साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुनसान बनारस र प्रवासी नेपाली आन्दोलनको दिशा

सानै उमेरमा सुनेको थिएँ, ‘विद्या हराए/नपाए काशी जानू ।’ मलाई पनि त्यहाँ जान पाए हुन्थ्यो भन्ने लागिरहन्थ्यो । तर, काशी कहाँ छ, त्यो थाहा थिएन । अलि हुर्केपछि सन् १९७९ (२०३७) सालमा ६ जना साथीहरूसँगै संस्कृत पढ्ने उद्देश्यले हरिद्वार पुगिएको थिए । काशी बिर्सिसकिएको थियो । त्यहाँको श्रीचेतनज्योति संस्कृत महाविद्यालयमा भर्ना भएपछि परीक्षा फार्म भर्दा पो थाहा भो, आपूmले पढ्दै गरेको विद्यालयको परीक्षा लिने सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय त वाराणसीमा पो रहेछ । यससँगै थाहा भयो— काशी, बनारस, वाराणसी भनेको एउटै ठाउँ रहेछ र ढुक्क भएको थिएँ । मेरो प्रवासी जीवनको सुरुआत र काशी प्रतिको कौतुहलको शान्ति यसरी भएको हो । 

यस पटक २०७७ चैतको तेस्रो साता बनारस थिएँ । यस पटकको बनारस यात्रा र करिब दुई साताको बसाइले धेरै कुरा स्मरण गरायो । यसै त २०४५/०४७ मा झण्डै साढे दुई वर्षजति त्यहाँ बसेको हुँ । तिनताक म हरिद्वारमा रहेर पढ्दै ‘अखिल भारत नेपाली स्वतन्त्र विद्यार्र्र्थी युनियन (अभानेस्ववियु)’ को गतिविधिमा सक्रिय थिएँ । अप्रिल महिनामा शास्त्री कक्षाको जाँच दिइसकेर अब नेपाल फर्कनुपर्ला भन्ने सोच्दै थिएँ । सांगठानिक कामको जिम्मेवारीमा रहेको हुनाले नेतृत्वसँग यसबारे अनुमति लिने प्रयास गर्दै स्थानीय राजनीतिक—सांगठानिक कामको जिम्मेवारी हस्तान्तरणको आन्तरिक तयारी पनि गर्दै थिएँ । 

केही निजी व्यवहारका सरसापटी तिर्ने, यहाँबाट घर (नेपाल) फर्कन घरक्षेत्र मिल्ने साथीभाइसँग थप सरसापटी लिनुपर्ने अवस्था थियो । परीक्षा सकिएको, परिणाम आइनसकेको, घरफिर्तीको मन भएको, नेतृत्वले विदा दिन आनाकानी गरिरहेको अवस्था थियो । यस्तो समयको सदुपयोेग गर्दै केही आर्थिक उपार्जन गर्न सके सापटीको भारीबाट मुक्त हुन सकिने सोच पल्हायो र काम खोज्दै थिएँ । केही दिन काम खोजिएको, काम नभेटिएको र भेटिएको ठाउँमा ‘नेता’ परिचय खुलेर एकै दिनमा विदा पाइएको घटना त यहाँ लेखिसाध्य छैन । आफैले पढेको विद्यालयमा अध्यापन गर्न सहृदयी गुरूहरूद्वारा गरिएको प्रस्ताव देशभित्रै फर्केर पञ्चायत ढाल्ने संघर्षमा होमिने इच्छाका कारण स्वीकार गरिएन । एक—दुई महिना मात्र काम गरेर सरसापटी तिर्ने बाहेकको आर्थिक उपार्जनको सोचाइ लिइएन । र, जनकपुरतिरका एक जना वेदप्रसाद (वेदप्रकाश ?)को प्रस्तावमा हरिद्वारबाट ८/१० किमी दूरीमा रहेको नजीबावादको रामनगर अनाथ आश्रममा काममा लागेँ । मसँगै अरु दुई जना जयनारायण जोशीहरू पनि त्यहीँ जागिर लागिएको थियो । म भान्सामा, एकजना जयनारायण जोशी रात्रिकालीन चौकीदारी र अर्का जयनारायण जोशी गौशाला(गोठ)मा गरी काम लागेका थियौँ । अनकन्टार ठाउँमा धेरै दिन काम गर्न त सकिने थिएन र त्यो हामीलाई आवश्यक पनि थिएन ।

