दलित गाउँका पहिलो शिक्षक

  प्रतिनिधिसभा भित्र कांग्रेसका सात ‘अभियुक्त ’

काठमाडौ। २६ माघ २०८० को सांझ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा प्रहरी सुरक्षासहित एक झण्डावाल गाडी  मुलगेटबाट भित्र प्रवेश ग¥यो। देख्ने धेरैलाई लागेको थियो  – कुनै मन्त्री अख्तियारको कार्यालय निरीक्षण गर्न आएका हुन् ।  

तर वास्तविकता त्यस्तो थिएन। उनी अख्तियारको एक अभियुक्त थिए। उनी अख्तियार समक्ष बयान दिनका लागि कार्यालय समय सकिए पछि सो दिन साँझ ५ बजेतिर सुटुक्क छिरेका थिए। उनी थिए तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेत । 

तर  त्यसबेला  संसदमा तत्कालीन मन्त्रीहरु प्रकाश ज्वालाको ‘  बालकुमारी गोली काण्ड’ मोहन बस्नेत र ज्ञानेन्द्र कार्कीको  टेरामेक्स घोटला काण्ड, सुन काण्डका बिषयमा तत्कालीन प्रतिपक्ष एमाले लगायतका दलले उच्चस्तरीय  संसदीय छानबिन समिति गठनको माग गरीरहे। त्यसबेला सत्ता पक्ष नेपाली कांग्रेसले त्यसको प्रतिवाद गरीरह्यो। त्यसैकारण त्यो बेला संसद् अवरोध भइरहेको थियो। यस्तो अवस्थामा सुटुक्क बयान दिन अख्तिायर छिरेका थिए – तत्कालीन स्वस्थ्यमन्त्री  मोहनबहादुर बस्नेत।

नेपालको इतिहासमा मन्त्रीको हैसियतमा झण्डा हल्लाउदै बयान दिन जाने संभावत उनी  नै पहिला थिए। नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा उनी बयान दिन त्यहाँ गएका थिए। 

बहालवाला स्वास्थ्यमन्त्री बस्नेत, पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्वसञ्चार सचिव गुरुङ, मुख्यसचिव बैकुण्ठअर्याल, संघीय मामिला सचिव सिंह, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल लगायत  यो प्रकरणमा मुछिएको भन्दै  अहिले पनि अख्तियारको यो मुद्धा बिचारधीन छ। 

यसमा संसद्को लेखा समितिले पनि अनुसन्धानका लागि अख्तियारलाई जिम्मेवारी दिएको थियो । अख्तियारले अन्तिम चरणमा मात्रै तत्कालीन समयमा सञ्चार मन्त्रालयको नेतृत्व गरेका बस्नेत र कार्कीलाई बयानका लागि बोलाएको थियो।

तत्कालीन सञ्चार सचिव वैकुण्ठ अर्यालले २२ कात्तिक २०७८ मा ज्ञानेन्द्र कार्कीसमक्ष पूरक बजेट पठाउने राय लेखेका थिए। सोही आधारमा मन्त्री कार्कीले सदर गरेपछि खरिद प्रक्रिया अघि बढेको थियोे। सचिव अर्यालले प्रस्ताव पेस गरेको तीन दिनपछि २५ कात्तिक २०७८ मा तत्कालीन सञ्चारमन्त्री कार्कीले पूरक बजेट प्रस्ताव स्वीकृत गरेका थिए।

त्यसपछि प्राधिकरणलाई बजेट सञ्चालन गर्ने बाटो खुलेको थियो। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेतले टेरामक्स प्रणाली खरिदको प्रक्रियालाई एनसेलको कर छली रोक्न भन्दै अघि बढाएका थिए।  आफु अख्तियारका अभियुक्त भएर पनि अहिले सांसद बस्नेत चोखो भएझै चर्को कुरा संसदमा  गरीरहेका छन् । 

बस्नेतलाई  अख्तियारले  पटक पटक बोलाउदासमेत बयान दिन अस्वीकार गरेपछि उनलाई पक्राउ गर्ने चेतावनी दिएको थियो । अख्तियारले पक्राउ गर्ने चेतावनी दिएपछि अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका थिए ।

यता पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्की र बस्नेत दुवै जना अर्थ र संचारमन्त्री भएको बेला उक्त खरिद प्रक्रिया अघि बढेको थियो । त्यसमा दुवैको भुमिका देखिएको भन्दै अख्तियारले उनिहरुलाई बयानका बोलाएको थियो  । कार्की र बस्नेत दुवैलाई जोगाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा समेत सक्रिय रहे ।

कानुनी पूर्वाधारबिना टेरामक्स प्रणाली खरिद अघि बढाएको, सर्वोच्चको आदेशको आफू अनुकूल व्याख्या गरेको दाबी अख्तियारमा परेको उजुरीमा गरिएको छ। प्राधिकरणले खरिद गरेको टेरामक्सलाई सञ्चालनमा नल्याइ थन्काएर राखिएको छ। अख्तियारले ट्याक्स हेभन मुलुकको कम्पनीसँग शंकास्पद कारोबार गरेकोलगायत विषयमा पनि अनुसन्धान जारी राखेको छ। 

