साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कसरी सम्भव होला एमाले एकता ? माधव पक्ष हस्तिनापुर नै दिंदा पनि बन नगई नछोड्ने  !

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पूर्व महासचिव पूर्व प्रधानमन्त्री माधव नेपालको माहात्म्य दिनप्रतिदिन आश्चर्यजनक रुपले निर्माण भईरहेको छ । आफू एमालेको एकपदीय महासचिव हुँदा कसैले महासचिवलाई आलोचना गर्यो भने महासचिव व्यक्ति होईन, संस्था हो विरोध गर्न पाईन्न भन्ने माधव नेपाल प्रचण्डको फुकाईमा परेर बनेको साविक नेकपाको बेलुने बहुमत देखाएर पार्टीका निर्वाचित अध्यक्ष के पी शर्मा ओलीलाई सडकबाटै साधारण सदस्यताबाटै निस्कासन गरेको घोषणा गर्दछन् । बालुवाटारलाई देखाउन पेरिसडाँडामा मुकाम खडा गर्दछन् । प्रचण्डको डिजाइनमा पुतलीझैं नाच्दछन् ।

एमाले ब्युँझिएपछि उनको अवतार रातारात फेरिन्छ । एमालेको शक्ति सके हत्याउने नसके चालीस प्रतिशत पुर्याएर लत्याउने योजनाका साथ पेरिस डाँडाबाट अन्तरिम विदाई लिन्छन् । अदालती फैसलाका कारण एमाले र माओवादी अलग भए पनि माओवादीको ठूलो हिस्सा एमालेमा सामेल गराईएको विषयलाई,पार्टी अध्यक्षले गरेको ठूलो उपलब्धिलाई मटियामेट गर्ने दुषित मनसायले पार्टीलाई २०७५ जेठ २ गते नफर्किए पार्टी फुटाउने धम्कीमात्र दिदैनन्,एमाले फुटाउन देशभर समानान्तर पार्टी निर्माण गर्छन् । पार्टीको संस्थागत निर्णयलाई गुटको निर्णय भन्दछन्, आफ्नो कोटरीलाई सच्चा एमाले मान्दछन् । 

पार्टी एकता कायम गर्न पार्टीले हदैसम्मको लचकता देखाउँछ । निरन्तर वार्ताको पहल गर्छ । दुई पक्षले नै विगतमा भएका कमी कमजोरी महसुस गरेर अगाडि बढ्न तयार भएको पार्टीलाई एकपछि अर्को बखेडा अघि सार्छन् । गनगन बढाउछन् । मागमाथि माग थप्छन् । उता व्यहवारमा कांग्रेससंग मिलेर एकपछि अर्को घात गर्छन् । देखादेखि गर्छन् । आफ्नो पार्टीको केन्द्र सरकार गिराउन संगठित अनुपस्थिति, विरोधीको लाईनमा हस्ताक्षर गर्छन् । उनका नयाँ जिम्दार देउबाको आदेश तामेल गर्न ताहुरमाउर गर्छन् । एमालेका बरिष्ठ नेताको ट्याग ठाउँकुठाँउ दुरुपयोग गर्छन् । आफूलाई एमाले देखाउन नछाड्ने, एमालेलाई बञ्चरो हान्न पनि  नछोड्ने उनको मार्क्सवादी रणनीति बनेको छ अहिले ।

विपक्षीको लाईनमा उभिन छोड्ने हो, भने सर्वोच्च अदालतमा बुझाईएको सरकार विरोधी हस्ताक्षर फिर्ता लिने हो भने वा एमाले हुन तयार हुने हो भने २०७५ जेठ २ गतेबाट अघि बढ्न सकिने पार्टीको सदासयतालाई पनि उनले ठुक्राईदिएका छन् । 