जयनारायणजीहरूलाई विद्यालय नखुलुञ्जेल र मलाई पार्टीले निधो नदिउञ्जेल त्यहाँ जागिर गर्नुथियो । बिहान—बेलुका त्यहाँ काम गरे पनि धेरैजसो दिउँसो भने हामी हरिद्वार पुगेर सांगठानिक काममा संलग्न हुने गरेका थियौँ । अरुलाई भन्दा त रिजल्ट पर्खेको मात्र भनिए पनि नेतृत्वको निर्देशन पर्खाइसँगै नसोचेको जस्तो जागिरको अनुभव गरिँदै थियो । भारत बस्ने इच्छा मरिसकेको हुनाले राम्रो जागिरको प्रस्तावले मन लोभ्याएन । तर, अहिले पछिल्लो तीजमा गाइएको गीत— ‘सोचेझैँ जिन्दगी रैनछ….!’ भनेजस्तो उतिबेलै भयो । 

अभानेस्ववियुका संस्थापक नेता, हाम्रा अग्रज नारायण ढकालले एकान्तमा बोलाएर गम्भीर मुद्रामा भन्नुभयो,  ‘सुभाषजीले तपाइँलाई जतिसक्दो चाँडो वाराणसी (बनारस) पुग्न भन्नुभएको छ ।’ त्यतिबेला कमरेड सीपी मैनाली खुला गतिविधिमा सुभाष केसीको नामले चिनिनुहुन्थ्यो । पार्टीको टेकनाम दीपक थियो । नारायण ढकालजीले नै कुन्नि कोकोसँग सापटी लिएर बनारस जाने रेल टिकट लिइदिनुभयो र केही पैसा बाटो खर्चका रूपमा दिनुभयो । म त्यसरी दोस्रो पटक बनारस गएको थिएँ । त्यसअघि कमरेड शंकर पोख्रेल अभानेस्ववियुको अध्यक्ष रहेको बेला संभवतः विस्तारित बैठक भनेर बोलाइएको थियो, प्रशिक्षणमा सहभागी हुन त्यहाँ लगिएको थिएँ । त्यतिबेला बनारसको अनुभव खासै गरेको थिइनँ । 

१९८९ को अन्तिम साता (अहिले ठ्याक्कै दिन सम्झन सकिनँ) म एक्लै बनारस पुगेँ । पहिले गइसकेको भएर होला, अलि सजिलो गरी के.३०/४१, घाँसीटोलामा । रहेको अखिल भारत प्रवासी नेपाली संघ(अभाप्रनेसंघ)को केन्द्रीय कार्यालय, अघोषित रूपमा नेकपा  (माले)को सम्पर्क कार्यालय, बिहानै पुगेको थिएँ । त्यहाँ कमरेड भानुप्रकाश श्रेष्ठ, दिनेश पन्थी, वहाँका भाइहरू र अन्य केही साथीहरू हुनुहुन्थ्यो । त्यहीँदेखि बनारसमा नै रहेर ‘सीमानापारि’ पत्रिकाको सम्पादनसँगै उत्तर प्रदेशमा राजनीतिक—सांठानिक काम र अभानेस्ववियुको केन्द्रमा खास भूमिकाको लागि पूर्णकालीन जीवन सुरु भएको हो । मेरो बनारस बसाइ र पूर्णकालीन राजनीतिक जीवन यसरी सुरु भएको हो । 

बनारस बसाइका अनुभव रमाइला छन् । अरु धेरै कुरा यहाँ नपोखौँ ! केही विषय भने नभनी नसकिने छन् । सन् १९९० (२०४६) को पञ्चायती व्यवस्था विरोधी निर्णायक आन्दोलनमा मूलतः त्यहीँ रहेर तोकिएको भूमिका निर्वाह गर्दाका अनेकौँ अनुभव छन् । त्यतिबेला बनारसमा नेपालीहरूको चहल—पहल निकै बाक्लो थियो ।

