साफ यू–१७ च्याम्पियनसिप आजदेखि

७ हजार ५५३ विद्यालय पुनःनिर्माण

काठमाडौँ – सरकारले यहि आर्थिक वर्षमा भूकम्पबाट क्षतिग्रस्त भएका सात हजार ५५३ विद्यालय पुनःनिर्माणको काम सम्पन्न गर्ने भएको छ । 

शिक्षा पत्रकार सञ्जाल, नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ आयोजना (शिक्षा) का निर्देशक रामशरण सापकोटाले सात हजार ५५३ विद्यालयमध्ये छ हजार २४६ वटा भवनको पुनःनिर्माण भइसकेको र बाँकी एक हजार ३०७ विद्यालय असारसम्म पुनःनिर्माण गरिने जानकारी दिनुभयो । 

आयोजनाले भूकम्पबाट क्षतिग्रस्त भएका ३१ जिल्लाका सात हजार ५५३ विद्यालयको पुनःनिर्माण विसं २०७२ बाट गर्न थालेको हो । विसं २०७२ को भूकम्पले अतिप्रभावित १४ र कम प्रभावित १७ जिल्लाका नौ हजार ७२ विद्यालयका ५४ हजार ५८४ कक्षा कोठामा क्षति पुगेको थियो । क्षति भएकामध्ये एक हजार ५१९ विद्यालयको पुनःनिर्माणको काम हुन नसकेको उहाँले जानकारी दिनुभयो । जग्गा विवाद, पुरातत्वको कारणले ती विद्यालयको पुनःनिर्माण हुन नसकेको आयोजना प्रमुख सापकोटाले जानकारी बताउनुभयो । 

अहिलेसम्म सात हजार ५५३ विद्यालयका ४८ हजार ७११ कोठामध्ये ३५ हजार ५८ कोठा सम्पन्न र १३ हजार ६५३ कोठा अन्तिम चरणमा रहेका छन् । यस्तै पाँच हजार ३६ शौचालयमध्ये दुई हजार ७०७ सम्पन्न र दुई हजार ३२९ निर्माणाधीन रहेका छन् । यस्तै एक हजार ७०१ खानेपानीमध्ये २१६ सम्पन्न र एक हजार ४८५ निर्माणाधीन रहेका छन् । क्षति भएकामध्ये ३२७ वटा विद्यालय मर्ज भएका र १५३ विद्यालय सञ्चालनमा रहेका छैनन् ।  

एकाइका आयोजना निर्देशक सापकोटाले दातृ निकायबाट अनुमान गरिए जति प्राप्त नभएकोले रकम अभावको समस्या रहेको भन्दै अबदेखि भूकम्पले क्षतिग्रस्त भएका त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस र प्राविधिक शिक्षालयको पुनःनिर्माण कार्य थालिने बताउनुभयो । 

विद्यालय भवन पुनःनिर्माणका लागि रु एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख आवश्यक पर्नेमा हालसम्म रु ५३ अर्ब १९ करोड ३९ लाख खर्च भइसकेको छ ।  चालू आवका लागि रु १८ अर्ब ६० करोड ३४ लाख विनियोजन गरिएको छ । एकाइका आयोजना उपनिर्देशक डा युवराज पौडेलले बजेट अभावले सबै विद्यालयको पुननिर्माण गर्न नसकिएको बताउनुभयो । 
 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  १० : ३१ बजे