दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

छब्बिस वर्षपछि माधवमार्फत् ‘मुसा प्रवृत्ति’को पुनरावृत्ति  

काठमाडौ । बेला बेलामा नेपाली राजनीतिले अचम्मका पात्र जन्माउने गर्छ । ५३ सालमा जन्मिएको नेपाली राजनीतिको ‘मुसा प्रवृत्ति’   २६ वर्ष पछि फेरि नयाँ रूपमा अवतरणको प्रयास भएको छ। २६ वर्ष अघि ‘मुसा प्रवृत्ति’को  स्रष्टा थिए – कमल थापा । तर अहिले भने त्यो नयाँ संस्करणमा छ।  अहिले त्यसको स्रष्टा बनेका छन् – नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल । 

नेपाली राजनीतिमा ‘मुसा प्रवृत्ति’ को चर्चा करिब २६ वर्षअघि सुरु भएको हो । त्यस बेला एमालेको समर्थनमा प्रधानमन्त्री बनेका राप्रपा नेता लोकेन्द्रवहादुर चन्दलाई ढाल्न उनकै पार्टीका सांसद कमल थापासहितले कांग्रेस समर्थित सूर्यबहादुर थापालाई साथ दिएपछि चन्दले पहिलो पटक मुसा प्रवृत्तिको चर्चा गरेका थिए । त्यस बेला प्रतिनिधिसभामा २० सिट रहेको राप्रपाका १० सांसदले फ्लोर क्रस गरेका थिए। अर्थात् काँग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका राप्रपाकै अर्का नेता सूर्यबहादुर थापाको पक्षमा मतदान गरेका थिए। आफ्नै नेतृत्वको सरकार ढाल्नका लागि फ्लोर क्रस गरेको प्रति लक्षित गर्दै नेपाली राजनीतिमा यस घटनालाई‘मुसा प्रवृत्ति’को संज्ञा दिइयाे । 

एमालेको समर्थनमा  प्रधानमन्त्री बनेका लोकेन्द्र बहादुर चन्दले अविश्वासको प्रस्तावको संसद्को रोष्टमबाट जवाफ दिँदै आफ्नै दलका सांसदहरू र त्यसको नेतृत्व गर्ने कमल थापा प्रति लक्षित गर्दै प्रयोग गरेको शब्द थियो – ‘मुसा प्रवृत्ति’। 

जहाज प्वाल पारेपछि सबैभन्दा पहिले मुसा नै ज्यान बचाउन हाम फाल्छन् भन्ने चन्दको आशय आफ्नै सरकारभित्र बसेर अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने र मन्त्री खान हामफाल्नेहरुप्रति लक्षित थियो ।

चन्दले त्यो बेला  भनेका थिए, मुसो आज आफैँ सवार जहाज काटेर अर्को जहाजमा पुगेको छ । त्यो मुसोले भोलि तपाईँहरूको जहाजलाई पनि काटेर कुनै पनि बेला दुर्घटना गराउनेछ र आफू अर्को जहाजमा फेरि भाग्नेछ ।

एमालेको पहिलो नौ महिने अल्पमतको सरकार ढालेर ०५२ मा राप्रपा र सद्भावना पार्टीको समर्थनबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । त्यही बेलादेखि नेपाली राजनीतिमा मुसा प्रवृत्तिले संस्थागत रूप लिएको थियो ।

यो घटना भएको २७ बर्सपछि  नेपाली राजनीतिमा मुसा प्रवृत्तिको फेरि उदय भएको छ। त्यो पनि कम्युनिष्ट आवरणबाट । त्यस बेला दक्षिणपन्थी मानिएकाहरूबाट यो प्रकट भएको थियो। अहिले कम्युनिष्ट दाबी गर्ने नेकपा एसबाट प्रकट भएको छ।  त्यसैले सो पार्टीका अध्यक्ष माधवकुमार नेपाल  अहिलेको गठबन्धन प्वाल पारेर  नयाँ गठबन्धनको जहाजमा सर्न खोजेका छन् ।  

सत्ता भन्दा एक छिन बाहिर बस्न नसक्ने नेपालको  चरित्रले यस बेला आफै उदाहरण देखाएको छ। निष्ठा वान नेताका रूपमा कतिपयले देख्ने उनको राजनीतिक अनुहारमा अहिले सत्ता लिप्साको दाग स्पष्ट देखिएको छ।  त्यसैले उनी अहिलेको गठबन्धनको जहाज छोड्ने धम्की दिन्छन् , तर अर्को जहाज तयार नभए पछि फेरि त्यही बस्छन् । 

अहिलेको सत्ता गठबन्धन छोडिहालेमा उनी घरको न घाटको बन्ने छन् । यदि उनले  आफू प्रधानमन्त्री बन्न बहुमत पु¥याए भने पनि त्यहाँ प्रवेश गर्ने संविधानको धारा खोज्न निकै पर जानु पर्छ । किन कि नेपालको संविधानले सबै विकल्प सकिएपछि मात्र प्रतिनिधिसभाको र्हैसियतमा  प्रधानमन्त्री बन्ने बाटो दिएको छ। यदि उनी प्रधानमन्त्री बनिहाले पनि दलीय हैसियतमा हुने छैनन् । २०६१ सालमा राजाले शासन सत्ता आफ्नो हातमा लिएपछि प्रधानमन्त्री बनेका  सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दको हैसियतमा  हुने छन् । 

यही भएर नेपाल नेपाली काग्रेंस सभापति शेरबहादुर देउवालाई भेट्न बुधवार देउवा निवास बुढानीलकण्ठ पुगेका थिए  । 

वर्तमान पुष्पकमल दाहाल नेतृत्वको सरकारमा माधवका दुई मन्त्री सहभागी छन् ।  गण्डकी प्रदेशमा एमाले सरकार ढलेको, कोसी प्रदेश सरकारको मुद्दा अदालतमा विचाराधीन रहेको र मधेस प्रदेशमा नयाँ सरकार बन्ने चरणमा रहेको अवस्थामा नेपालको बुढानीलकण्ठ यात्राले उनको अहिलेको जहाज प्वाल पारेर अर्कोमा प्रवेश गर्ने असफल प्रयासका रूपमा लिन सकिन्छ । 

कतिपयले माधवको कदमलाई आफ्नै खुट्टामा बन्चरो हान्ने अराजनीतिक कदम भन्दै आलोचना गरेका छन् । त्यसो त वाम सरकार गठनको विषय सुरु देखि नै माधव नेपाललाई पचिरहेको देखिँदैन । वर्तमान संसद्मा एक पटक प्रधानमन्त्री भई छाड्ने ‘लालसा’मा देखिएका माधव त्यही ललिपपले देउवा निवास पुगेको हुनसक्ने बताइएको छ । उक्त। 

 राष्ट्रिय पार्टीको हैसियतसम्म नरहेका माधवलाई प्रयोग गरेर वर्तमान सत्तासमिकरणलाई ‘छिर्के दाउ हान्न’ हौसिएका सभापति देउवाले माधवलाई प्रधानमन्त्रीको किस्ती नै बुझाए भने त्यो मनको लड्डु घिउसँग खानु जत्तिकै हुने राजनीतिक वृत्तमा चर्चा छ । यस अघि समीकरण  बन्न नदिन देउवाले रास्वपाका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको खुलासा स्वंयम गृहमन्त्री लामिछानेले संसद्मै गरिसकेका छन्  । 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार  ७ : ०४ बजे