ब्रह्माघाट, मंगलागौरी, दशपुत्र गल्ली, ललिताघाट, घाँसीटोला, दूधविनायक आदि क्षेत्रका सबै गल्लीमा नेपालीहरूको बाक्लो उपस्थिति देख्दा नेपालकै कुनै भागमा भएजस्तो भान हुन्थ्यो । बाहिरी सहरमा पनि नेपालीहरूको बाक्लै उपस्थिति थियो । कतिपय स्थानीयवासीहरू बनारसका यी घाट क्षेत्रलाई ‘मिनी नेपाल’ भन्न भ्याउँथे । कतिपय चिया—खाजा पसलेहरू सोध्ने गर्दथे, ‘पुष्पालाल को जानते हो ?, पुष्पलालजी यहीँ चाय पीते थे ।’ अनि कोही भन्दथे, ‘विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको पहचानते हो ? कोइरालाजी इधर ही रहते थे ।’ यदि ‘नाइँ’मा टाउको हल्लाइयो भने कतिपयले त भनिहाल्थे, ‘अरे, कैसे नेपाली हो ? न पुष्पलालको जानते हो, न वीपी कोइरालाको पहचानते हो ! तुम्हारे नेपाल के बहूत बडे नेता थे ये दोनों ।’ पुस्तक पसलका साहुहरू पनि वहाँहरूका बारेमा चासो राख्थे । धेरै स्थानीयवासीहरूको बुझाइ हुन्थ्यो, यहाँ पढ्ने नेपाली विद्यार्थीहरू काँग्रेस, कम्युनिष्ट जे भए पनि पञ्चायत विरोधी हुन् र यहाँ रहेर त्यो आन्दोलनमा बल थप्ने काम गर्दछन् । हुन त राजनीतिमा चासो नराख्ने काशीवास गरिरहेका नेपालीहरूको संख्या पनि उल्लेख्य नै रहेको देखिन्थ्यो । 

पुष्पलाल, वीपी, मनमोहन, मदन भण्डारी, मोदनाथ प्रश्रित, ढुण्डीराज शास्त्रीको समयको कुरा त सुनेर जानियो, तर मोहनविक्रम सिंह पनि त्यहीँ रहेको भनिए पनि मेरो वहाँसँग त्यहाँ देखभेट भएन । बलराम उपाध्याय, मोहन चापागाईँहरूसँग त्यहीँ देखभेट र सामान्य कुराकानी हुन्थ्यो । हुन पनि कम्युनिष्ट नेता बलराम उपाध्याय ब्रह्माघाटको गल्लीमा चिया पिउँदै गफ गर्दै भेटिनुहुन्थ्यो । मोहन चापागाईँ त विद्यार्थीहरूका बीचमा नै भेटिनुहुन्थ्यो । सीपी मैनाली (सुभाष केसी)सँग त हामी सँगै भइहालियो, हामी वहाँकै खटन—पटनमा काम गर्दथ्यौँ । मोहनविक्रम सिंहको बस्ने कोठा हामी बस्ने घरकै माथिल्लो तलामा छ भनेको सुन्थेँ, तर वहासँग त्यस्तो भेटघाट र कुराकानी भएन । यसमा गोपनीयता, अनुशासन र मतभिन्नता सबै कारण एकसाथ थिए । 