त्यसैगरी नेपालको स्काउटको जग्गा हिनामिना गरेको अभियोग लागेका  अर्को कांग्रेस संसद् हुन् दीपक खड्का ।  नेपाल स्काउटलाई सांसदको कम्पनीले ५ करोड ९९ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ।  स्काउटले आफ्नो स्वामित्वमा रहेको लैनचौरस्थित जग्गा नेपाली काँग्रेसका सांसद तथा पूर्व मन्त्री समेत रहेका  दीपक खड्काले अनधिकृत रूपमा कब्जा गरेपछि  प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष हारगुहार  भएको थियो ।   खड्काले जग्गा फिर्ता नगर्ने नियत राखेपछि नेपाल स्काउटले फिर्ता गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रपति रामचन्द्र पौडेलसमेतलाई हारगुहार गर्दै पत्राचार गरेको थियो।

स्काउटले जग्गा र भवनको भाडा ५ करोड ९९ लाख रुपैयाँ उठाइदिन भन्दै उच्च अदालत पाटनको फैसलासमेत राखेर  राखेर राज्य व्यवस्था समिति, शिक्षा समिति, लेखा समिति, नेपाल प्रहरी, काठमाडौँ महानगरपालिका तथा विपक्षी दल एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत पुस २४ गते पत्राचार गरेको थियो। 

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति हुन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

सांसद गुरुङले उक्त जग्गामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले उनीविरुद्ध २०७५ माघ १२ गते मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले जेठ १३ मा नेपाली कांग्रेसका सांसदसमेत रहेका गुरुङ र प्रभु साह नेतृत्वको आम आदमी पार्टीका नेता बद्रीप्रसाद न्यौपानेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पूर्व मन्त्रीद्धय गुरुङ र न्यौपानेसहित ९ जनालाई दोषी ठहर गरेको थियो  । गुरुङलाई भ्रष्टाचार निवारण ऐनको दफा २२ अनुसार मतियारको रुपमा दोषी ठहर गरिएको  छ । 

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी सांसद आराजु राणा देउवा नक्कली भुटानी शरणार्थी प्रकरणमा विवादमा परेकी नेतृ हुन् ।  त्यो बाहेक उनी संग अन्य धेरै अभियोगहरु लागेका छन् । उनलाई टीकापुर जग्गा घोटला प्रकरणमा संलग्न भएको आरोप छ। 
 १३ वैशाख २०५४ मा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा सांसद डा. आरजु राणा देउवाले टीकापुर नगर विकास समितिबाट ३ कट्ठा ७ धुर घडेरी लिएकी थिइन् । अख्तियारले २०६५ सालपछि समितिमा नियुक्त भएका पदाधिकारी, कर्मचारी, पार्टी प्रतिनिधि र पहुँचवालाहरू संलग्न भएको बदमासी मात्रै छानबिन गरेका कारण उनी यो  त्यो पटकको छानबिनको दायरामा नपरेको बताएएको छ। तर उनको संलग्नता भने प्रष्ट देखिएको छ। 

पछिल्लो पटक सांसद राणाले  ०५३ सालमा जग्गा किनेको घुमाउरो भाषामा त्यसमा संलग्न रहेको   जवाफ दिएर आफ्नो संलग्नताको पुष्टि गरेकी छन् ।  २०६८ सालपछि त्यहाँ जग्गा घोटाला भएको बताइन् । उनले पत्रकारहरूलाई टिकापुरको जग्गा आफैँ गएर हेर्न र कागजात खोलेर हेर्न पनि आग्रह समेत गरिन् । उनले आफुले त्यो बेला ६० हजारमा जग्गा किनेको भनाई हालै संसद माफृत सार्बजनिक गरेकी छन् । 

त्यसैगरी कांग्रेसका अर्को सांसद् रामहरि खतिवडा पटक पटक विवादमा पर्दै आएका छन् । केही बर्ष पहिले उनी माथि १४ लाखको रोलेक्स घडी चोरेको आरोप लागेको थियो। पछिल्लो समयमा उनको समेत सहकारी ठगी प्रकरणमा मुख्य नाइके मानिएका  जीबी राईसंग राम्रो उठबस र संगत भएको बताइएको छ। उनले संचालन गर्दै आएको नेचर हब नामको क्लबमा सहकारी ठगीका नाईके जीबी राईको साझेदारी रहेको स्रोतले बतायो। 

त्यसैगरी अर्का सांसद् मन्जु खाँड पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकी नेतृ मानिन्छन् । उनी  नक्कली भुटानी  शरणार्थी काण्डमा  आर्थिक लेनदेनमा मुछिए पनि शक्तिको दुरुपोयग गर्दै उनीमाथि छानबिन हुन सकेको छैन। 
उनका पति बालकृष्ण खाडविरुद्ध अहिले पनि नक्कली शरणार्थी प्रकरणको मुद्धा अदालतमा बिचाराधीन छ। 
 

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ९ : २९ बजे