‘एउटै नाउरको सिकार गर्न २३ लाख’

दिल्लीको मुङ्गेशपुरमा ५२.३ डिग्री सेल्सियसको उच्च तापक्रम

नयाँदिल्ली ।  प्रचण्ड गर्मीको चपेटामा परेको दिल्लीको मुङ्गेशपुरको अधिकतम तापक्रम ५२ डिग्री सेल्सियसभन्दा धेरै रेकर्ड गरिएको छ । यो राष्ट्रिय राजधानीमा सबैभन्दा उच्च तापक्रम हो ।    

    क्षेत्रीय मौसम पूर्वानुमान केन्द्रका प्रमुख कुलदीप श्रीवास्तवका अनुसार स्वचालित मौसम केन्द्रमा बुधबार यस मौसमको उच्चतम तापक्रम उत्तर पश्चिमी दिल्लीको मुङ्गेशपुर क्षेत्रमा ५२ दशमलव तीन डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । यसअघि मे २६ अर्थात आइतबार मुङ्गेशपुरको तापक्रम ४८ दशमलव तीन डिग्री सेल्सियस थियो । 

    भारत मौसम विज्ञान विभाग (आइएमडी) ले बुधवार र बिहीबार दिल्लीलगायत देशको उत्तरी भागका धेरै राज्यमा गर्मीको लहर (लू) को चेतावनी जारी गरेको छ ।

    आइएमडीका अनुसार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थानका धेरै भाग, उत्तर प्रदेश, पूर्वी मध्य प्रदेश, पश्चिम मध्य प्रदेशका केही भाग, बिहार, झारखण्ड, उडिसा र जम्मु डिभिजनका फरक फरक भागमा गर्मीको लहरदेखि गम्भीर गर्मीको लहर अवस्थाको सम्भावना छ । आज र भोलि हिमाचल प्रदेश, विदर्भ र छत्तीसगढका विभिन्न भागमा लू चल्ने सम्भावना छ । 

    दिल्लीको इन्टरभेन्शनल कार्डियोलोजी फोर्टिस एस्कर्ट्स हार्ट इन्स्टिच्युटका कार्यकारी निर्देशक डा अतुल माथुरले हृदय प्रणालीको समस्याबारे चेतावनी दिँदै नयाँदिल्लीमा आइएमडीको लूको चेतावनीबीच शरीरलाई ‘हाइड्रेटेड’ राख्न सुझाव दिनुभयो ।

    “हाम्रो देशले आक्रामक तापक्रमको सामना गरिरहेको छ । यसका कारण सामान्य व्यक्तिलाई पनि हृदयाघातको समस्या हुनसक्छ । यदि तपाईंले पानी पिउनुभएको छैन भने तपाईं निर्जलित हुनुहुनेछ । पहिलेदेखि नै मुटुको समस्या भएकाहरूको रक्तचाप बढ्छ । मुख्य चिन्ता निर्जलीकरण हो । चर्को गर्मीमा ज्येष्ठ नागरिकहरूले बाहिर निस्कनु हुँदैन । आफूलाई हाइड्रेटेड राख्नका लागि नियमितरूपमा पानी पिउनुपर्छ”, उहाँले भन्नुभयो ।

    साथै आइएमडीले दिल्ली र एनसीआर, खर्खोडा, झज्जर, सोहाना, पलवल, नुह, औरङ्गाबाद, होडलका पृथक ठाउँमा र छेउछाउका क्षेत्रहरूमा २० देखि ३० किलोमिटर प्रतिघन्टाको गतिमा हल्का तीव्रताको वर्षा र हावा चल्ने अनुमान गरेको छ । 
        
    यसअघि मङ्गलबार राजस्थानको चुरु राज्यमा ५० दशमलव पाँच डिग्री सेल्सियसको रेकर्ड–उच्च तापक्रम रेकर्ड गरिएको थियो । यो सामान्यभन्दा सात दशमलव पाँच डिग्री सेल्सियसभन्दा बढी हो । 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार  १० : १३ बजे