जीवन यात्रा नै हो । अझ, त्यतिबेला पूर्णकालीन राजनीतिक जीवन । नेपालीहरूको, नेपाली नेताहरूको, साहित्यकारहरूको चर्चैचर्चाको सहर छोड्ने दिन आयो । सन् १९९१ फेब्रुअरी—मार्चमा अभाप्रनेसंघको तेस्रो अखिल भारत सम्मेलन कानपुरमा सम्मपन्न भयो । त्यहाँ संघको महासचिवमा प्रस्तावित भएँ, हलले स्वीकार गरेन र सचिवालय सदस्य छानिएँ । यो घटना र संगठनको आवश्यकताले म बनारसको कार्यालयमा सीमित हुन नहुने ठहर भयो । मेरो कार्यक्षेत्र हाम्रो संगठनको विकास नभएको, प्रवासी नेपालीहरूको संख्या उल्लेख्य रहेको महाराष्ट्र—गुजरात र गोवा राज्य तोकियो । १९९१ को जुलाई महिनासम्म त्यहीँ           (बनारस) रहेर गरिरहेको कामको जिम्मेवारी हस्तान्तरण, फरफारक गर्दै अभाप्रनेसंघ सचिवालय सदस्यको हैसियतले काम गरेको थिएँ । यसै बीचमा नेपालमा २ कम्युनिष्ट पार्टीहरू नेकपा(माले) र नेकपा(माक्र्सवादी)बीच एकीकरण भई नेकपा(ए मा र ले) बनिसकेको थियो । पछि एमाले बनेको हो । जनसंगठनहरूको एकीकरण प्रक्रियामा थियो । भारतमा रहेका यी दुवै पार्टी निकटका संगठन प्रवासी संगठनहरू— नेकपा (माले) निकट अभाप्रनेसंघ र नेकपा(माक्र्सवादी) निकट अखिल भारत प्रवासी नेपाली जनकल्याणकारी संघ  (अभाप्रनेजकसंघ) — बीच एकीकरण गर्नुपर्ने थियो । मेरो भूगोल कार्यक्षेत्र महाराष्ट्र—गुजरात र गोवा रहेको भए पनि दुई संगठनबीच एकता गर्ने ‘एकता समन्वय समिति’को सचिवालयमा पनि जिम्मेवारी थियो । यसै वर्ष १९९१ अक्टोबरमा भारतको राजधानी दिल्लीमा सम्पन्न एकता सम्मेलनले यी दुवै संघहरूलाई एकीकृत गरी ‘प्रवासी नेपाली संघ (भारत)’ नामान्तरण ग¥यो र म यस एकीकृत संघको महासचिव छानिएँ । यस कार्यक्रमका प्रत्यक्ष साक्षी कमरेडहरू जीवराज ‘आश्रित’, बलराम उपाध्याय, त्यस सम्मेलनबाट छानिनुभएका उपाध्यक्ष पिताम्बर शर्मा, सचिवालय सदस्य तिल कार्की, केन्द्रीय सदस्य लिला थापा, केन्द्रीय परिषद् सदस्यद्वय गिरीराज भण्डारी र वसन्तराज अधिकारी अहिले हामीबीच हुनुहुन्न । 

‘सीमिानापारि’को सम्पादनको औपचारिक जिम्मेवारीलाई प्रवासी नेपाली संघ (भारत) को केन्द्रीय महासचिव पदले विस्थापन गरेपछि मेरो बनारस बसाइको पनि औपचारिक अन्त्य भएको थियो । कार्यक्रमहरूमा सहभागी भए पनि यसपछि मेरो बनारससँगको सम्बन्ध पातलिएको थियो । त्यहाँ नरहे पनि बनारसमा नेपालीहरूको भरिभराउ, नेपाली विद्यालय, नेपाली धर्मशाला, नेपालको राजनीतिक इतिहाससँगको यसको सम्बन्ध, श्रमजीवी प्रवासी नेपालीहरू र नेपाली विद्यार्थीहरूको महत्वपूर्ण शैक्षिक स्थल हुनुको साथै, नेपाल र नेपाली चिनेको काशीको माटो हाम्रो लागि यति छिटै यस्तो सुनसान र बिरानो होला भन्ने कल्पना भने मैले गर्नै सकेको रहेनछु । मानिसै मानिसले भरिएको बनारसका ती गल्लीहरू हाम्रो लागि सुनसान भइसकेको रहेछ ।

