई  बुढेसकालमा सिरोहियाको भाउतो आइलागेको टिप्पणी भइरहेको छ। भट्टराईको शारीरिक अवस्थाका कारण उहाँलाई पक्राउ गरेर कसरी अदालतमा पेस गर्ने भन्नेमा प्रहरी प्रशासनसमेत अन्योलमा छ।  

 

अघिल्लो मङ्गलवार पक्राउ परेका सोरिहिया हिरासत छल्न जनकपुरको काव्य अस्पतालमा भर्ना भई ठमठम हिँडेर हेलिकप्टर मार्फत काठमाडौँ आइ हिरासत मुक्त भइसकेका छन् ।  तर यही प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाले भट्टराई र दाहालमाथि छानबिन गर्नुपर्ने भन्दै धनुषा अदालतबाट बिहीबार पक्राउ पुर्जी लिएपछि‘‘नेपालको कानुन दैव जानुन्’ भन्ने उखान चरितार्थ भइरहेको चर्चा छ। 

 

कान्तिपुर पत्रिकाका  अनुसार अनुसन्धानका क्रममा नागरिकतामा बिगो कैद र जरिवाना हुने कुनै कसुर पुष्टि हुने आधार नदेखिएको र  नागरिकता जारी गर्ने क्रममा भएका त्रुटिलाई प्रशासनबाटै संवोधन गर्नुपर्ने भन्दै सरकारी वकिलको कार्यालयले स्वीकृति दिएपछि प्रहरीले सिरोहियालाई हाजिरी जमानतमा रिहा गरेको हो । यो रिहाइलाई नेपाल प्रहरीकै पूर्व डिआइजी उत्तम कुमार कार्कीले जग हँसाई भन्दै कडा टिप्पणी गर्नुभएको छ। नागरिकता मुद्दाको अनुसन्धान गर्न बढीमा ५ दिन लाग्छ भन्दै आफ्नो फेसबुक पेजमा लेख्नुभएको छ  –नागरिकताको मुद्दा अनुसन्धान गर्न बढीमा ५ दिन लाग्छ । ९ दिनसम्म हिरासतमा राखेर पनि अनुसन्धान टुङ्गोमा नपुर्‍याई हाजिर जमानीमा छोड्ने यो कस्तो जग हँसाई हो । ९-९ दिनसम्म थुनामा राखेर अनुसन्धानको टुङ्गो नलगाई हाजिर जमानीमा छोड्नेले पहिले नै पक्राउ नगरी अनुसन्धान गरेको  भए पनि त हुने थियो ।

 

पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नियन्त्रणमा लिने प्रहरीको तयारी छ । उक्त प्रकरणमा पक्राउ परी हिरासतमा पुगेका सोरिहिया भने ९ दिन पछि हिजो रिहा भएका छन् । सोरिहिया आफू बिरामी परेको भन्दै हेलिकप्टर चढी काठमाडौँमा उपचारार्थ थिए ।  

 

कानुन क्षेत्रका ज्ञाताहरू अदालतले म्याद थप भइसकेको विषयमा सरकारी वकिलले यसरी राय दिएर अभियुक्तलाई छोड्न नमिल्ने बताउँछन् । यस अघि पूर्व सभामुख कृष्णबहादुर महरालाई छोडेर यसैगरी कानुनको धज्जी उडाइएको थियो ।   अदालतमा म्याद थप गर्नु अगाडि भने सरकारी वकिले राय दिएर हाजिरी जमानीमा छोड्न सक्छन् । तर म्याद थप भई  अदालतमा विषय प्रवेश गरी सकेको अवस्थामा नौ दिनपछि हाजिरी जमानीमा छोड्नुले कानुनी राज्यको खिल्ली उडाएको एक सरकारी वकिलले चक्रपथलाई बताए।  स्रोतले  धनुषाका सरकारी वकिल  सहन्यायाधीवक्त सुदिप  दंगालले महान्यायाधिवक्ता दिनमणि पोखरेलका निर्देशनमा सिरोहियालाई  हाजिरी जमानीमा छुटाइएको दाबी गरेको छ  । 

 

अदालत  स्रोतका अनुसार नागरिकता कीर्त्ते प्रकरणमा करिब पाँच सय मुद्दा विचाराधीन अवस्थामा  छन् ।  ती सबै मुद्दाका अभियुक्तले सिरोहियाले जस्तै सुविधा पाएका छन् त ? त्यसमाथि सिरोहियाको नागरिकता प्रकरण दोहोरो नागरिकता लिएको मात्रै होइन कि अङ्गीकृत पिताका पुत्रले वंशजको नागरिकता कसरी पाए भन्ने  विषय हाे ।  हाे यही कारण सिरोहिया छुटे या छुटाइए  प्रश्न अहम् बनेको छ। 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  २ : ५५ बजे