उनीहरूको प्रमुख र एकमात्र माग जेठ २ मा फर्कनु पर्नेलाई सम्बोधन गर्न एमाले तयार देखिंदा अरू माग थपेर एकतालाई अबरूद्ध गरिरहेका छन् । एमाले अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीले माधव नेपाल पक्ष देउबाको लाइन त्यागेर एमाले नै रहन चाहने अवस्थामा औपचारिक रुपमै आफू २०७५ जेठ २ मा फर्कनतयार भएको बताई सक्दा पनि सो पक्ष पार्टी एकतामा आउन तयार भएको छैन । बरु आफ्नो पार्टीको अध्यक्षले एकताको लागि गरेको आह्वानविरुद्ध के बोल्ने भनेर सल्लाह गर्न देउबा र प्रचण्डसंग परामर्श गर्ने माधव नेपालको तरिका आश्चर्यजनक छ । यसबाट प्रष्ट भन्न सकिन्छ–देउबाले भनेका हरेक कुरा मान्ने तर एमाले अध्यक्ष तथा प्रधानमन्त्रीको कुनै आग्रह नमान्ने उनको एकमात्र घोषित रणनीति हो ।

अहिले उनलाई एमाले लोकतन्त्रविरोधी दलाल पूँजीवादका नायक, तानाशाही, दक्षिणपन्थी, प्रतिगमनकारी, भारतपरस्त, ुभ्रष्टाचारी, देखिएको छ । एमालेको जन्मकालदेखिको चुनावचिन्ह सूर्य काउछोजस्तो लाग्न थालेको छ । हिजोका सुखदुःखमा साथ दिने कमरेडहरू शत्रु लाग्न थालेका छन् । उनलाई पार्टी र राज्यको सर्वोच्च कार्यकारी पदमा आसिन गराउने सिङ्गो नेपाली श्रमजीवी वर्ग वाहियात लाग्न थालेको छ । 

अर्कातिर हिजो पटक–पटक सत्तामा पुग्दा माखो मार्न नसक्ने, प्रजातन्त्रलाई राजाको पाउमा चडाउने, जननेता मदन भण्डारीको रहस्यमय हत्या भएको देशको गृह मन्त्रालय सम्हालेका शेरबहादुर देउबा माधव नेपालको नजरमा महान लोकतन्त्रवादी, अग्रगमनकारी, संविधानका रक्षक, प्रतीत हुन्छन्  !

अनि दश बर्षे माओवादी विद्रोहको अवधिमा ध्वंशका नायक, शान्ति प्रक्रियामा आएपछि अस्थीरताका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको आँखामा गणतन्त्रका पिता, महान राष्ट्रवादी सच्चा क्रान्तिकारी, अग्रगमनकारी, समाजवादका सारथी प्रतिविम्वित भएका छन् ।

माधव नेपालको एमाले ब्राण्ड कायमै छ । वा कायमै राखिएको छ । अति भएपछि एमालेले त्यो ब्राण्ड खोसे पनि गैरएमालेहरूले त्यही ब्राण्ड प्रयोग गरेका गर्यै छन् । एमालेविरुद्ध एमालेलाई उभ्याएका उभ्यायै छन् । 

अब त वडा तहसम्म एमालेको विरुद्ध ‘एमाले’ बनाउने योजना पारित भयो क्यारे । आगामी निर्वाचनमा एमाले पछार्ने देउबाको अचुक रणनीति पारित भयो क्यारे । आदेश फर्मान भयो क्यारे । प्रचण्डको इगो साँध्ने प्रपञ्च एमालेबाटै तयार भयो । कसरी संभव होला  एमाले एकता ! एक हातले कसरी ताली बज्ला ? महाभारतमा पाँच गाउँ पनि नपाएर पाण्डव बन जानु परेको कथा पढिएको हो । तर यहाँ त हस्तिनापुर नै छोड्न तयार हुँदा पनि बन नगई नछोड्नेलाई अब के भनेर फर्काउने होला ?

एकता माथि के होला, होला न होला तर एमालेका लाखौं नेता–कार्यकर्ताको बलमा एमाले एक ढिक्का बनाउने लास्ट अप्सनचाँहि बाँकी नै छ । 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ९ : १६ बजे