यस पटक म दक्षिण भारत, बेंगलोर सहरबाट रेलमा बसेर ५४ घण्टा लामो रेलयात्रा गरेर बनारस पुगेको थिएँ । पुग्ने दिनको लागि छोरा विराजले बेंगलोरबाट नै आरक्षित गरिदिएको रेल स्टेसन नजिकै होटलमा बास बसेँ । भोलिपल्ट बिहानको खाजा होटलमै खाएर विश्वेश्वरगञ्जसम्मको रेक्सा यात्रापछि कालभैरव मन्दिरहुँदै कचौडी गल्ली पुगेँ । कचौडी गल्लीबाट दूधविनायक छिर्दै गर्दा ‘भारतेन्दु भवन’ देखेपछि मेरा गोडा टक्क अडिए । पुरानो त्यो भवन हेरिरहन मनलाग्यो, हेरिरहेँ । मैले विद्यालय स्तरमा पढेको ‘भारतेन्दु’(भारतका चन्द्रमा) उपाधिद्वारा सुशोभित, भारतका प्रसिद्ध लेखक हरिश्चन्द्र (भारतेन्दु हरिश्चन्द्र) को निवास हो यो भवन । पछि बनारस बस्दा यो घर र हरिश्चन्द्रका बारेमा सुनिरहेको थिएँ । नेपाली साहित्यको इतिहास पढ्दा यो नामसँग नेपाली भाषा साहित्यका युवाकवि मोतीराम भट्टको प्रसंग जोडिएको जान्दा यसबारे थप सम्मान स्थापित भएकै थियो । सुप्रसिद्ध भारतीय लेखक भारतेन्दु हरिश्चन्द्रसँग मोतीराम भट्टको भेटघाट र प्रभावले नेपाली साहित्यमा कोसेढुंगाको काम गरेको विषय स्मरणीय छ । भारतेन्दुसँग भेट नभएको भए फारसी स्कूलमा भर्ना गरिएका बालक मोतीराम भट्ट नेपाली साहित्यका यति चहकिला नक्षत्र बन्दैन पो थिए कि ? 

जानकारहरूका अनुसार बनारसबाट भारतेन्दु हरिश्चन्द्रले प्रकाशन गर्ने ‘भारत जीवन’ पत्रिकामा एउटा भाग नेपाली(गोरखा) भाषाको लागि छुट्याइएको थियो । यस भागको नाम ‘गोरखा भारत जीवन’ मोतीराम भट्टले सम्पादन गरेको र पछि त्यही मासिक पत्रिका नेपाली भाषामा प्रकाशित पहिलो नेपाली पत्रिका मानिएको छ । एक्लै गर्न संभव नहुने जस्तो काम मोतीराम भट्टले भारतीय लेखकसँगको सहयोगमा गर्नु आफैमा महत्वपूर्ण शिक्षा हो । यी सबै मेरो मस्तिष्कमा फनफनी घुमे ।    

यस्तै गन्टेउना गर्दैगर्दै, केही मानिसहरूसँग सोद्धै जगदम्बा नेपाली धर्मशाला पुगेँ । जगदम्बा धर्मशालामा झोला बिसाएँ । त्यहाँका व्यवस्थापकसँग बनारसको पहिले र अहिलेको अन्तरको बारेमा केही जिज्ञासा अघि सारेँ । उनले पनि मैले माथि उल्लेख गरेकै कुरा गरे । पहिले यी गल्लीहरूमा नेपालीहरूको रमझम र अहिले नेपाली समुदायको सुनसान अवस्था बताए । अनि, मेरो मानसपटलमा पुनः भारतेन्दु भवन, युवाकवि मोतीराम भट्ट र जुन कारणले करिब ३० वर्षअघि म बनारस बसेको थिएँ, ती सबै फन्फनी घुमे । म संगठित रहेको अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन (अभानेस्ववियु) र मेरो पछिल्लो जिम्मेवारी रहेको संगठनको विषय पनि ताजा बनेर उपस्थित भए । यसप्रति प्रवासी नेपाली आन्दोलनको सम्बन्ध तथा दायित्वबारे मेरा मनमा धेरै कुरा खेले । म फेरि अतीततिर फर्किएँ ।  

यो धर्मशाला महारानी जगदम्बा लेफ्टीनेन्ट जर्नेल मदन शमसेर जबराकी पत्नी जगदम्बा देवी (जसलाई रानी जगदम्बा भनेर चिनिन्छ) ले वि.स.२०१७ (सन् १९६०) मा दिएको जग्गामा बनाइएको हो । त्यहाँ नजिकै रहेको कवि जगन्नाथ गुरागाईँको नेतृत्वमा स्थापित विद्या—धर्म प्रचारिणी सभाको नाममा नेपाली धर्मशाला रहेको छ । यी दुवैको संरक्षक संस्थाको रूपमा विद्या—धर्म प्रचारिणी सभा र नाम जगदम्बा नेपाली धर्मशाला नै रहेको छ । त्यस्तै, पृथ्वीनारायण शाहका नाती रणबहादुर शाहद्वारा आफ्नी कान्छी पत्नी ललिता त्रिपुरा सुन्दरीको नाममा निर्माण गराइएको ललिताघाट र सम्राटेश्वर महादेवको मन्दिर रहेको छ । यसलाई नेपाली मन्दिर, पशुपति मन्दिर, पशुपतिनाथ मन्दिर भनेर पनि चिन्ने गर्दछन् । यो मन्दिर मौलिक नेपाली वास्तुकलामा आधारित रहेको छ । यो घाट गंगा नदीसँगै जोडिएको अत्यन्त महत्वपूर्ण ठाउँमा रहेको छ । यसलाई भारतीयहरूबाट हस्तक्षेप, अतिक्रमणको प्रयास पनि हुने गरेको छ । 

बनारसका नेपालीहरूले नेपाल र नेपालीको पहिचान तथा सेवा—सहयोगका लागि नेपाली छात्रावास सञ्चालन गरेका छन् । स्नातकोत्तरसम्म पढाइ हुने   नेपाली संस्कृत महाविद्यालय सञ्चालन गरिरहेका छन् । यी संस्थाहरू सञ्चालन त्यति सहज छैन । आर्थिक अभाव, नेपाली जनशक्तिको कमी, प्रत्यक्ष वा परोक्ष हस्तक्षेपक प्रयास भइरहने गरेका छन् । ललिताघाटको मन्दिरको धर्मशालामा नेपाली विद्यार्थीहरूले छात्रावासको सुविधा र वृद्ध—वृद्धाहरू ‘काशीवास’को लाभ लिइरहेका छन् । यहाँका यी संस्थाहरूको सांगठानिक संरचनामा ‘नेपाली छात्र संघको प्रतिनिधि’ रहने व्यवस्थाको निरन्तरता कायमै रहेको छ ।  

नेपाली संस्कृत महाविद्यालय, नेपाली छात्रावास र धर्मशालाको एकीकृत रूपमा संरक्षण र व्यवस्थापन गर्नको लागि ‘विद्या धर्म प्रचारिणी सभा’को स्थापना भएको हो । यसरी बनारसमा नेपालीहरूको इतिहास छ । शैक्षिक, राजनीतिक, धार्मिक हिसाबले बनारससँग नेपालको सम्बन्ध रहेको छ । 

नेपालमा आएको राजनीतिक परिवर्तनका कारण बनारस अब नेपाली राजनीतिको आश्रय बन्न परेन । नेपालमा संस्कृत विश्वविद्यालय स्थापना भइसकेको हुनाले यसको लागि बनारस नै रोज्न पनि नपरेकै राम्रो हो । तर, इतिहासको विरासत तथा नेपाल र नेपालीका नाममा रहेका सम्पदा र संरचनाको जगेर्ना गर्न भारतमा रहेका प्रवासी नेपालीहरूका संघ—संस्थाले विशेष ध्यान दिन आवश्यक देखिन्छ ।  

म भारत प्रवासमा रहँदा पछिल्लो समय संगठित रहेको संस्था प्रवासी नेपाली संघ, भारत हो । यो सन् १९६६ मा स्थापना भएको प्रवासी नेपाली कल्याणकारी संघ, जो पछि प्रवासी नेपाली जनकल्याणकारी संघ बनेको थियो । यसको संस्थापक नेपाल कम्युनिष्ट पार्टीका नेता एकदेव आले हुन् । यस कारण यो संगठनको सांगठानिक सिद्धान्त, चरित्र र शैली कम्युनिष्ट पार्टी जस्तो हुनु स्वाभाविक हो । यही कारण हो कि नेपाली कम्युनिष्ट आन्दोलनमा देखिने वैचारिक वा समूहगत अन्तर्विरोधको प्रभाव भारत रहेका प्रवासी नेपालीहरूका संगठनमा सोझै देखिन्थ्यो । यिनै कारणहरूले गर्दा यसबीच अखिल भारत स्तरमा अर्को संगठन अखिल भारत नेपाली एकता मञ्च स्थापित भएको थियो । यो तत्कालीन नेकपा(मशाल) निकट थियो । यता झापा आन्दोलनबाट विकसित तथा एकीकृत हुँदै विस्तार भइरहेको नेकपा (माले) के गरोस् ? फलतः र सन् १९८० मा तत्कालीन नेकपा(माले)का नेता झलनाथ खनालको रेखदेख र समन्वय तथा लक्ष्मण रायमाझीको नेतृत्वमा अखिल भारत प्रवासी नेपाली संघ (अभाप्रनेसंघ) बनेको हो । यसमा प्रवासी नेपालीहरूका अन्य धेरै संगठनहरू समेत एकीकृत भएका थिए । यस हिसाबले यो नै अखिल भारत स्तरमा स्थापना भएको सबैभन्दा पुरानो ‘प्रवासी’ नेपाली संगठन हो । यसमा एकीकृत भएका वा नभएका नेपालीहरूका स्थानीय स्वरूपका अन्य अनेकौँ संघ—संस्थाहरू पनि छन् । यस हिसाबले प्रवासी नेपाली संघ, भारत प्रवासी नेपालीहरूको पहिलो अखिल भारतस्तरको वैचारिक संगठन हो । नेपालको राजनीतिक पार्टी निकट रहेका अन्य अखिल भारत स्तरका संगठनहरू पनि छन् ।  

प्रवासी नेपालीहरू किन संगठित हुने ? यहाँबाट सोच्दा मैले अहिले पनि आवश्यक ठानेका मूलभूत उद्देश्य तीन वटा छन् । पहिलो, प्रवासी नेपालीहरूका बीचमा नेपाली भाषा—संस्कृतिलाई जीवित राख्नु—बिर्सन नदिनु । दोस्रो, संगठित शक्ति निर्माण गरी भारतीय जनतासँग सुसम्बन्ध विस्तार गर्दै प्रवासी नेपालीहरूमाथि भइपरी आउने तात्कालिक समस्या समाधानमा सहयोग पु¥याउने । तेस्रो, नेपालको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा सहयोग र सहभागिता सुनिश्चित गर्ने ।

माथि उल्लेख गरिएको उद्देश्यमध्ये दुई विषय अहिले पनि उस्तै हो । त्यसको दिशा फेरिएको छैन । जहाँसम्म तेस्रो विषय छ, उतिबेला त प्रवासी नेपालीहरू र तिनका संगठन नेपालको राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा थिए । सचेत तथा संगठित नागरिक भएको हुनाले र संगठनको उद्देश्य नै त्यस्तो रहेको हुनाले राजनीतिमा होमिनु स्वाभाविकै हो । आन्दोलनले घोषणा गरेको व्यवस्था परिवर्तनको लक्ष पूरा भएको छ । अब अवस्था परिवर्तनमा लाग्न भने छोड्न हुने अवस्था छैन । तर, अहिले ती संगठनहरूले पहिलो र दोस्रोे उद्देश्यमा थप काम गर्नुपर्ने होइन र ? 

अहिले त थप अभिभारा समेत थपिएको पो छ त । उतिबेला सुगौली सन्धिले भूभागसहित भारतीय बनेका भारतीय नागरिक एकथरि नेपाली थिए । अध्ययन तथा जीविकोपार्जन गर्न लागि गएका अर्काथरि नेपाली प्रवासी नेपाली थिए । ती त अहिले पनि छन् । तर, लामो समय भारतमा स्थायी सेवा गरेका र बुढेस कालमा नेपाल फर्कने अनुकूलता नभएर त्यतै वास व्यवस्था गरेका तथा तिनका सन्तान नेपालीहरूलाई कसरी सम्बोधन गर्ने ? तिनीहरूका सन्तान त्यहीँ पढीलेखी सोझै जागिर—जीविकामा संलग्न भए । उनीहरूका लागि नेपाली भाषा—संस्कृतिको कम महत्वको छ र ? यी योग्य सन्तान, जो सम्मानजनक जागिर—जीविकामा संलग्न छन्, नेपालको राजनीतिक क्रियाकलापमा प्रत्यक्ष सहभागी भइरहने उनीहरूको इच्छा र औचित्य दुवै छैन, त्यस्ताका लागि के योजना होला ? मातृभूमि नेपालको लागि उनीहरूले त्यहीँ रहेर गर्न सक्ने योगदान के होला ? उनीहरूको मर्यादित र समृद्ध जीवनलाई नेपालको हितमा कसरी उपयोगमा ल्याउन सकिएला ? भारतमा क्रियाशील प्रवासी नेपालीका संगठन र तिनलाई दृष्टिकोण दिइरहेका पार्टीले केही सोचेका छन् कि ? शिक्षा, रोजगारी, सहलगानी आदि क्षेत्रमा केही गर्न सक्छन् कि ? कुनै कालखण्डमा नेपाली लगानीमा बनेका धार्मिक—सांस्कृतिक, सामाजिक सम्पदा—संरचनाहरूको खोजी तथा संरक्षणका लागि केही गर्नुपर्ने हो कि ? यस्तो कर्ममा लागेर संघर्ष गरिरहेकाहरूको खोजी तथा सम्मानसम्म गर्नपर्ने हो कि ? यस आन्दोलनमा लागेर, नेतृत्व गरेर नेपाल फर्केका आफ्ना अग्रजहरूको अवस्था के कसो छ होला ? उनीहरूको विगतको योगदान र वर्तमानको अवस्था थाहा पाउनुपर्ने हो कि ? 

कुनै पनि आन्दोलनको इतिहास त्यागसँग सम्बन्धित हो । वर्तमानको काम क्षमतासँग सम्बन्धित हुन्छ । भारतको प्रवासी नेपाली आन्दोलनले त्यागको सम्मान र क्षमता अनुसारको जिम्मेवारीको दाबी गर्न यस सम्बन्धी तथ्यांक तयार राखेको छ त ? छैन भने यसलाई कार्यसूची बनाएर योजनासाथ अघि बढ्न आवश्यक छ । जुनसुकै हैसियतले किन नहोस्, लामो समय र पुस्तान्तर समेत भएको देशमा नेपाली राष्ट्रिय तथा जातीय पहिचान, पहुँच र प्रभाव विस्तारमा भारतमा प्रवासी नेपालीहरूका संगठन र उनका दृष्टिदाताहरूले सोच्नुपर्ने होइन र ? आन्दोलन, आन्दोलन हो । यसलाई नयाँ दिशा दिनुपर्छ, ‘कटी पतंग’ बनाएर छोड्नुहुँदैन ।  अब अर्काको देशमा अर्कै देशको राजनीतिक व्यवस्था परिवर्तनका झण्डा र नाराको औचित्य छैन, तर आन्दोलनको औचित्य मरेको छैन । लोकतन्त्रका लागि लडेको प्रवासी नेपाली आन्दोलन अब समृद्धि र सम्मानको दिशामा अघि बढ्नपर्ने देखिन्छ ।  

                     (पूर्वमहासचिव, प्रवासी नेपाली संघ, भारत) 

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ३ : ५४ बजे